सरकारको अभ्यास असंसदीय, अध्यादेश अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह
काठमाडौं : विपक्षी दलहरुले सदनलाई छल्ने सरकारको अभ्यास र बाटो असंसदीय भएको बताएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बुधबार बसेको प्रतिपक्षी दलहरुको वैठकले सरकारले संसद वैठक स्थगित गरेर अध्यादेश ल्याउन खोजेकोप्रति आपति जनाएका छन् ।
विपक्षी दलले अध्यादेश फिर्ता लिन सरकारलाई आह्वान समेत गरेको छ । यस्तै तत्काल संसद्को अधिवेशन बोलाउन विपक्षी दलहरुले माग गरेका छन् ।
सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो । यस्तै, मंगलबार थप तीन वटा अध्यादेश पठाएको छ ।
जसमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश रहेको जनाइएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सरस्वती तामाङलगायत सांसद सहभागी भएका थिए । श्रम संकृति पार्टीका सांसद भने बैठकमा उपस्थित भएनन् ।
प्रतिक्रिया दिनुहोस !