कालुपाण्डे संग्रहालयमा नेपाली सेनाद्वारा सत्तल निर्माण
गोरखा : जिल्लाको कालुपाण्डे संग्रहालयमा नेपाली सेनाले सत्तल निर्माण गरेको छ। ऐतिहासिक पुरुष कालु पाण्डेको जन्मस्थान पालुङ्टार नगरपालिका-१ खोप्लाङमा निर्माणाधीन संग्रहालयमा सेनाले निर्माण गरेको सत्तल एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ।
गण्डकी प्रदेशस्थित पश्चिम पृतनाका पृतनापति उपरथी भोलानाथ थापाले सत्तलको उद्घाटन गरेका हुन्। सो कार्यक्रममा बोल्दै सो वडाका वडाअध्यक्षले नेपाली सेनाद्वारा निर्मित सत्तलले काजी कालुपाण्डे संग्रहालयको शोभा बढाउनुका साथै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकले लाभ लिन सक्ने औंल्याए। यहाँ आउने अवलोकनकर्ता, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य पर्यटक यस सत्तलबाट लाभान्वित हुने विश्वास उनले व्यक्त गरे।
नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत यस्ता कार्यक्रमले मुलुकको ऐतिहासिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासमा टेवा पुर्याउने विश्वास लिइएको उनले बताए। नेपाली सेनाले गोरखा दरबार, लिगलिगकोट दरबार, श्रीनाथकोट लगायतका ऐतिहासिक सम्पदालाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !