कोशी सरकार संकटमा, कांग्रेस र एमालेको नजर नेकपातिर

कोशी सरकार संकटमा, कांग्रेस र एमालेको नजर नेकपातिर
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेसले नेकपा (एमाले)सँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरेसँगै कोशी प्रदेशको राजनीतिक समीकरण एकाएक बदलिने भएको छ । 

कांग्रेसको निर्णयले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार संकटमा परेको छ । कार्की एमालेका केन्द्रीय सचिव हुन् । कोशीमा अब सरकार जोगाउने वा नयाँ सरकार गठन गर्ने दुवै समीकरणमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निर्णायक शक्तिका रूपमा उभिएको छ । 

२०८१ असार १७ गते नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संघ र प्रदेशमा आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार कोशी प्रदेशमा २०८१ भदौ २८ गतेदेखि एमालेको नेतृत्वको सरकारमा कांग्रेस सहभागी भयो । 

तर, केन्द्रको राजनीतिक घटनाक्रमपछि कांग्रेसले बुधबार एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेको छ । त्यसको प्रभाव प्रदेश सरकारहरूमा पनि परेको हो । स्रोतका अनुसार कोशीमा कांग्रेसका मन्त्रीहरूले पनि सरकारबाट बाहिरिने तयारी गरेका छन् । उनीहरूले सम्भवतः बिहीबार राजीनामा दिने स्रोतको भनाइ छ ।  

यद्यपि, कांग्रेस कोशी प्रदेश संसदीय दलले केन्द्रको निर्णयका बारेमा अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको जनाएको छ । संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले मौखिक जानकारी प्राप्त भएसँगै बिहीबार पार्टीको कार्यदल बैठक बोलाइएको बताए । 

उनका अनुसार कार्यदलमा प्रदेश पदाधिकारी, संसदीय दलका पदाधिकारी तथा वरिष्ठ नेताहरू सहभागी छन् । बैठकले केन्द्रको निर्णयका बारेमा औपचारिक धारणा तय गर्ने र त्यसअनुसार आगामी रणनीति बनाउनेछ । एमाले पनि कांग्रेसको औपचारिक निर्णयको प्रतीक्षामा रहेको छ । एमाले प्रमुख सचेतक रमेशकुमार बस्नेतले कांग्रेसले आधिकारिक रूपमा समर्थन फिर्ता लिएपछि मात्रै पार्टीले नयाँ राजनीतिक रणनीतिका बारेमा निर्णय गर्ने बताए ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । हाल एमालेका ४० र कांग्रेसका २९ सांसद छन् । दुवै दलको सहकार्य समाप्त हुने अवस्थामा अब १७ सांसद रहेको नेकपा प्रदेशको सत्ता समीकरणको केन्द्रमा पुगेको छ ।

एमालेका लागि सरकारलाई निरन्तरता दिन नेकपाको साथ अनिवार्यजस्तै देखिएको छ । कांग्रेसले नयाँ सरकार गठन गर्न पनि नेकपाको समर्थन अपरिहार्य छ । कांग्रेसले बहुमत जुटाउन नेकपासँगै साना दलहरूको सहयोग आवश्यक पर्नेछ भने एमालेले नेकपासँग सहकार्य गरे सहज रूपमा बहुमत पुग्ने अवस्था रहन्छ । 

यही कारण अहिले कांग्रेस र एमाले दुवैले नेकपाका नेताहरूसँग संवादलाई तीव्र बनाएका छन् । दुवै दलको नजर नेकपातिर सोझिएको हो । कोशी प्रदेशको आगामी सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषय अब धेरै हदसम्म नेकपाको निर्णयमा निर्भर देखिएको छ । नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो दलले अहिले हतारमा कुनै निर्णय नगर्ने बताए । उनका अनुसार राजनीतिक अवस्था स्पष्ट भएपछि मात्रै पार्टीले औपचारिक धारणा बनाउनेछ ।

उनले वैचारिक आधारमा एमालेसँग सहकार्य सहज हुन सक्ने संकेत गर्दै कांग्रेसले समर्थन फिर्ता लिएपछि एमालेले कस्तो प्रस्ताव ल्याउँछ भन्ने विषय महत्वपूर्ण हुने बताए ।  उनका अनुसार विभिन्न तहमा संवाद भइरहे पनि कुनै औपचारिक सहमति भने भइसकेको छैन । कांग्रेस–एमाले गठबन्धन टुटेसँगै कोशी प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ । अब नेकपाले लिने निर्णयले प्रदेश सरकारको भविष्य मात्र नभएर आगामी राजनीतिक समीकरण पनि निर्धारण गर्ने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.