ओरालो यात्रामै सेयर बजार
काठमाडौं : वैशाखको दोस्रो साता सेयर बजार ओरालो यात्रामै रह्यो। यो साता सेयर कारोबार ५ दिन नै भयो । ४ दिन लगातार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) घट्यो भने अन्तिम १ दिन अति सामान्य अंकले बढ्यो। अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २८३८.४० अंकमा बन्द भएको नेप्से यो साता सेयर कारोबारको पहिलो दिन सोमबार १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा झर्यो। अर्को दिन मंगलबार पनि नेप्से १८.१० अंक, बुधबार २.९५ अंक र बिहीबार १७.०१ अंकले नै घट्यो। साताको सेयर कारोबारको अन्तिम दिन शुक्रबार १.५४ अंकले बढेर नेप्से २७८८.७० विन्दुमा बल्ल पुग्यो।
सातामा चार दिन सेयर घट्दा ५१.२३ अंकले घट्यो भने एक दिनमा १.५४ अंकले बढेपछि नेप्सेमा ४९.६९ अंकले गिरावट आयो। यो सातामा सोमबार उच्च विन्दु २८४६.३९ पुग्यो भने शुक्रबार न्यून विन्दु २७५९.५४ अंकसम्ममा नेप्से घटेर सेयर कारोबार भयो। यो साता बुधबार सबैभन्दा घटी ३ सय ४२ वटा र शुक्रबार सबैभन्दा बढी ३ सय ५१ स्क्रिप्टको कारोबार भएर सेयर बजार बन्द भयो।
यो साता सबैभन्दा कम बिहीबार ५ अर्ब ९ करोड ५९ लाख र सबैभन्दा बढी बुधबार ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरि ५ दिन कारोबार हुँदा जम्मा २९ अर्ब ३८ करोड ८६ लाख रुपैयाँले औसतमा दैनिक ५ अर्ब ८७ करोड ७७ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा ८ अर्ब ९९ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग ३५ प्रतिशतले घटेको देखिन्छ। अघिल्लो साता पनि औसत सेयर कारोबार करिब ६ प्रतिशतले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४७ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। गत साताको बजार पुँजीकरण ४८ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँ थियो। साताभर नेप्से ४९.६९ अंकले घट्दा बजार पुँजीकरण ८४ अर्ब ७६ करोड रुपैयाँले घट्न पुग्यो।
यो साताका पाँचै दिन सकारात्मक सर्किट लेभलमा कारोबार हुनेमा पाल्पा सिमेन्ट इन्डट्रिज र शिखर पावर डेभलपमेन्ट रहे। सूर्यकुण्ड हाइड्रोपावरको तीन दिन, होटल फरेस्ट इन र माईखोला हाइड्रोपावरको एक–एक दिन सकारात्मक सर्किट लेभलमा कारोबार भयो। पाल्पाको प्रतिकित्ता सेयर मूल्य ९७१.४० रुपैयाँ, शिखरको ९२०.१०, सूर्यकुण्डको १६३५.००, होटल फरेस्टको ११९५.०० र माईखोलाको ७२४.५० रुपैयाँ पुगेको छ।
- यो साता ५ दिन सेयर कारोबार भयो । ४ दिन नेप्से घट्यो भने अन्तिम १ दिन सामान्य अंकले बढ्यो।
- औसतमा दैनिक ५ अर्ब ८७ करोड ७७ लाखबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा ८ अर्ब ९९ करोड ३९ लाखको सेयर खरिदबिक्री भएको थियो।
- साताभर नेप्से ४९.६९ अंकले घट्दा कुल सेयर बजार पुँजीकरण ८४ अर्ब ७६ करोड रुपैयाँले घट्यो।
सेयर बजारमा सूचीकृत १३ उपसमूहमध्ये यो साता १२ वटाको सेयर मूल्य घट्यो भने म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङको मात्रै सामान्य बढ्यो। म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङ उपसमूहको ०.१४ प्रतिशतले मात्रै बढेको थियो। यो साता सेन्सेटिभ इन्डेक्स ८.८५ अंक, फ्लोट इन्डेक्स ३.५९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१३ अंकले घट्यो।
नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत
यो साता ३ कम्पनीको बोनस सेयर सूचीकृत भएका छन्। बोनस सेयर सूचीकृत हुने कम्पनीमा मिथिला लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंक हुन्। यी ३ कम्पनीको १० लाख ७१ हजार ९७.२६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट
एपोलो हाइड्रोपावर लिमिटेडको शुक्रबार आईपीओ बाँडफाँट भएको छ। कम्पनीले गत चैत २६ गतेदेखि वैशाख २ सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ८० लाख २० हजार रुपैयाँबराबरको सेयर आवेदन संकलन गरेको थियो।
कुल २७ लाख २७ हजार १ सय १७ जनाले २ करोड ९८ लाख ५१ हजार ३ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यसमध्ये ७८ हजार २० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरे। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो।
नासा सेक्युरिटिजमा ‘आफ्टर मार्केट अर्डर’ सेवा
नासा सेक्युरिटिजले लगानीकर्ताका लागि ‘आफ्टर मार्केट अर्डर (एएमओ)’ सेवा शुक्रबारबाट सुरु गरेको छ। कम्पनीले नासा एक्स टिएमएस प्लेटफर्ममार्फत उक्त सेवा कार्यान्वयनमा ल्याएको हो।
अब नासाका ग्राहकले नेप्सेको नियमित कारोबारको समयबाहेक पनि सेयर किनबेचका लागि अर्डर राख्न सक्ने भएका छन्। नेपालमा सेयर बजारको नियमित कारोबार बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म हुने गरेको छ। आफ्टर मार्केट अर्डरमा पछिल्लो कारोबार मूल्यको १५ प्रतिशत तल वा माथिको सीमाभित्र रहेर राख्नुपर्छ।
सर्वसाधारणका लागि नयाँ आईपीओ
टक्सार पिखुवा खोला हाइड्रोपावर कम्पनीले वैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएकोे छ। कम्पनीले सर्वसाधारणका लागि २५ करोड १५ लाख ४५ हजार ५ सय रुपैयाँको २५ लाख १५ हजार ४ सय ५५ कित्ता सेयर निष्कासन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओमा वैशाख २८ सम्म आवेदन दिन सकिने छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ। त्यसैगरी, सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि वैशाख २१ देखि सेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ८५ लाख रुपैयाँको ८५ हजार कित्ता निष्कासन गर्न लागेको हो। आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म वैशाख २४ सम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।
बुक बिल्डिङमार्फत सेयर बिक्री गर्न २ कम्पनी थपिए
बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्न चाहने कम्पनी थपिएका छन्। ती कम्पनीले नेपाल स्टक एक्सचेन्जसँग सम्झौता गरेका छन्। नेपाल चिया विकास निगम र यति ब्रुअरीले नेप्सेसँग सम्झौताका गरेका छन्। अब बुक बिल्डिङमार्फत सेयर बिक्री गर्न चाहने कम्पनीको संख्या ७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !