विमानस्थलभित्रै यात्रुमाथि खुलेआम लुट, होटल र क्याफेलाई १२ लाख जरिवाना

विमानस्थलभित्रै यात्रुमाथि खुलेआम लुट, होटल र क्याफेलाई १२ लाख जरिवाना

विराटनगर : यात्रुको बाध्यता र सीमित विकल्पको फाइदा उठाउँदै विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले वस्तुमा अंकित मूल्यभन्दा तेब्बर बढी रकम असुलिरहेको तथ्य सरकारी अनुगमनबाट उजागर भएको छ । 

आकस्मिक अनुगमनमा ठगीको पुष्टि भएपछि चार व्यवसायलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ गरिएको संयुक्त अनुगमनका क्रममा विमानस्थल परिसरभित्र रहेका होटल तथा क्याफेहरूले उपभोक्तासँग मनपरी मूल्य लिएको भेटिएको हो । यात्रु तथा सर्वसाधारणबाट लामो समयदेखि अत्यधिक मूल्य असुली भइरहेको गुनासो आएपछि अनुगमन टोलीले छड्के निरीक्षण गरेको थियो । 

अनुगमनका क्रममा बोर्डिङ कक्ष नजिकै सञ्चालित ममता होटेलले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । त्यसैगरी, विमानस्थलको क्यान्टिनमा रहेको ग्यालेक्सी क्याफे एण्ड होटेल प्रालिले ५० रुपैयाँ मूल्यको कोकाकोलालाई १६० रुपैयाँमा बिक्री गरी बिल जारी गरेको भेटियो । 

यस्तै, गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको पाइयो भने अनुकुल होटेल एन्ड भान्सा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमन टोलीले फेला पारेको छ । उपभोक्तासँग चर्को मूल्य असुली गरेको पुष्टि भएपछि चार वटै व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर कायम गरिएको छ । 

सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायलाई तीन–तीन लाख रुपैयाँका दरले जरिवाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए । कारबाहीस्वरूप चारवटै व्यवसायबाट १२ लाख रुपैयाँ राजस्व संकलन गरिएको उनले बताए ।

कोइरालाका अनुसार विमानस्थल जस्तो सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको स्थानमा यात्रुको बाध्यताको फाइदा उठाएर खाद्य तथा उपभोग्य वस्तुमा अस्वाभाविक मूल्य लिइएको गुनासो निरन्तर आइरहेको थियो । सोही आधारमा साँझ करिब ६ः२० सम्म लगाएर गरिएको आकस्मिक अनुगमनमा व्यवसायीहरूले कानुन उल्लंघन गरेको पुष्टि भएको उनले बताए । 

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर बेनुकुमार कार्की तथा उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदीलगायतको सहभागिता रहेको थियो । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विमानस्थलभित्र मात्र नभएर उपभोक्तालाई ठगी गर्ने, अंकित मूल्य भन्दा बढी रकम असुल गर्ने र कानुनविपरीत व्यापार गर्ने जोसुकै व्यवसायीमाथि निगरानी तथा कारबाहीलाई निरन्तरता दिइने बताए । उनले उपभोक्तालाई खरिद गर्दा वस्तुको अंकित मूल्य, बिल र गुणस्तरका बारेमा सजग रहन आग्रह गरेका छन् । 

तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाइए सम्बन्धित निकायमा उजुरी दिन सर्वसाधारणलाई आग्रह गर्दै प्रजिअ कटेलले उपभोक्ता अधिकारमाथि हुने कुनै पनि प्रकारको उल्लंघन सह्य नहुने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलभित्र गरिएको कारबाहीलाई सार्वजनिक स्थलमा हुने मूल्य ठगीविरुद्धको कडा सन्देशका रूपमा हेर्नुपर्न उनको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.