‘क्रियाशील अद्यावधिक नगर्नेलाई कांग्रेसको सदस्य मानिन्न’

‘क्रियाशील अद्यावधिक नगर्नेलाई कांग्रेसको सदस्य मानिन्न’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : कांग्रेसमा क्रियाशील सदस्यता अद्यावधिक अभियान सबैभन्दा बढी चर्चामा छ। १५औं महाधिवेशनको तयारीसँगै पार्टी नेतृत्वले सदस्यताको तथ्यांकलाई व्यवस्थित बनाउने अभियान चलाइरहेका बेला झापामा आयोजित जिल्लास्तरीय भेलामा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले संगठन सुदृढीकरण, सदस्यता शुद्धीकरण र सक्रिय कार्यकर्ताको पहिचानलाई केन्द्रमा राख्दै स्पष्ट सन्देश दिएका छन्।

झापा भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणलाई केवल प्रशासनिक प्रक्रिया नभई पार्टी पुनर्संरचनाको अभियानका रूपमा व्याख्या गरे। उनले भने, ‘जसले सदस्यताको नवीकरण गर्दैन, उसलाई नेपाली कांग्रेसको क्रियाशील सदस्य भन्न मिल्दैन।’ पार्टीलाई वास्तविक कार्यकर्ता र सक्रिय सदस्यका आधारमा पुनर्गठन गर्न सदस्यता अद्यावधिक अनिवार्य बनाइएको उनको तर्क थियो।

थापाले अद्यावधिक नगर्नेलाई नयाँ बनाइएको सदस्यताको सिस्टमले नै पार्टी सदस्यका रूपमा नचिन्ने भन्दै अगाडि भने, ‘अद्यावधिक नभएको कोही पनि साथीलाई नेपाली कांग्रेसले सम्मान गर्छ, माया गर्छ तर पार्टी सदस्यका रूपमा चिन्दैन। अब मैले के गर्ने ?    मैले व्यक्तिगत रूपमा चिन्छु, जय नेपाल भन्छु तर अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन।’

महामन्त्रीले पार्टीले सदस्यता व्यवस्थापन, निर्वाचन प्रक्रिया र संगठन सञ्चालनलाई पूर्णरूपमा डिजिटल प्रणालीमा आधारित बनाएको र अद्यावधिक नभएका सदस्यको नाम वडा अधिवेशनदेखि माथिल्लो तहका निर्वाचन प्रक्रियामा समावेश नहुने भन्दै यो व्यवस्था कसैलाई निषेध गर्न नभई पार्टीलाई विधिसम्मत र व्यवस्थित बनाउन लागू गरिएको बताए।

थापाले हालसम्म ५ लाखभन्दा बढी सदस्यले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिँदै अन्तिम संख्या ६ देखि ६.५ लाखसम्म पुग्ने दाबी गरेका छन्। उनका अनुसार विगतमा केवल अधिवेशन केन्द्रित भएर बनेका वा बनाइएका सदस्यहरूको संख्या घट्नु स्वाभाविक प्रक्रिया हो। ‘क्रियाशील सदस्य बन्न आफैं सहभागी हुनुपर्छ, अब अरूले बनाएर क्रियाशील सदस्य बन्ने अवस्था रहँदैन,’ 
उनले भने।

थापाले अगाडि भनेका छन्, ‘कांग्रेस अब केवल नामको सदस्यता होइन, सक्रिय सहभागिता र नियमित नवीकरणका आधारमा अघि बढ्नेछ। यसले संगठनलाई थप अनुशासित, पारदर्शी र कार्यकर्तामुखी बनाउने अपेक्षा गरिएको छ।’

झापामा कांग्रेसको सदस्यता अद्यावधिक अभियान अपेक्षाकृत उत्साहजनक देखिएको छ। जिल्ला सचिव कृष्ण हुमागाईंका अनुसार हालसम्म करिब ६० प्रतिशत क्रियाशील सदस्यले आफ्नो विवरण अद्यावधिक गरिसकेका छन्। यही अवस्थालाई थप प्रभावकारी बनाउन महामन्त्री थापा र उपसभापति शर्मा कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्न झापा पुगेका हुन्।

निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला पक्षका शीर्ष नेताहरूले क्रियाशील अद्यावधिक गरेका छैनन्। उपसभापति शर्माले पार्टीलाई विधि, पद्धति र लोकतान्त्रिक संस्कारका आधारमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले संगठनलाई बलियो बनाउन प्रत्येक सदस्यको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताए। ‘समाज रूपान्तरण र कांग्रेसको पुनर्जागरणका लागि सबै एकताबद्ध हुनुपर्छ,’ भन्दै उनले सदस्यता अभियान केवल तथ्यांक संकलन नभई संगठनात्मक रूपान्तरणको प्रक्रिया भएको बताए।

कांग्रेसभित्र क्रियाशील सदस्यताको विषय विगतदेखि नै विवाद र बहसको केन्द्रमा रहँदै आएको छ। महाधिवेशनको समयमा सदस्य संख्या अस्वाभाविक रूपमा बढाउने, निष्क्रिय व्यक्तिलाई समेत सदस्य बनाउने तथा प्रतिनिधि छनोटमा प्रभाव पार्ने आरोपहरू पटक–पटक उठ्ने गरेका छन्। यही पृष्ठभूमिमा वर्तमान नेतृत्वले ‘जरा अभियान’ मार्फत प्रत्येक सदस्य स्वयं उपस्थित भएर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरेको हो।

थापा नेतृत्वले थालेको यो अभियानले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा समेत प्रभाव पार्न सक्ने आकलन पार्टीभित्रै छ। अद्यावधिक प्रक्रियापछि वास्तविक सक्रिय सदस्यको संख्या स्पष्ट हुने र त्यसकै आधारमा आगामी महाधिवेशनका प्रतिनिधि चयन हुने भएकाले विभिन्न समूह र नेताहरूको चासो यसमा केन्द्रित छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.