रौतहटमा १० प्रतिशत धान रोपाइँ
रौतहट : जिल्लामा करिब १० प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । समयमै पानी नपर्दा, मलखादको व्यवस्थापनमा राज्य उदासिन हुँदा अधिकांश धान खेत अझै बाँझै रहेका छन् भने किसान चिन्तित छन्।
कृषि ज्ञान केन्द्र रौतहटका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा करिब ३१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यस वर्ष पनि सोही हाराहारी क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहे पनि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित बनेको छ।
वर्षाको भरमा खेती गर्ने चलन भएकाले र सिँचाइ नहरमा पनि अहिलेसम्म पानी नछोडिएकाले १० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको सूचना अधिकारी मण्डलले बताए।
मनसुन राम्रो हुने अनुमान गरिए पनि रौतहटमा धान खेतीका लागि आवश्यक मात्रामा वर्षा नभएकाले किसान चिन्तामा छन्। केही दिनयता जिल्लाका विभिन्न स्थानमा वर्षा हुन थाले पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामका कारण खेतबारी पूर्ण रूपमा सुकिसकेका थिए। अहिले परेको पानीले खेतमा केही चिस्यान बढे पनि व्यापक रूपमा रोपाइँ गर्न पुग्ने अवस्था नरहेको चन्द्रपुर-८ का किसान राजकुमार गुरागाईंले बताए।
गौर नगरपालिका–६ टिकुलियाका किसान हरदेव साहले समयमै पानी नपर्दा धान खेती अन्योलमा परेको बताए। निजी रूपमा पम्पसेट प्रयोग गरेर सिँचाइ गर्न डिजेल, मजदुरी र अन्य खर्च अत्याधिक लाग्ने भएकाले अधिकांश किसान प्राकृतिक वर्षामै निर्भर हुनु पर्ने अवस्था छ।
सिँचाइ नहरमा समेत हालसम्म पानी नछोडिएकाले वैकल्पिक व्यवस्था अभावमा किसान थप समस्यामा परेका छन्।
प्रतिक्रिया दिनुहोस !