स्थिर सरकार बन्ने पक्कासँगै सेयर बजार उकालो यात्रामा
काठमाडौं : चैतको पहिलो सातासेयर बजार उकालो यात्रामै रह्यो। यस सातामा ४ दिन सेयर कारोबार भएकामा ३ दिन सेयर बढ्यो भने १ दिन घट्यो। काठमाडौं उपत्यमा बिदाका कारण बुधबार सेयर कारोबार भएन।
अघिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २८२०.४४ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन आइतबार ४.४५ ले बढेर २८२४.९० विन्दुमा पुग्यो। भोलिपल्ट सोमबार नेप्से २६.०७ घटे पनि मंगलबार १३.५१ बढ्यो। साताको सेयर कारोबारको अन्तिम दिन बिहीबार त बजारमा उछाल नै आयो। यस दिन ६४.६९ ले बढेर नेप्से २८७७.०३ पुग्यो।
निर्वाचन पछिको पहिलो कारोबारको दिन अघिल्लो सोमबारको २८७५.५३ भन्दा पनि उँभो लाग्यो। सातामा तीन दिन सेयर बढ्दा ८२.६५ अंकले बढ्यो र एक दिन २६.०७ अंकले घट्दा ५६.५८ अंकले बढोत्तरी नै हुन पुग्यो। यस सातामा मंगलबार न्यून विन्दु २७८७.३७ र बिहीबार उच्च विन्दु २८८२.८६ अंकसम्ममा पुगेर सेयर कारोबार भएको थियो।
यस साता आइतबार सबैभन्दा बढी ३ सय ५०वटा र मंगलबार सबैभन्दा घटी ३ सय ४० स्क्रिप्टको कारोबार भयो। बिहीबार ३ सय ४२ वटा स्क्रिप्टको कारोबार भएर सेयर बजार बन्द भयो। यस साता सबैभन्दा कम सोमबार ११ अर्ब ९७ करोड ४६ लाख र सबैभन्दा बढी बिहीबार २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरि जम्मा ५९ अर्ब ५६ करोड २० लाखको कारोबार हुँदा औसतमा दैनिक १४ अर्ब ८९ करोड ५ लाख रुपैयाँको सेयर किनबेच भयो। अघिल्लो साता औसतमा १२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार बढेको देखाउँछ।
नेप्सेको कुल बजार पुँजीकरण बिहीबार ४८ खर्ब ७६ अर्ब १९ करोड रुपैयाँ पुग्यो। गत साताको बजार पुँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँ थियो। यसले साताभर नेप्से ५६.५८अंकले बढ्दा कुल बजार पुँजीकरण १ खर्ब ३१ अर्ब ४६ करोड रुपैयाँले बढोतरी भएको छ।
यस साताभरि नै विशेषगरी साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य बढ्यो। यस साताको अन्तिम दिन साल्पाको प्रतिकित्ता १३ सय ८८ रुपैयाँ ५० पैसा र रिलायन्सको १२ सय ५० रुपैयाँ १० पैसा पुगेको छ। यी दुवै कम्पनीको बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्दा फागुन ४ गते दुवैको प्रतिकित्ता सेयर ३ सय रुपैयाँबाट कारोबार सुरु भएको थियो।
त्यसैगरी सोलु हाइड्रोपावरको पनि बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्दा चैत १ गते प्रतिकित्ता सेयर ३ सय रुपैयाँबट सुरु भएकोमा बिहीबारसम्मको कारोबारमा ४ सय ३९ रुपैयाँ २० पैसा पुगेको छ। यस साता कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटाको बढ्यो भने म्युचुअल फण्डको मात्रै ०.२८ प्रतिशतले घट्यो। यस साता सेन्सेटिभ इन्डेक्स १.६२ प्रतिशत, फ्लोट इन्डेक्स १.९७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७७
प्रतिशतले बढ्यो।
भुजुङ हाइड्रोपावरको सेयर कारोबार चैत ८ देखि
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भुजुङ हाइड्रोपावरको सेयर चैत ५ गते सूचीकृत भएको छ । यस दिन कम्पनीको १ करोड कित्ता सेयर सूचीकृत भएको हो । सूचीकृत भएको सेयरमा सर्वसाधारण सेयरधनीको २० लाख कित्ता र कम्पनीको संस्थापक सेयरधनीको ८० लाख कित्ता रहेको छ।
नेप्सेले भुजुङ कम्पनीलाई ९० रुपैयाँ ४ पैसादेखि २ सय ७० रुपैयाँ १२ पैसासम्मको ओपनिङ रेन्ज प्रदान गरेको छ । सोही रेन्जका आधारमा चैत ८ गते आइतबारदेखि कारोबारमा आउने छ।
शिखर पावरको आईपीओ बाँडफाँट
शिखर पावर डेभलपमेन्टको आईपीओ चैत ३ गते बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले गरेको बाँडफाँटमा १ लाख ८४ हजार २ सय ६० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीको आईपीओमा २६ लाख ८७ हजार ३ सय ४७ जनाले २ करोड ८८ लाख १६ हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका थिए। फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ बिक्री गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ४२ हजार ६ सय कित्ता आईपीओ जारी गरेको थियो।
सानिगाड हाइड्रोको आईपीओ चैत ८ देखि
सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गते आइतबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीको २८ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो। उक्त निष्कासन गरिएको आईपीओ बन्द छिटोमा चैत २२ गते हुनेछ भने ढिलोमा वैशाख ७ गते हुनेछ।
त्यसैगरी, ५ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ७० हजार कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। यो आईपीओ छिटोमा चैत ११ गते र ढिलामा चैत २२ गते बन्द हुनेछ। यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
स्नो रिभर्सको चैत ९ देखि आईपीओ बिक्री
स्नो रिभर्स लिमिटेडले चैत ९ गते सोमबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीको ९ करोड ३७ लाख ५० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ९ लाख ३७ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो। यसका लागि आईपीओ बन्द छिटोमा चैत २३ गते र ढिलोमा २०८३ वैशाख ८ गते हुनेछ।
कम्पनीको ९३ लाख ७५ हजार रुपैयाँबराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार ७ सय ५० कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। यसका लागि आईपीओ बन्द छिटोमा चैत १२ गत ढिलोमा चैत २३ सम्म हुनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड हो।
सानिमा जीआईसी इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर
सानिमा जिआइसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि सेयरधनीले पाउनेछन्।
चैत ९ देखि आईपीओ बिक्री गर्दै सोपान फर्मास्युटिकल्स
सोपान फर्मास्युटिकल्स लिमिटेडले चैत ९ गते सोमबारदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीको ४ करोड २९ लाख रुपैयाँबराबरको ४ लाख २९ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओमा बन्द छिटोमा चैत १२ र ढिला चैत २३ गते हुनेछ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड हो।
‘गरिमा सुवर्ण योजना’ को आवेदन दिने म्याद थप
गरिमा क्यापिटल लिमिटेडले फागुन २८ देखि निष्कासनमा ल्याएको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को आवेदन दिने म्याद थप गरेको छ। क्यापिटलले आवेदन दिने अवधि चैत १२ सम्म थप गरेको हो।
क्यापिटलले ५० करोड रुपैयाँबराबरको ५ करोड एकाइ बिक्रीमा ल्याएको हो। उक्त योजनामा न्यूनतम १०० एकाइका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा ५० लाख एकाइसम्म आवेदन दिन पाइने छ। यो योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड हो।
कालंगा हाइड्रोको चैत १० मा आईपीओ
कालंगा हाइड्रो लिमिटेडले चैत १० गते मंगलबारदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीको १४ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो। यो आईपीओ निष्कासन बन्द छिटोमा चैत २४ हुनेछ भने ढिलोमा २०८३ वैशाख ९ गते हुनेछ।
त्यसैगरी, ३ करोड ५० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो। यो आईपीओ निस्कासन बन्द छिटोमा चैत १५ गते र ढिलामा चैत २४ गते हुनेछ। उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।
प्रतिक्रिया दिनुहोस !