ट्रान्सफर्मर जडान भए पनि अन्धकारमै लापा
धादिङ : धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने रूबीभ्याली गाउँपालिकाको लापागाउँ अझै पनि केन्द्रिय विद्युत सेवाको प्रतीक्षामै छ । हिमाली भूगोल, कठिन यात्रा र सीमित पूर्वाधारबीच जीवन बिताइरहेका यहाँका स्थानीयहरू २१औं शताब्दीमा समेत भरपर्दो विद्युत सेवाबाट वञ्चित रहनु परेको गुनासो गर्छन् । झण्डै ८ सय घरधुरी रहेको गाउँ अहिले पनि लघु जलविद्युतकै भरमा छ ।
स्थानीय रामबहादुर घलेका अनुसार गाउँमा सञ्चालनमा रहेको लघु जलविद्युतले रातिको समयमा केही घण्टा मात्र बत्ती दिने गर्दछ । दिनभर विद्युत नहुँदा सामान्य दैनिक कामदेखि सञ्चार, व्यवसाय र अध्ययन समेत प्रभावित हुने गरेको उनी बताउँछन् । मोबाइल चार्ज गर्न, विद्युतीय उपकरण चलाउन तथा साना मेसिन सञ्चालन गर्न कठिन हुने गरेको स्थानीय बताउँछन् ।
‘राति मात्रै थोरै बत्ती आउँछ, दिनभर मोबाइल चार्ज गर्न पनि समस्या हुन्छ’, उनले भने, ‘अहिलेको समयमा पनि हामी अन्धकारमै बस्न बाध्य छौं ।’ केन्द्रिय विद्युत लाइन नपुग्दा गाउँको सञ्चार सेवा समेत प्रभावित बनेको अन्य स्थानीयको भनाइ छ । विशेष गरी लापा क्षेत्रमा रहेको टावरमा नियमित विद्युत आपूर्ति नहुँदा मोबाइल नेटवर्क र इन्टरनेट सेवा अवरुद्ध हुने समस्या दोहोरिने गरेको उनीहरू बताउँछन् । विद्युत अभावकै कारण सूचना प्रवाह र बाह्य सम्पर्कमा समेत समस्या हुने गरेको स्थानीयको अनुभव छ ।
स्थानीयका अनुसार वर्षौंदेखि गाउँमा केन्द्रिय विद्युत विस्तारको काम भइरहेको छ । कतिपय स्थानमा पोल गाड्ने, लाइन विस्तार गर्ने तथा ट्रान्सफर्मर जडान गर्ने काम समेत सम्पन्न भइसकेको छ । तर आवश्यक तार व्यवस्थापन, मिटर जडान तथा अन्तिम प्रक्रिया पूरा नहुँदा हालसम्म विद्युत प्रवाह सुरु हुन सकेको छैन ।
गाउँमा केही वर्षअघि विद्युत मिटर जडान गरिने भन्दै स्थानीयबाट रकम समेत संकलन गरिएको थियो । तर रकम उठाइए पनि सेवा सञ्चालन नहुँदा स्थानीयमा निराशा बढेको छ । ‘पैसा पनि बुझायौं, पोल पनि आयो, ट्रान्सफर्मर पनि राखियो, तर बत्ती कहिले बल्ने हो थाहा छैन’, स्थानीय नवशेद तामाङले दुःखेसो पोखे ।
यता, विद्युत वितरण केन्द्र धादिङका कार्यालय प्रमुख चुतन कुमार श्रीवास्तवले भने सम्बन्धित वडा र स्थानीय तहसँग आवश्यक समन्वय प्रक्रिया पूरा हुन नसक्दा सेवा विस्तारमा ढिलाइ भएको बताएका छन् । उनका अनुसार समन्वय प्रक्रिया अघि बढाइएको भए पनि हालसम्म सेवाग्राहीका आवश्यक फाराम तथा विवरण पूर्ण रूपमा प्राप्त हुन नसकेको कारण विद्युत प्रवाह सुरु गर्न समस्या भएको हो ।
दुर्गम हिमाली गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार र आर्थिक गतिविधिलाई सहज बनाउन विद्युत सेवा अत्यावश्यक मानिन्छ । तर राज्यको पहुँच ढिलो पुग्दा लापा जस्ता गाउँ अझै पनि आधारभूत सेवाबाट टाढा छन् । स्थानीयले सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी तत्काल केन्द्रिय विद्युत सेवा सञ्चालन गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !