ट्रकले ठक्क दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु
विराटनगर : मोरङको केराबारीमा एकजना वृद्धा महिलाको मृत्यु भएको छ । खसी धपाउँदै सडक काट्ने क्रममा टिपरले ठक्कर दिँदा शुक्रबार बिहान महिलाको मृत्यु भएको हो। दुर्घटनामा केराबारी गाउँपालिका–५ निवासी ७० वर्षीया विष्णुमाया मगरको ज्यान गएको हो ।
प्रहरीका अनुसार बालुवा बोकेर केराबारीबाट धरानतर्फ जाँदै गरेको को १ ख ६७९० नम्बरको टिपरले बिहान करिब ८:५० बजेतिर केराबारी–५ स्थित शान्ति चोकमा मगरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी मगरलाई तत्काल उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो । तर,अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
उनका अनुसार घरमा पालेको खसी धपाउँदै सडक पार गर्ने क्रममा मगर टिपरको ठक्करमा परेको पाइएको छ । घटनापछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो । दुर्घटनामा संलग्न टिपर र चालकसंखुवासभाको चैनपुर नगरपालिका–११ स्थायी घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१३ बस्दै आएका २३ वर्षीय विक्रम माझीलाई इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई देवेन्द्र सुवेदी नेतृत्वको टोलीले पक्राउ गरेको छ ।
प्रहरीले चालकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलबारीमा पठाएको छ । घटनाको इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !