निर्वाचनपछि लगानीकर्ता उत्साहित, सेयर बजारमा उतारचढाव

निर्वाचनपछि लगानीकर्ता उत्साहित, सेयर बजारमा उतारचढाव

काठमाडौं : फागुनको अन्तिम साता सेयर बजारमा उतारचढाव रह्यो। प्रतिनिधिसभा चुनावको परिणामसँगै उच्च अंकले बढेको सेयर भोलिपल्टदेखि नै घट्न थाल्यो। 

अन्तिम कारोबारको दिन बिहीबार भने बढेर बजार बन्द भयो। यो साता ४ दिन सेयर कारोबार भयो। २ दिन सेयर बढ्यो भने २ दिन घट्यो। अघिल्लो साता कारोबारको अन्तिम दिन बिहीबार २७१२.४९ अंकमा बन्द भएको नेप्से यो साता २८२०.४४ विन्दुमा पुगेर बन्द भयो।

निर्वाचनपछिको पहिलो कारोबारको दिन सोमबार एकैदिन १६२.९३ अंकले बढ्यो। नेप्से २८७५.५३ पुग्यो। यस दिन ३ सर्किट ब्रेक लागेको थियो। लगानीकर्ता उत्साहित भएको देखियो। नेप्से ३ हजार विन्दु छिट्टै पुग्ने आँकलन गरिएको थियो तर त्यो टिक्न सकेन। सेयर बजार ओरालो यात्रामा लाग्यो। 

मंगलबार ३२.०६ र बुधबार४६.७८ अंकले घटेर नेप्से २७९६.५७ विन्दुमा झ¥यो। साताको अन्तिम कारोबारको दिन बिहीबार २३.८७ विन्दुले बढेर नेप्से २८२०.५५ विन्दुमा पुगेर बन्द भएको छ। सातामा दुई दिन सेयर बढ्दा १८६.८० अंकले बढ्यो र दुई दिनमा ७८.८४ अंकले घट्दा १०७.९६ अंकले बढोत्तरी नै हुन पुग्यो। 

यो साता मंगलबार उच्च विन्दु २९११.३६ अंकसम्म पुगेर सेयर कारोबार भएको थियो। यो साता सोमबार सर्किट ब्रेकका कारण २ सय ६१ स्क्रिप्टको मात्रै कारोबार भयो भने कारोबारको अन्तिम दिन बिहीबार सबैभन्दा बढी ३ सय ३५ स्क्रिप्टको कारोबार भयो। यो साता सोमबार उच्च अंकले नेप्से बढे पनि कारोबार भने निकै कम भयो। यस दिन ५५ करोड ५९ लाख रुपैयाँको मात्रै कारोबार भयो। 

सातामा सबैभन्दा बढी मंगलबार २१ अर्ब ५० करोड २० लाख रुपैयाँको कारोबार भयो। सातामा जम्मा ४९ अर्ब ७९ करोडको कारोबार हुँदा औसतमा दैनिक १२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच भयो। 

अघिल्लो साता दैनिक औसत ५ अर्ब ९४ करोड १३ लाख रुपैयाँको खरिदबिक्री भएको थियो। यसरी हेर्दा सातामा औसत सेयर कारोबार दोब्बरभन्दा पनि बढी भएको देखिन्छ। नेप्सेको कुल बजार पुँजीकरण सोमबार ४८ खर्ब ३७ अर्ब २३ करोड रुपैयाँ पुगेको थियो भने बिहीबार ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँमा सीमित भयो। गत साताको बजार पुँजीकरण भने ४५ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ थियो। 

साताभर नेप्से १०७.९६ ले बढ्दा कुल बजार पुँजीकरण १ खर्ब ८१ अर्ब ६० करोड रुपैयाँले बढोतरी भएको छ। साताभरि नै साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य उच्च अंकले बढ्यो। साताको अन्तिम दिन साल्पाको प्रतिकित्ता ९ सय ४८ रुपैयाँ ६० पैसा र रिलायन्सको ८ सय ९३ रुपैयाँ ३० पैसा पुगेको छ। यी दुवै कम्पनीको बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्दा फागुन ४ गते दुवैको प्रतिकित्ता सेयर ३ सय रुपैयाँबाट कारोबार सुरु भएको थियो। 

सातामा कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ। बैंकिङ उपसमूहको परिसूचक सबैभन्दा बढी ५.७३ प्रतिशत अर्थात् ८०.३९ अंक बढ्यो भने अन्य उपसमूहको परिसूचक सबैभन्दा कम १.३९ प्रतिशत मात्रै बढ्यो।

बेनी हाइड्रोपावरको आईपीओ निष्कासन चैत १ देखि
बेनी हाइड्रोपावर प्रोजेक्ट कम्पनीले चैत १ गते (आज) देखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि हो।

कम्पनीले १० करोड ४० लाखको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो। यी आईपीओ सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–२, ३ र ४ र सोलु दूधकुण्ड नगरपालिका–५, ६, ७ र ११ र अन्य क्षेत्रहरूका स्थायी बासिन्दालाई बाँडफाँट गरिने जनाइएको छ।

त्यसैगरी, १ करोड ५ लाखको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४ हजार कित्ता आईपीओ श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि बाँडफाट हुनेछ।

कम्पनीको जारी पुँजी १ अर्ब ४ करोडको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको थियो।
यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यो आईपीओको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा चैत १५ गते हुनेछ।, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन बन्द छिटोमा चैत ५ गते हुनेछ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल हो।

पाल्पा सिमेन्टको भयो आईपीओ बाँडफाँट
पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट फागुन २९ गते भएको छ। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले पाल्पा सिमेन्टको आईपीओ 
बाँडफाँट गरेको हो। कम्पनीले गत फागुन १२ देखि १५ सम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गरेको थियो। 

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४५ लाख कित्ता निष्कासन गरिएकोमा २४ लाख १३ हजार ५ सय १७ जनाले २ करोड ६३ लाख १० हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका थिए। यसमध्ये २३ लाख ७६ हजार ७ सय ५ आवेदन स्वीकृत भए। गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएकोमा ४ लाख ५० हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरे।

गरिमा क्यापिटलकोे ‘गरिमा सुवर्ण योजना’ आवेदन चैत २ सम्म गरिमा क्यापिटल लिमिटेडको दोस्रो म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ को आवेदन चैत २ सम्म दिन सकिने छ। यो योजना फागुन २८ देखि खुलेको हो।

यो योजना कुल १ अर्ब रुपैयाँबराबरको छ। यस योजनामा क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँबराबरको ५ करोड एकाइ बिक्रीमा ल्याएको हो। यसमध्ये ३ करोड ५० लाख एकाइ सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको छ। बाँकी १ करोड ५० लाख एकाइ कोष प्रवर्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटलका लागि सुरक्षित गरिएको छ।

यस योजनाको प्रतिएकाइ १० रुपैयाँ अंकित मूल्य रहेको यस योजनामा लगानीकर्ताले न्यूनतम १०० एकाइदेखि अधिकतम ५० लाख एकाइसम्म आवेदन दिन सक्नेछन्।

क्यापिटलका अनुसार योजनामा चैत २ सम्म पर्याप्त आवेदन नपरेमा चैत १२ सम्म म्याद थप हुनेछ। सोपान फर्मास्युटिकल्सको चैत ९ देखि आईपीओ निष्कासन सोपान फर्मास्युटिकल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन चैत ९ देखि गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्ने भएको हो। कम्पनीको ४ करोड २९ लाख रुपैयाँको ४ लाख २९ हजार कित्ता सेयर निष्कासन गरिने जनाइएको छ।

कम्पनीलाई जारी पुँजी १ अर्ब ७१ करोड ६० लाखको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति छ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिने जनाइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत १२ सम्म आवेदन दिन सक्ने आईपीओको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.