चीनका महिलाहरू किन लगाइरहेका छन् पुरुषका कपडा ?
चीन : गर्मी नजिकिँदै जाँदा केक्सिनले आफ्नो कपडाको दराजमा ठूलो परिवर्तन देखिन् । अब उनको दराजमा महिलाहरूका कपडाभन्दा पुरुषहरूको कपडा बढी थियो । शर्ट, टी–शर्ट र शट्र्स उनका प्रेमी वा बुबाका लागि किनिएका थिएनन्–यी सबै उनका लागि नै थिए ।
केक्सिन मात्र होइनन् । चीनका धेरै युवा महिलाहरू आफ्नो सामाजिक सर्कल र अनलाइनमा पनि भनिरहेका छन् कि उनीहरू पुरुषहरूको कपडा लगाउन थालेका छन् । यसका कारणहरू मिल्दाजुल्दा छन्—उत्कृष्ट गुणस्तर, कम मूल्य, बढी आराम र शरीरलाई लिएर हुने शर्म (बढी सेमिङ) कम हुनु ।
कसरी सुरु भयो यो ट्रेन्ड ?
केक्सिनलाई याद छ, सन् २०२३ मा उनको फिडमा पुरुषहरूको टी–शर्ट बेच्ने लाइभस्ट्रीम आउन थालेपछि यो परिवर्तन सुरु भएको थियो । सुरुमा उनलाई अचम्म लाग्यो । उनी आफ्ना बुबा वा प्रेमीका लागि पनि किनमेल गर्दिनथिन्, तर एल्गोरिदमले किन यस्ता सामग्री देखाइरहेको थियो ? उनले सोचिन्, यो कुनै गल्ती हो । तर एक दिन बाथरूममा हुँदा उनले फोनलाई कपडाको लाइभस्ट्रीममै छोडिन् ।
त्यसमा भनिएको थियो, ‘केटीहरूले सानो साइज किनेर आफैं लगाउन सक्छन् ।’ ‘यो युनिसेक्स हो-महिलाले पनि लगाउन सक्छन् ।’ केही मिनेटमै यी कुरा दोहोरिरहे । महिलालाई लक्षित लाइभस्ट्रीमहरूमा प्रायः शरीर स्लिम देखाउने वा फेसन ट्रेन्डलाई जोड दिने गरिन्छ । तर यस लाइभस्ट्रीममा कपडाको गुणस्तर र मटेरियलमा ध्यान दिइएको थियो ।
उनले भनिन्, ‘मलाई यो साँच्चै राम्रो लाग्यो । महिलाका कपडाले प्रायः सौन्दर्यको दबाब थोपर्छन्, र धेरैजसो असहज पनि हुन्छन् ।’ यी कपडाहरूको मूल्य पनि कम थियो । धेरै शर्ट १०० युआन (झन्डै १३२५ रुपैयाँ) भन्दा कममा पाइन्थे । फिर्ता गर्नुपरे पनि जोखिम कम लाग्थ्यो । उनले पहिलो पटक पुरुषहरूको टी–शर्ट किनिन् र छक्क परिन्—यो पहिले किनेका महिलाका टी–शर्टभन्दा धेरै आरामदायक, बाक्लो र हावादार थियो र मूल्य पनि निकै कम थियो । धेरै समय लागेन, उनले अझ धेरै पुरुषका कपडा किन्न थालिन् । बिस्तारै ती कपडाहरूले उनको दराज कब्जा गर्न थाले । उनले भनिन्, ‘जसरी कुनै बाह्य प्रजातिले पुराना चीजहरूलाई बाहिर धकेल्छ ।’
कम खर्च
यस ट्रेन्डको पृष्ठभूमिमा चीनको कमजोर उपभोक्ता अर्थतन्त्र पनि छ, जुन कोविड प्रतिबन्ध हटेपछि (सन् २०२२ अन्त्यतिर) जारी छ । शाङ्घाईमा ‘९९६’ (हप्तामा ६ दिन, बिहान ९ देखि राति ९) काम गर्ने केक्सिन जस्ता महिलाहरू अब खर्चमा धेरै सावधान भएका छन् ।
धेरैले जागिर बदल्न पनि कम इच्छुकता देखाएका छन् र कपडा जस्ता वस्तुमा बढी खर्च गर्न चाहँदैनन् । यस सन्दर्भमा, केही उपभोक्ताहरूले फास्ट फेसन छोडेर मूल्य र टिकाउपनलाई प्राथमिकता दिँदै ‘रिभर्स कन्जम्प्सन’ ट्रेन्ड अपनाएका छन् । केक्सिन भन्छिन्, ‘यदि केही फिट भएन भने फर्काउन सजिलो छ । अब कपडामा धेरै पैसा खर्च गर्नुको अर्थ देख्दिनँ ।’
साइजको समस्या
शाङ्घाईकी वकिल ली भन्छिन्, ‘पुरुषहरूको : साइजको पाइन्टको जेबमा ११ इन्चको ट्याब्लेट र किताब सजिलै अट्छ, र फिटिङ बिग्रँदैन ।’ धेरैका लागि यो परिवर्तन लैङ्गिक बयानभन्दा पनि व्यवहारिक आवश्यकता हो । चीनमा महिलाका कपडाको साइजिङ लामो समयदेखि आलोचनाको विषय बनेको छ । सोसल मिडियामा स्लिम इन्फ्लुएन्सरहरूले देखाउँछन् कि ठूला साइजका कपडा पनि वास्तवमा साना हुन्छन् ।
कतिपय साइजका कपडा पनि असाध्यै साना हुने वा फिट नहुने उदाहरणहरू भाइरल भएका छन् । शाङ्घाईकी वकिल ली भन्छिन् । उनले पुरुषहरूको कपडा लगाउन थालेपछि मात्रै आफूलाई राम्रो फिट हुने कपडा भेटेकी हुन् । उनको उचाइ १७० सेमी छ र काँध फराकिला छन् । उनले भनिन्, ‘महिलाका कपडाहरू मेरो शरीरका लागि बनाइएका जस्ता लाग्दैनन् ।’ उनी थप्छिन्, ‘पुरुषहरूको पाइन्टको जेब धेरै उपयोगी हुन्छ-फोन, किताब सबै अट्छ ।’
उद्योगमा दबाब
कोभिडपछि चीनको कपडा उद्योग संकुचित भएको छ । उत्पादन र निर्यात घटेका छन् र रिटेल वृद्धि पनि सुस्त छ । अब कम्पनीहरूले नयाँ डिजाइन कम बनाइरहेका छन् र उपभोक्ताहरू पनि खर्च घटाइरहेका छन् । केही ब्रान्डहरूले अब दक्षिण–पूर्व एसियाबाट तयार डिजाइन किनिरहेका छन् ।
तर यी डिजाइनहरू प्रायः चिनियाँ शरीर संरचनासँग मेल खाँदैनन्, जसले फिटिङ समस्या बढाएको छ ।
डिजाइनका निर्णयहरू पनि अर्थतन्त्रले निर्धारण गर्छ-सानो साइजका कपडा बनाउनु सस्तो हुन्छ, ठूला साइज महँगो पर्छ । विशेषज्ञ वाङ भन्छिन्, ‘यदि २० ठूला साइज बेच्न लाग्ने लागत २०० मिडियम साइज बराबर छ भने कम्पनीहरू ठूला साइज छोड्छन् ।’ अब उपभोक्ता खर्च बढ्दै जाँदा कपडा अझ पातलो र सस्तो हुने सम्भावना देखिन्छ । केक्सिन जस्ता खरीददारका लागि यो परिवर्तनले उनीहरूको वार्डरोबलाई अझै धेरै बदल्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस !