भक्तपुरका चारवटै नगरपालिकाको बजेट सार्वजनिक

भक्तपुरका चारवटै नगरपालिकाको बजेट सार्वजनिक
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन्। बुधबार आ-आफ्ना नगर सभामा उप प्रमुखहरूले बजेट प्रस्तुत गरेका हुन्।

भक्तपुर नगरपालिकामा उपप्रमुख रजनी जोशीले आव २०८३/८४ का लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन्। विनियोजित बजेटमा चालुतर्फ १ अर्ब ५५ करोड ८९ लाख अर्थात् ६१.१३ प्रतिशत र पुँजीगततर्फ ९३ करोड ३१ लाख अर्थात् ३६.६० प्रतिशत तथा वित्तीयतर्फ ५ करोड ८० लाख (२.२७ प्रतिशत) विनियोजन गरिएको छ। 

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले आगामी आर्थिक वर्षका लागि २ अर्ब २६ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छन्। प्रस्तुत बजेटको चालु तर्फ ४२ दशमलव ८५ प्रतिशत अर्थात् ९६ करोड ८५ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ। पुँजीगततर्फ ५७ दशमलव १४ प्रतिशत अर्थात् १ अर्ब २९ करोड १४ लाख १८ हजार रुपैयाँ राखिएको छ।

 
त्यस्तैगरी मध्यपुर थिमि नगरपालिकाको लागि उपप्रमुख विजयकृष्ण श्रेष्ठले ३ अर्ब ७१ करोड ८७ लाख ४१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। बजेटको यो आकार अन्य तीन पालिकाको भन्दा बढी हो। प्रस्तुत बजेटको ६० प्रतिशत पुँजीगत र ४० प्रतिशत चालु खर्च विनियोजन गरिएको छ।

चाँगुनारायण नगरपालिकामा उपप्रमुख रमेश बुढाथोकीले आगामी आवका लागि कूल बजेट २ अर्ब ४ करोड ४५ हजार रुपैयाँको बजेट प्रस्तुत गरे। जिल्लाका अन्य पालिकाको तुलनामा यो बजेट आकारमा सबैभन्दा सानो हो। बजेटमा चालु, पुँजीगत र वित्तीय तर्फ विनियोजन गरिएको रकम बजेटमा उल्लेख गरिएको छैन। विनियोजन विधेयक बन्न नसकेको कारण यसमा अस्पष्टता रहेको बताइएको छ। 

यस्तो छ आन्तरिक आयको अनुमान 
सबै पालिकाले आन्तरिक श्रोत, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र विभिन्न अनुदान, चालु आर्थिक वर्षको बैंक मौज्दातबाट बजेट व्यवस्थापन गरिने बताएका छन्। बजेटमा आन्तरिक स्रोतबाट हुने आयलाई सबै पालिकाले पहिलो महत्व दिएका देखिन्छन्। यस अन्तर्गत राजस्व, सेवा शुल्क र दस्तुरहरू पर्छन्। 

भक्तपुर नगरपालिकाले आन्तरिक स्रोतबाट ६९ करोड २० लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ। सूर्यविनायक नगरपालिकाले ९७ करोड ३८ लाख ७० हजार ९ सय ७५ रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको छ। मध्यपुर थिमि नगरपालिकाले आन्तरिकतर्फ ४९ करोड रुपैयाँ आय हुने अनुमान गरेको छ भने चाँगुनारायण नगरपालिकाले ३४ करोड ६ लाख २० हजार रुपैयाँ आन्तरिक स्रोतबाट आय सुनिश्चित हुने अनुमान गरेको छ।

मध्यपुरको प्रशासनिक खर्च कम 
मध्यपुर थिमि नगरपालिकाले सबैभन्दा कम प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च छुट्याएको छ। मध्यपुर थिमिले यस शीर्षकमा ३१ करोड रुपैयाँ छुट्याएको हो। सूर्यविनायक नगरपालिकाले प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च ४६ करोड प्रक्षेपण गरेको छ। अन्य पालिकाको तुलनामा यो बढी हो। चाँगुनारायण र भक्तपुर नगरपालिकाको बजेटमा प्रशासनिक तथा कार्यालय सञ्चालन खर्च ३५ करोड रुपैयाँ हुने अनुमान गरिएको छ । 

शिक्षा र स्वास्थ्य प्रमुख प्राथमिकता 
सबै नगरपालिकाले शिक्षा र स्वास्थ्यमा बजेटको ठूलो हिस्सा लगाएका छन्। भक्तपुर नगरपालिकाले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्घोषसहित आफूले सञ्चालन गर्दै आएको शैक्षिक संस्थालाई बजेटमा निरन्तरता दिँदै ख्वप मेडिकल कलेजको स्थापनाका लागि पनि बजेट छुट्याएको छ।

साथै, इतिहास, भुगोल,संस्कृति, अर्थशास्त्र, दर्शनशास्त्र र राजनीति शास्त्र पढ्न चाहने नगरवासीलाई उच्च शिक्षामा पूर्ण छात्रवृत्ति दिने बजेटमा उल्लेख छ। ५६ करोड शिक्षामा छुट्याएको भक्तपुर नगरपालिकाले नगर अस्पतालमा आगामी आवबाटै एमआरआइ र आइसीयु सेवा सञ्चालन गर्न २३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

मध्यपुर थिमि नगरपालिकाले बजेटको मुख्य उद्देश्यमा निःशुल्क स्वास्थ्य र गुणस्तरीय शिक्षाको पूर्ण सुनिश्चितता गर्ने संकल्प गरेको छ। यसका लागि ४६ करोड बढी रकम विनियोजन गरिएको छ। सूर्यविनायक नगरपालिकाले बजेटको प्रमुख उद्देश्यमै गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चित गर्दै मावि तहमा दैनिक जीवनमा आवश्यक जीवनोपयोगी सीप सिकाइने उद्देश्य लिएको छ भने आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पुर्‍याइने प्रस्ट पारेको छ। त्यसैगरी चाँगु नारायण नगरपालिकाले रोजगारमूलक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष लिएको छ।

भौतिक पूर्वाधारतर्फ 
भौतिक पूर्वाधारतर्फ भक्तपुर नगरपालिकाले पूर्वाधार निर्माणमा ३५ करोड विनियोजन गरेको छ। यसमा अरनिको सभाहल, हनुमन्ते र कासन खोला सुधार र करिडोर निर्माण त्यसैगरी लिवाली र देकोमिवा इतापाके आवास योजना क्षेत्रका बाँकी काम पूरा गर्ने लगायत रहेका छन्। 

मध्यपुर थिमिले भौतिक पूर्वाधारमा सर्वाधिक १ अर्ब १८ करोड बढी रकम छुट्याएको छ। त्यस्तै यस शीर्षकमा चाँगुनारायणले नगर गौरवको आयोजनाका रूपमा माधव नारायण मार्ग योजनाको लागि मात्र ७ करोड छुट्याएको छ। प्रत्येक वडालाई २ करोडका दरले १८ करोड दिने बजेटमा उल्लेख छ। सूर्यविनायक नगरपालिकाले भने नगर प्रमुख उज्यालो नागर कार्यक्रम, सूर्यविनायक बृहत्तर खानेपानी आयोजना, नदी र कुलोको बहाव व्यवस्थापन लगायत यस अघि थालिएका भौतिक पूर्वाधारका काम पूरा गर्नेगरी बजेट केन्द्रित गरेको उल्लेख गरिएको छ।

चाँगुनारायणले सम्झियो जेनजी आन्दोलन 
बजेट प्रस्तुत गर्ने क्रममा चाँगुनारायणका उपप्रमुख रमेश बुढाथोकीले जेनजी आन्दोलनका शहीदलाई सम्झिएका छन्। मध्यपुर थिमि नगरपालिकाको उपप्रमुख विजय कृष्ण श्रेष्ठले सशस्त्र जनयुद्धको शहीदलाई समेत सम्झिएका छन्।

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको र जनअधिकार प्राप्तिका लागि शहीद भएका सबैलाई सम्झिएकी छन्। त्यस्तै, उपप्रमुख रजनी जोशीले नेमकिपाको सिद्धान्त र यसका अध्यक्ष नारायणमान बिजुक्छेँले देखेको सय वर्षपछिको भक्तपुरलाई पनि मार्गनिर्देशन मानेकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.