ट्याक्टरबाट खसेर युवकको मृत्यु, बस दुर्घटनामा १८ जना घाइते
विराटनगर : मोरङको छुट्टाछुट्टै स्थानमा मंगलबार एकबिहानै सवारी दुर्घटना हुँदा एक जना युवको मृत्यु भएको छ । बालबालिकासहित १८ जना घाइते भएका छन् ।
उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा विहेको जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटनामा पर्दा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । बिहान करिब ७ः१० बजेतिर उर्लाबारी नगरपालिका–५ को तरुण चोकमा ट्याक्टर दुर्घटना भएको हो । उर्लाबारी–मधुमल्ला सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खस्दा उर्लाबारी–६ का २० वर्षीय देवेन्द्र मगरको ज्यान गएको हो ।
गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोरङ प्रहरीकाका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुर्घटनापछि ट्याक्टर र चालक झापाको दमक नगरपालिका–४ का १९ वर्षीय बुद्ध तामाङलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै, बिहान करिब ५ः३० बजेतिर जहदा गाउँपालिका–२ को मिलन चोकमा बस दुर्घटनामा परेको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १–०४–००१ ख ००८७ नम्बरको यात्रुवाहक बस अचानक अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा जहदा–२ कै १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् ।
घाइते हुनेहरूमा १८ वर्षीया राधा ऋषिदेव, १५ वर्षीया रन्जिता ऋषिदेव, १४ वर्षीया पुष्पा ऋषिदेव, २२ वर्षीया सरस्वती ऋषिदेव, ५ वर्षीय रितेश ऋषिदेव, २० वर्षीय विशाल ऋषिदेव, १९ वर्षीया काजल ऋषिदेव, ७ वर्षीय विशाल ऋषिदेव, १९ वर्षीय कृष्ण ऋषिदेव, १६ वर्षीय विशाल ऋषिदेव, १७ वर्षीया राधिका ऋषिदेव, २० वर्षीया बुधनी ऋषिदेव, १५ वर्षीया राधा ऋषिदेव, १९ वर्षीया रुपा ऋषिदेव, ९ वर्षीया रिया ऋषिदेव, १४ वर्षीय ओम ऋषिदेव, ११ वर्षीय सुमन ऋषिदेव र १५ वर्षीय राज ऋषिदेव रहेको प्रहरीले जनाएको छ ।
उनीहरू सबैको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । दुर्घटनापछि बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको डीएसप्ी मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस !