सरकार गठनपछि सेयर बजारमा उतारचढाव

सरकार गठनपछि सेयर बजारमा उतारचढाव
सुन्नुहोस्

काठमाडौं : चैतको तेस्रो साता सेयर बजार उतारचढावमै रह्यो। यो सातामा ५ दिनै सेयर कारोबार भएकामा ३ दिन उच्च अंकले घट्यो भने २ दिन मात्रै सामान्य अंकले बढ्यो। 

अघिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २९५०.१६ अंकमा बन्द भएको नेप्से यो साता सेयर कारोबारको पहिलो दिन आइतबार ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा झर्‍यो। भोलिपल्ट सोमबार नेप्से ४७.७१ घट्यो भने मंगलबार १९.७० अंकले बढ्यो। बुधबार पनि नेप्से ७४.७३ अंकले घट्यो। साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार सामान्य अंकले बढेर बजार बन्द भयो। 

बिहीबार ५.८२ अंकले बढेर नेप्से २७८२.१८ पुग्यो। नेप्सेको यो अंक त फागुनको २५ भन्दा अघिको अवस्था हो, जुन बेला चुनाव हुने कि नहुने भन्ने शंका र चुनाव भए कस्तो सरकार आउला भन्ने अवस्थाले गर्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ भन्ने अवस्थामा थिए।  

सातामा तीन दिन सेयर घट्दा १९३.४९ अंकले घट्यो भने दुई दिन बढ्दा २५.५२ अंकले मात्रै बढ्यो भने १६७.९७ अंकले नेप्से घट्न पुग्यो। यस सातामा आइतबार उच्च विन्दु २९५८.७९ र बिहीबार न्यून विन्दु २७४०.२२ अंकसम्म घटेर सेयर कारोबार भएको थियो। 

यस साता, आइतबार सबैभन्दा बढी ३ सय ५० वटा र मंगलबार सबैभन्दा घटी ३ सय ४० स्क्रिप्टको कारोबार भयो। बिहीबार ३ सय ४२ वटा स्क्रिप्टको कारोबार भएर सेयर बजार बन्द भयो।  

यस साता सबैभन्दा कम बिहीबार ८ अर्ब ९१ करोड ९७ लाख र सबैभन्दा बढी आइतबार १५ अर्ब ३ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरिजम्मा ६० अर्ब ५ करोड ३ लाखको कारोबार हुँदा औसतमा दैनिक १२ अर्ब १ करोड ३ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। 

अघिल्लो साता औसतमा १६ अर्ब ४९ करोड ५१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग २७ प्रतिशतले घटेको देखाउँछ। 

नेप्सेको कुल बजार पुँजीकरण बिहीबार ४७ खर्ब ३० अर्ब २ करोड रुपैयाँमा आएको छ। गत साताको बजार पुँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ थियो। साताभर नेप्से १६७.९७ अंकले घट्दा कुल बजार पुँजीकरण २ खर्ब ७९ अर्ब ३६ करोड रुपैयाँले घटेको छ।   

यो सातामा आइतबार ४ वटा, सोमबार ४, मंगलबार ५, बुधबार २ र बिहीबार ३ कम्पनीको सेयर १० प्रतिशतले बढ्यो। रिलायन्स स्पिनिङ मिल्स ५ दिन, रिज लाइन इनर्जी ५, सुपर खुदी हाइड्रोपावर ३, सूर्य कुण्ड हाइड्रोपावर, भुजुङ हाइड्रोपावर होटेल इन फरेट २÷२ दिन सर्किट लेभलमा कारोबार भए। बिहीबारसम्ममा रिलायन्सको प्रतिकित्ता ३२४१.९० रुपैयाँ, सुपर खुदीको ५८४.५०, सूर्य कुण्डको ४५७.६०, भुजुङ्को ७०० र होटल फरेस्टको ४२३.१० रुपैयाँ पुगेको छ। 

रिज लाइनको बुक बिल्डिङ बिधीमार्फत आईपीओ निष्कासन गर्दा चैत १५ गते प्रतिकित्ता सेयर ३ सय रुपैयाँबाट कारोबार सुरु भएकोमा बिहीबारसम्मको कारोबारमा ४८३.१० रुपैयाँ पुगेको छ। यस साता कारोबारमा आएका १३ उपसमूह सबै घटे। त्यसैगरी,  सेन्सेटिभ इन्डेक्स ५.९० प्रतिशत, फ्लोट इन्डेक्स ६.११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.८९ प्रतिशतले घट्यो।  

युनाइटेड अजोडको हकप्रद बिक्री चैत २६ गतेदेखि 
युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला चैत २६ गतेदेखि गर्ने भएको छ। इन्स्योरेन्सले कायम चुक्ता पुँजीको १० प्रतिशत सेयरको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले २३ लाख १० हजार कित्ता सेयर प्रतिकित्ताको १०० रुपैयाँका दरले निष्कासन गर्न लागेको हो। 

कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ। फागुन १४ सम्म कायम सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्। यो हकप्रद सेयरमा २०८३ वैशाख १६ सम्म आवेदन दिन सकिनेछ।

मार्जिन कारोबारका लागि १२३ कम्पनी सूचीकृत नेप्सेले मार्जिन कारोबारका लागि १ सय २३ कम्पनी सूचीकृत गरेको छ। 
सुचीकृत हुनेमा वाणिज्य बैंक १९ वटा, विकास बैंक ११, फाइनान्स कम्पनी ११, लघुवित्त वित्तीय संस्था १७, जीवन बिमा कम्पनी १२, निर्र्जीवन बिमा कम्पनी ११ वटा रहेका छन्। 

त्यसैगरी, जलविद्युत् कम्पनी २८ वटा, लगानी समूहका ६, होटेलका ३, उत्पादन तथा प्रशोधनका २, अन्यका २ र व्यापार समूहको १ कम्पनी रहेका छन्। मार्जिन कारोबार २०८३ वैशाख २ गते बुधबारबाट हुने जनाइएको छ। 

बजार घटेपछि अर्थमन्त्री छलफलमा 

चैत १३ गते सरकार गठनपछिको सेयर बजारमा भारी गिरावट आएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफल सुरु गरेका छन्। मन्त्री वाग्लेले चैत १९ गते अर्थ सचिव, सम्बन्धित महाशाखा प्रमुख, धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृतसँग  छलफलमा गरेका हुन्। 

त्यस अवसरमा उनले बजार विकासमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याए। मार्जिन कारोबार सुुरु भएपछि यसले बजारमा तरलता बढाउने र बजारलाई चलायमान बनाउनेमा मन्त्री विश्वस्त देखिए। मन्त्री वाग्लेले अबका दिनमा सरकारले लगानीकर्ताको हकहितमा काम गर्ने स्मरण गराए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.