अत्यधिक गर्मीले फ्रान्समा ४० बढीको मृत्यु
पेरिस (एजेन्सी) : युरोप यतिबेला इतिहासकै भीषण गर्मी र लुको चपेटामा परेको छ। फ्रान्स, इटाली, बेलायत र स्पेनलगायतका देशहरू अत्यधिक तापक्रमका कारण नराम्ररी प्रभावित भएका छन्।
फ्रान्समा मात्रै पछिल्लो बिहीबारयता गर्मीसँग सम्बन्धित विभिन्न घटना र राहत पाउनका लागि नदी तथा तालहरूमा पौडी खेल्ने क्रममा डुबेर ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
फ्रान्सका श्रममन्त्री जान पियर फराडोले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अब फ्रान्स पनि ‘तातो देश’ बनेको बताएका छन्। फ्रान्सको मौसम विभागले देशका ५८ क्षेत्रमा रेड हिट अलर्ट जारी गरेको छ भने ३१ क्षेत्रमा ‘अरेन्ज अलर्ट’ घोषणा गरेको छ।
त्यहाँको लान्देस क्षेत्रमा तापक्रम ४४.३ डिग्री सेल्सियससम्म पुगेको छ भने अत्यधिक गर्मीकै कारण ६८ हजार घरमा बिजुली आपूर्ति बन्द हुनुका साथै जंगलहरूमा डढेलो लागिरहेको छ। छिमेकी देश इटालीमा पनि राजधानी रोमसहित १६ प्रान्तका मुख्य सहरहरूमा ‘रेड अलर्ट’ जारी गरिएको छ।
प्रतिक्रिया दिनुहोस !