रकम उठाइदिने भन्दै झुटा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी

रकम उठाइदिने भन्दै झुटा मुद्दा ल्याउने बिचौलियाको बिगबिगी
फाइल तस्बिर।

काठमाडौं : भैरहवाबाट आएकी ज्ञानी श्रेष्ठ (नाम परिवर्तन) हातभरि फाइल बोकेर वैदेशिक रोजगार विभागमा भेटिइन्। कार्यालय प्रमुख मीरा आचार्यको कार्यकक्ष अगाडिको प्रतीक्षालयमा बसेकी उनी आफ्ना गाउँका भाइहरूको फसेको पैसा उठाउन विभाग परिसर पुगेकी थिइन्। वैदेशिक रोजगारीका लागि धेरै वर्ष इजरायल बसेकी उनी फर्केपछि पनि गाउँका भाइहरूलाई विदेश पठाउन सक्रिय छिन्। 

चिनेजानेकै ५ जना भाइलाई ‘रोमन दाससँग’ (नाम परिवर्तन) सम्पर्क गराएर इजरायल पठाउन उनी लागिपरिन्। ती युवाहरूले श्रेष्ठकै विश्वासमा ८ देखि १० लाख रुपैयाँसम्म बुझाए। सबैबाट ६० लाख रुपैयाँ उठाएपछि रोमन फरार भए।

पैसा बुझाएका युवाहरू भने गाउँमै छन्। ती सबै जनाको उजुरी बोकेर ज्ञानी श्रेष्ठ विभाग पुगेकी थिइन्। नियमअनुसार एक जनाको पैसा ठगिएको विषयमा अर्को व्यक्तिले उजुरी दिन पाउँदैन। विभागको मुद्दा शाखामा पटक–पटक धाउँदा पनि उजुरी दर्ता गराउन नसकेपछि उनी कार्यालय प्रमुख आचार्यको कार्यकक्षमा पसेकी थिइन्। ‘पीडित व्यक्ति आफैं उजुरी दिन आउनुपर्छ’ भन्दै कार्यालय प्रमुख उनलाई सम्झाउँदै थिइन्। ज्ञानी भने पीडित युवाहरू अरू काममा व्यस्त भएकाले आउन नसकेको बताउँदै थिइन्। उनी बारम्बार भन्दै थिइन्, ‘उनीहरूको बिदा मिलेन, त्यसैले आउन सकेनन्। तर, सबै प्रमाण मसितै छ।’

जापानमा ४ सय जना नेपालीलाई गुम्बा बनाउन लैजाने भन्दै स्वयम्भूमा रहेको एउटा संस्थाले विभिन्न व्यक्तिबाट लाखौं रुपैयाँ उठायो। करिब २ सय जना व्यक्तिबाट प्रतिव्यक्ति १० देखि १२ लाख रुपैयाँसम्म उठाएर संस्थाका सञ्चालक फरार भए। पीडित व्यक्तिहरूको उजुरी जम्मा गरेर सिन्धुलीका एक लामा थरका व्यक्ति वैदेशिक रोजगार विभाग पुगेका थिए। उनको पनि उजुरी दर्ता भएन। वैदेशिक रोजगार विभाग ताहाचल यतिबेला कृत्रिम पीडित बनेर जाने तेस्रो पक्ष अर्थात् बिचौलियाको भीडले आजित छ।

विभागका कर्मचारीको नजरमा जसले ‘अरूको पैसा उठाइदिन्छु’ भन्दै विभागमा विवाद गर्न आउँछन्, उनीहरूको निवेदन दर्ता गर्न कानुनतः मिल्दैन। उनीहरू पनि कानुनी नजरमा ठग वा बिचौलिया नै हुन्। पछिल्लो समय वैदेशिक रोजगार विभाग परिसरमा अत्याधिक भीडभाड छ। आफैं ठगिएका व्यक्तिभन्दा अरू ठगिएका व्यक्तिहरूको निवेदन बोकेर आउने संस्था तथा व्यक्तिको भीडले कर्मचारीहरूसमेत दिक्क छन्। 

कोही आरोपीलाई छुटाइदिन्छु भनेर पैसा उठाउँछन्, कोही हिरासतमा भएकालाई छुटाइदिन्छु भन्दै रकमको बार्गेनिङ गर्छन्। कोही पीडितको फसेको पैसा उठाइदिन्छु भन्दै पुनः ठगी गर्छन् त कोही मुद्दा लडिदिन्छु भनेर मोटो रकम असुल्छन्। जे–जसरी भए पनि यहाँ पैसा उठाउनेहरूको ठगी धन्दा चलिरहेकै हुन्छ। अचम्मको कुरा त, ठगहरूलाई जोगाउन पनि पीडितहरू नै अगाडि सर्ने गरेका छन्।
वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले जे–जे बहानामा भए पनि अरूको पैसा उठाउन भन्दै विभाग छिर्ने व्यक्तिहरू बिचौलिया नै भएको बताइन्। 

मुद्दाको पक्षसँग असम्बन्धित व्यक्तिहरू पीडितलाई प्रलोभनमा पारेर विभागका कर्मचारीसँग झगडा गर्न आउने उनको भनाइ छ। उनीहरू अनेक आरोप लगाउने, लफडा गर्ने र जबर्जस्ती उजुरी दर्ता गराउन खोज्ने गर्छन्। आचार्य भन्छिन्, ‘यस क्षेत्रका केही व्यवसायी र व्यक्ति यति शक्तिशाली हुनुहुन्छ कि, कसैले उहाँहरूको विषयमा प्रश्नसमेत गर्न पाउँदैन। जो–कोहीलाई पनि प्रलोभनमा पार्दै व्यवसायको आडमा ठगी साम्राज्य फैलाएका व्यवसायीहरूले अहिले विभिन्न कपोलकल्पित हल्ला फैलाएका हुन्।’ विभाग आफैंमा अधिकार सम्पन्न कार्यालय भएको र कानुनतः प्रमाण पुगेका उजुरी मात्र दर्ता हुने उनले प्रस्ट पारिन्। त्यसका लागि पीडित आफैं उपस्थित हुनुपर्ने भन्दै उनले थपिन्, ‘खेताला पठाएर न्याय पाउन सकिँदैन।’

विभागले सार्वजनिक गर्न छाड्यो आरोपीको पहिचान
पछिल्लो समय संस्थागतभन्दा पनि व्यक्तिगत ठगी अत्यन्तै बढेको भन्दै आचार्यले केही समयअघि आरोपीहरूको नाम सार्वजनिक गर्ने निर्णयलाई हालका लागि रोकिएको बताइन्। उनी भन्छिन्, ‘सयौं पीडितको पैसा खाएर भागेका आरोपीहरूको नाम विभागको वेबसाइटमा राखेपछि उनीहरू झन् फरार हुने बाटो खुल्यो। प्रहरी तथा अन्य सुरक्षाकर्मीको टोलीसँगको छलफलपछि आरोपीहरूको नाम सार्वजनिक नगर्न सुझाव आएको थियो। यो केवल प्रक्रियागत सहजताका लागि मात्र  रोकिएको हो।’

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न गम्भीरतापूर्वक काम भइरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको ठगी नियन्त्रणका लागि प्रभावकारी रूपमा काम भइरहेको बताएका हुन्। वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित बनाउन विद्यमान कानुनी व्यवस्था र संरचनाको पूर्ण परिचालन गरिने उनले उल्लेख गरे। वैदेशिक रोजगारीका क्रममा भएका ठगीका घटना र उजुरीहरूमाथि मन्त्रालयले गहन अध्ययन गरिरहेको समेत उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.