प्यूठानका अग्निपीडितहरु छिमेकी र आफन्तकोमा आश्रय लिँदै
प्यूठान : ऐरावती गाउँपालिका–१ छेडाघाटका अग्निपीडितहरु छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् । शनिबार राति भएको आगलागीमा ८ घर र १४ गोठ जलेर पूर्णरुपमा नष्ट हुँदा ८ परिवारका ४४ जना बिस्थापित भएका छन् ।
पीडितहरुले स्थायी बसोवास र आयाआर्जनमा सहयोग गर्न अनुरोध गरेका छन् । खेती किसानी गर्दै गुजारा गर्दै आएका यहाँ स्थानीयलाई पशुपालनको लागि सहयोग गर्नुपर्ने अपेक्षा गरेका हुन् । बिस्थापित परिवारहरुलाई तत्कालका लागि खाद्य सामाग्री र गैरखाद्य सामाग्री वितरण गरिएको छ ।
अग्नी पीडितहरुका लागि गाउँपालिका, प्यूठान उद्योग बाणिज्य संघ लगायतले खाद्य सामाग्री र नेपाल रेडक्रस सोसाइटी त्रिपाल, भाडाकुडा, कम्मललगायत अखाद्य सामाग्री वितरण गरेको छ । खाद्य बैक स्थापना गरी बिपत्तिमा परेकाहरुलाई खाद्य सहयोग गर्ने संघको नीति अनुसार अग्निपीडितहरुलाई खाद्य सहयोग गरिएको प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले बताए ।
बिस्थापितहरुको अस्थायी बसोवास ब्यबस्थापनका लागि पालिकामार्फत मेशिन लगाएर जलेका भग्नावशेष हटाउने र जलेका जनावार पुर्ने काम गरिएको ऐरावती गाउँपालिका–१ का वडाध्यक्ष अमर रेश्मी मगरले बताए ।
गाउँपालिकाले अग्नीपीडित ८ परिवारका लागि ५ सदस्यभन्दा बढी भएकालाई प्रतिपरिवार २७ हजार र ५ सदस्यभन्दा कम भएकालाई प्रतिपरिवार २२ हजार रुपैंया नगद तत्कालका राहत स्वरुप उपलब्ध गराउँदैछ । आगलागीका कारण विस्तापित भएका परिवारहरुलाई अस्थायी बसोवासका लागि ५० हजार रुपैंयाका दरले रकम उपलब्ध गराउने गाउँपालिका अध्यक्ष नबिलबिक्रम शाहले बताए ।
प्रतिक्रिया दिनुहोस !