संरक्षणको पर्खाइमा सुनखानी साखाल्पु विन्ध्यवासिनी पोखरी
दोलखा : दोलखाको कालिञ्चोक गाउपालिका–८ मा रहेको विन्ध्यवासिनी पोखरी निर्माणको पर्खाइमा रहेको छ। धार्मिक,सांस्कृतिक महत्व रहेको साखल्पुको विन्ध्यवासिनी पोखरीकोबीचका भागहरू चिरा चिरा परेका छन्।
५ दशक अगाडिसम्म साखाल्पुका पूर्वमुखिया लालबहादुर र सान्नानी लालबहादुर शिवाकोटीलगायतले पोखरीको संरक्षण गर्दै आएका थिए। २० भन्दा बढी घर धुरीका मानिसहरूले पिउनेपानी र २० मुरीभन्दा बढी धानको बिउ जाने खेतलाई सिँचाइ सुविधा पुर्याउन सकिने पोखरी संरक्षणको अभावमा पानी चुहेर पानीको अभाव हुन लागेको स्थानीय दिलकृष्ण आचार्यले बताए। खेतहरूको बीचमा ठूलो पोखरी हुनु र देवी देवताको बासस्थान पनि रहेको हुँदा धार्मिक रूपमा पनि महत्वपूर्ण रहेको विन्ध्यवासिनी पोखरीकोबीचमा सेतीनाग,देवीथान,महादेव,पार्वतीको बासस्थान रहेको किंवदन्ती छ। पोखरीको बीचमा ढुंगेधारा पनि निर्माण गरिएको छ।
धेरै वर्षअगाडि पोखरी भएको स्थानमा खेतीपातीको काम गर्दा धेरै चोटपटक लाग्ने र हतियारहरू भाँचिने,मुहानमा भइरहेको पानी धान रोप्नेबेला सुक्नेजस्ता समस्या आउन लागेपछि उक्त ठाउँमा धान बाली लगाउन छाडेर पोखरीभन्दा अलि दायाँबायाँ मात्र धान बाली लगाउने गरिएको थियो। त्यति गर्दा पनि पानीको अभाब हुने,आकाशको पानी जम्मा गरेर राखेर खेत रोपाइँ गर्न खोज्दा पोखरीमा भएको पानी सबै नागले सोसेर खाएको दृश्य देखेपछि पुर्खालेहरूले विन्ध्यवासिनी माताको शिला स्थापना गरेर पोखरीको बीचमा मठ बनाई राखिएको किंवदन्ती छ।
- धार्मिक, सांस्कृतिक महत्व रहेकोे साखल्पुको विन्ध्यवासिनी पोखरीको बीचका भागहरू चिरा चिरा परेका छन्।
- २० भन्दा बढी घर धुरीका मानिसहरूले पिउने पानी र २० मुरीभन्दा बढी धानको बिउ जाने खेतलाई सिँचाइ सुविधा पुर्याउन सकिने पोखरी संरक्षणको अभावमा पानीको समस्या भएको छ।
केही समयअघि पूर्वज श्रीकृष्णका अनुसार साखाल्पु बेंसीमा कालो मास नरोप्ने,चिउराको खाजा नखाने,रोपाइँमा पञ्चेबाजा नबजाउने मुहान आसपासमा हल गोरुले नजोत्ने सफा राख्ने गरेपछि पोखरीभित्र पानी उम्रने मुहान नसुक्ने गरेको दिलकृष्ण आचार्यको भनाइ छ।धार्मिक महत्व बोकेको विन्ध्यवासिनी पोखरी सरोकारवलाहरूको सहभागितामा २०४९ सालमा विन्ध्यवासिनीको नाममा नापी नक्सा गरिएको छ। २०५३ श्रावण ११ को बाढीपहिरोले पोखरीको धारो पुरिएर अवषेश मात्र बाँकी रहेको थियो।
त्यसपछि तत्कालीन जिल्ला विकास समितिबाट २० हजार, गाउँपालिकाबाट २० हजार डीएफडीपी नामक सस्थाबाट १ लाख ६० हजार गरी २ लाख रुपैयाँ बजेट स्वीकृत गराई निर्माण कार्य गरिएको तत्कालीन सुरी, खारे र गौरीशंकर गाविसका सचिव साखल्पु निवासी दिलकृष्ण आचार्यले बताए। तत्कालीन समयमा धार्मिक विश्वास रहेको पोखरी निर्माणमा माओवादी समूहले पूर्णरूपले प्रतिबन्ध लगाएका थिए। तर, गाउँलेहरूको सक्रियतामा रातारात लाल्टिन, पुल्टो राँको र टर्चलाइट बाल्दै २०६२ असार १५ गते पोखरी निर्माण कार्य सम्पन्न भएको थियो। तर, २०७२ सालको महाभूकम्पले भने पोखरी चिरा चिरा भएको आचार्यले बताए।
पोखरीलाई यसको स्वरूपमा कमी नआउने गरी फलामको रड राखी भुइँ ढलान ,तारबार,बीचमा विन्ध्यवासिनी मठ र दुवैतर्फ अनावश्यक समयमा पानीको निकासी र पूर्ति हुनेगरी बाटो तयारी गर्ने र पोखरीबाट साखल्पु बेंसीमा हिउँदे तरकारी र अन्नबाली उत्पादनका लागि सिँचाइ पुग्ने हिसाबले पोखरी संरक्षण गर्नु जरुरी रहेको आचार्यको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !