धूमपान  : मौन मृत्युको स्रोत

धूमपान  : मौन मृत्युको स्रोत
सुन्नुहोस्

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको परिवार हो। घरभित्रै सचेतना सुरु भएमात्र समाजमा परिवर्तन सम्भव हुन्छ। अभिभावक स्वयंले तमाखु सेवन त्याग्दा मात्र नयाँ पुस्ताले स्वस्थ जीवनशैली अपनाउने प्रेरणा पाउन सक्छ।

हरेक वर्ष मे ३१ मा मनाइने ‘विश्व धूम्रपानरहित दिवस’ तमाखुजन्य पदार्थका घातक असरबारे जनचेतना फैलाउने विश्वव्यापी अभियान हो। सन् १९८७ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरु गरेको यो अभियान आज विश्वव्यापी जनस्वास्थ्य आन्दोलनका रूपमा स्थापित भएको छ। यस दिवसको मुख्य उद्देश्य धूमपान तथा सुर्तीजन्य पदार्थका कारण हुने रोग, अकाल मृत्यु र सामाजिक–आर्थिक क्षतिबारे मानिसलाई सचेत गराउनु हो। साथै युवा पुस्तालाई धूम्रपानबाट टाढा राख्ने, स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने तथा सुर्ती नियन्त्रणसम्बन्धी नीतिलाई प्रभावकारी बनाउने सन्देश पनि यस दिवसले दिँदै आएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०२६ का लागि ‘आकर्षणको पर्दाफास ः निकोटिन र तमाखुको लतविरुद्ध अभियान’ भन्ने मूल सन्देश सार्वजनिक गरेको छ। यस अभियानले विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै तमाखु तथा निकोटिन उद्योगहरूले अपनाइरहेका भ्रामक प्रचार रणनीति, आकर्षक प्रस्तुति र डिजिटल मार्केटिङको पर्दाफास गर्ने उद्देश्य राखेको छ। आज सुर्ती उद्योग केवल चुरोट बिक्रीमा सीमित छैन; आकर्षक स्वाद, रंगीन प्याकेट, सामाजिक सञ्जालमार्फत प्रचार तथा ई–सिगरेट, भेप र निकोटिन पाउचजस्ता नयाँ उत्पादनमार्फत किशोर–किशोरीलाई धूम्रपानको लततर्फ आकर्षित गर्ने प्रयास तीव्र रूपमा बढिरहेको छ।

सन् २०२६ को विश्व धूम्रपानरहित दिवसले यस्ता भ्रामक प्रचारशैली र उत्पादन रणनीतिविरुद्ध सचेतना अभिवृद्धि गर्न विशेष जोड दिएको छ। आज विश्व समुदायले धूम्रपानलाई केवल स्वास्थ्य समस्यामात्र नभई आर्थिक, सामाजिक र वातावरणीय संकटका रूपमा समेत हेर्न थालेको छ। डब्लूएचओका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेरसमूहका करिब ४ करोड किशोर–किशोरी कुनै न कुनै प्रकारको तमाखु प्रयोग गरिरहेका छन् भने १ करोड ५० लाखभन्दा बढी किशोरहरूले ई–सिगरेट प्रयोग गरिरहेका छन्। धेरै देशमा किशोर वयस्कभन्दा औसतमा ९ गुणासम्म बढी भेप प्रयोग गर्छन्। तमाखुले शरीरलाई बिस्तारै रोगग्रस्त बनाउँदै लैजान्छ, त्यसैले यसलाई ‘मौन मृत्युको स्रोत’ भनिन्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु तमाखु सेवनका कारण हुन्छ, जसमध्ये करिब १२ लाख मानिस दोस्रो हातको धुवाँबाट प्रभावित हुने गरेका छन्। हाल विश्वभर करिब १.२ अर्ब मानिस कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन्, जसको ठूलो हिस्सा न्यून तथा मध्यम आय भएका देशहरूमा रहेको छ। धूम्रपानमा सात हजारभन्दा बढी रसायन पाइन्छन्, जसमा ७० भन्दाबढी तŒव क्यान्सर उत्पन्न गर्ने खालका हुन्छन्। यसको सेवनले फोक्सोको क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मस्तिष्कघात, दम, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिजलगायत श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ। धुवाँरहित सुर्तीजन्य पदार्थले मुख, घाँटी, खाना नली, पेट तथा मिर्गौलामा क्यान्सरको जोखिम बढाउँछ।

विशेषगरी किशोरावस्थामा सुरु भएको धूम्रपानले दीर्घकालीन लत सिर्जना गर्छ। यसले अध्ययन, मानसिक स्वास्थ्य, व्यवहार तथा सामाजिक सम्बन्धमा नकारात्मक असर पार्दछ। गर्भवती महिलाले धूम्रपान गर्दा कम तौलका शिशु जन्मिने, समयअघि जन्मिने तथा शिशुको शारीरिक विकासमा समस्या देखिने सम्भावना बढ्छ। विश्वका धेरै देशले धूम्रपान नियन्त्रणका लागि सार्वजनिक स्थानमा धूम्रपान निषेध, चुरोटका बट्टामा चेतावनीमूलक चित्र, कर वृद्धि तथा विज्ञापन प्रतिबन्धजस्ता नीति लागू गरेका छन्। केही देशमा परम्परागत चुरोट सेवन घट्दै गए पनि अहिले ई–सिगरेट, भेपिङ, निकोटिन पाउच तथा फ्लेभरयुक्त नयाँ उत्पादनहरूले विशेषगरी युवापुस्तालाई आकर्षित गरिरहेका छन्।

चुरोट, सुर्ती, खैनी, गुटखा तथा पानमसलाको प्रयोग अझै व्यापक रूपमा देखिन्छ। सार्वजनिक स्थल, चिया पसल तथा विद्यालय आसपासमा तमाखुजन्य पदार्थ सहजै उपलब्ध हुनु, धूम्रपानलाई सामान्य व्यवहारका रूपमा लिने सामाजिक प्रवृत्ति, कमजोर कानुनी कार्यान्वयन र चेतनाको अभावले समस्या झन् जटिल बनाएको छ। विशेषगरी युवापुस्तामा रंगीन डिजाइन, मीठा स्वाद र आधुनिक जीवनशैलीको प्रतीकका रूपमा प्रस्तुत गरिने भेप तथा ई–सिगरेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ, जसले किशोर–किशोरीलाई निकोटिनको लततर्फ धकेलिरहेको छ। विद्यालय तथा कलेजका विद्यार्थीहरूमा गुट्खा, पानमसला र भेपको बढ्दो प्रयोग अहिले गम्भीर चिन्ताको विषय बनेको छ।

विश्व स्वास्थ्य संगठन तथा टोवाको एटलासका पछिल्ला तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब २८ हजारभन्दा बढी मानिसको मृत्यु धूम्रपान तथा तमाखु सेवनका कारण हुने गरेको छ। तमाखु सेवनका कारण फोक्सो, मुख, घाँटी र खाना नलीको क्यान्सर, मुटुरोग, पक्षघात तथा श्वासप्रश्वाससम्बन्धी रोग तीव्र रूपमा बढिरहेका छन्। नेपालमा विशेषगरी मुख तथा फोक्सोको क्यान्सरका धेरै घटना सुर्तीजन्य पदार्थ सेवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित देखिएका छन्। अध्ययनहरूले नेपालमा तमाखुजन्य पदार्थका कारण हुने मृत्यु र रोगको भार अझै उच्च रहेको देखाएका छन्। ग्लोबल बर्डन अफ डिजिजसम्बन्धी अध्ययनअनुसार तमाखुका कारण हुने रोग तथा अकाल मृत्यु नेपालको प्रमुख जनस्वास्थ्य चुनौतीमध्ये एक बनेको छ। 

अहिले नै प्रभावकारी नियन्त्रण, कडा कानुनी कार्यान्वयन, विद्यालयस्तरबाट सचेतना अभियान तथा युवापुस्तालाई लक्षित रोकथाम कार्यक्रम सञ्चालन गर्न सकिएन भने भविष्यमा नेपालले अझ गम्भीर स्वास्थ्य र आर्थिक संकट सामना गर्नुपर्ने चेतावनी विज्ञहरूले दिएका छन्। तमाखु सेवनले मानव स्वास्थ्यमा मात्र होइन, वातावरण र अर्थतन्त्रमा पनि गम्भीर असर पारिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर हरेक वर्ष करिब ३५ लाख हेक्टर जमिन तमाखु खेतीमा प्रयोग हुने गरेको छ। यसका कारण वन विनाश, माटोको उर्वराशक्ति ह्रास तथा अत्यधिक रासायनिक विषादीको प्रयोग बढिरहेको छ। तमाखु उत्पादन प्रक्रियाले ठूलो मात्रामा पानी र काठको खपत गर्ने भएकाले वातावरणीय सन्तुलनमा समेत नकारात्मक असर परेको छ।

विश्वभर हरेक वर्ष करिब ४.५ ट्रिलियनभन्दा बढी चुरोटका ठुटा वातावरणमा फालिने गरेका छन्। प्लास्टिकयुक्त फिल्टर भएका यी ठुटा विश्वकै सबैभन्दा बढी फालिने फोहोरमध्ये एक मानिन्छन्। यिनले नदी, ताल, सडक तथा समुद्री वातावरण प्रदूषित बनाइरहेका छन्। धूम्रपानजन्य रोगको उपचारमा राज्यले ठूलो आर्थिक भार व्यहोर्नुपरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार तमाखुका कारण हुने स्वास्थ्य उपचार र उत्पादनशीलतामा हुने क्षतिबाट विश्व अर्थतन्त्रले हरेक वर्ष एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी नोक्सानी व्यहोर्ने गरेको छ। नेपालमा पनि मुटुरोग, क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग तथा पक्षघातको उपचारमा ठूलो रकम खर्च भइरहेको छ, जसको प्रमुख कारणमध्ये तमाखु सेवन पनि एक हो।

परिवारको आम्दानीको ठूलो हिस्सा चुरोट, सुर्ती, गुट्खा वा पानमसलामा खर्च हुँदा शिक्षा, पोषण तथा स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा प्रत्यक्ष असर पर्ने गरेको छ। विशेषगरी न्यून आय भएका परिवारमा तमाखुले गरिबी र रोगको दुष्चक्रलाई अझ गहिरो बनाइरहेको छ। आज तमाखुलाई केवल स्वास्थ्य समस्यामात्र नभई सामाजिक, आर्थिक र वातावरणीय संकटका रूपमा पनि हेरिन थालेको छ। नेपालमा नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्ना ४८ शाखामार्फत धूम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियानमा महŒवपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। सरोकारवाला निकायसँग सहकार्य गर्दै धूम्रपान नियन्त्रणका लागि चुरोट तथा तमाखुको खुद्रा मूल्यको कम्तीमा ७५ प्रतिशत हिस्सा कर हुनुपर्ने डब्लूएचओको सिफारिस कार्यान्वयन गर्न सरकारलाई दबाब दिँदै आएको छ।

पछिल्ला वर्षहरूमा संस्थाले डिजिटल प्लेटफर्ममार्फत जनचेतना विस्तार गर्ने, सामाजिक सञ्जाल अभियान सञ्चालन गर्ने, धूम्रपान त्याग गर्न चाहनेहरूका लागि परामर्श तथा सहायता कार्यक्रम सञ्चालन गर्ने कार्यलाई पनि तीव्रता दिएको छ। तमाखुजन्य पदार्थका कारण बढ्दो क्यान्सर जोखिम न्यूनीकरण गर्न जनस्तरमै चेतना अभिवृद्धि आवश्यक रहेको संस्थाले निरन्तर जोड दिँदै आएको छ। तमाखु नियन्त्रण सरकार र सम्पूर्ण समाजको साझा दायित्व हो।

यसका लागि सार्वजनिक स्थलमा धूम्रपान निषेधको कडाइका साथ कार्यान्वयन, तमाखुजन्य पदार्थमा उच्चकर, आकर्षक प्याकेजिङ र विज्ञापनमा पूर्ण प्रतिबन्ध आवश्यक छ। साथै विद्यालय, कलेज र समुदायमा स्वास्थ्य शिक्षा प्रभावकारी बनाउनुपर्छ तथा युवा पुस्तालाई खेलकुद, सिर्जनात्मक गतिविधि र सकारात्मक जीवनशैलीतर्फ आकर्षित गर्नुपर्छ। धूम्रपान छोड्न चाहने व्यक्तिहरूका लागि परामर्श, चिकित्सकीय सहयोग र मानसिक समर्थन सहज रूपमा उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ।

सबैभन्दा महत्वपूर्ण पक्ष भनेको परिवार हो। घरभित्रै सचेतना सुरु भएमात्र समाजमा परिवर्तन सम्भव हुन्छ। अभिभावक स्वयंले तमाखु सेवन त्याग्दा मात्र नयाँ पुस्ताले स्वस्थ जीवनशैली अपनाउने प्रेरणा पाउन सक्छ। त्यसैले, ‘स्वस्थ परिवार, स्वस्थ समाज’ भन्ने सोचलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो। तमाखुजन्य पदार्थ मानव स्वास्थ्य, समाज, वातावरण र अर्थतन्त्रका लागि गम्भीर चुनौती बनेको छ।

आकर्षक प्रचार र आधुनिक उत्पादनमार्फत युवा पुस्तालाई लततर्फ तान्ने प्रयास भइरहेका बेला जनचेतना, प्रभावकारी नीति, शिक्षा र सामाजिक सहभागिता अत्यावश्यक बनेको छ। विश्व धूम्रपानरहित दिवस केवल औपचारिकता होइन; यो तमाखुमुक्त स्वस्थ समाज निर्माणको साझा अभियान हो। त्यसैले आजको दिनमा धूम्रपान नगर्ने प्रण गरौं, अरूलाई पनि प्रेरित गरौं र स्वस्थ भविष्य निर्माणतर्फ अघि बढौं।

बराल, नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.