मलेमासमा भव्य मेला सुरु
महोत्तरी : पुरुषोत्तम मास, मलेमासको रुपमा परिचित रहेको महोत्तरीका दुई स्थानमा भव्य मेला लागेको छ। लोहारपट्टी नगरपालिकास्थित रातुनदी र सोनमा गाँउपालिका ५ स्थित कान्तवाँ नदीमा भव्य मेला लाग्ने भएको छ। उक्त दुई स्थानमा मलेमासको अवसरमा आज गतेदेखि जेठ महिनासम्म मेला लागेको छ । यो मेला मधेशकै सबैभन्दा लामो समयसम्म चल्ने मेला रहेकोले यसको तयारीमा महिनौं दिनदेखि स्थानीयस्तरदेखि प्रदेश सरकारसम्म जुटेका थिए ।
सोनमास्थित रामजानकी गेरुका धाम मन्दिरका महन्त श्री बालक दासका अनुसार स्थानीय कन्तावाँ र उतराँहिनी नदीको संगममा प्रत्येक मलेमासका अवसरमा यहाँ पूर्वकालदेखि नै गेरुका महाकुम्भ मेला लाग्दै आइरहेको छ।
मधेशकै प्राचीन तथा धार्मिक महत्व बोकेका गेरुका धाममा मलेमासको अवधिभरिमा साताको दुई दिन आइतबार र मंगलबारका दिन विशेष मेला लाग्ने गर्दछ । धार्मिक मान्यता अनुसार गेरुका धामको पवित्र जलाधारमा स्नान गरी भगवान पुरुषोत्तमको पूजा गर्नाले अक्षय पूण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।
मेलामा मौलिक संस्कृति झल्किने नेटुवा नाच (विशेष लोकनृत्य), कीर्तन, भजनलगायत सांस्कृतिक कार्यक्रमलगायत विभिन्न प्रकारका खेल, तमासा, पिङ, झुला, सर्कस तथा व्यापारिक स्टलहरू रहने जनाइएको छ । सोनमा –५ खैरबनी गेरुका मेला स्थान खासगरी भारतीय सिमासंग लगभग एक किलोमिटरको दूरी रहेकोले हजारौं भारतीय श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ। उक्त मेलाहरुमा शान्ति सुरक्षाको लागि कडारूपमा व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !