नेता नपुगेको बेदिङमा मतदान बहिष्कार

नेता नपुगेको बेदिङमा मतदान बहिष्कार
सुन्नुहोस्

दोलखा : प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त रहे र फागुन २१ गते निर्वाचन भयो। गाउँ–सहरमा मतदातालाई भेट्दै समर्थन माग्ने क्रम चलिरहँदा दोलखाको हिमाली दुर्गम बस्ती बेदिङ भने यसपटक पनि नेताहरूको पाइला नपुगेको गाउँकै रूपमा रह्यो। 

उम्मेदवारहरू मत माग्न गाउँसम्म नआएको भन्दै स्थानीयले मतदान नै बहिष्कार गरेका हुन्। गौरीशंकर गाउँपालिका–९ मा पर्ने बेदिङ गाउँमा १ सय ३३ जना मतदाता रहेका छन्। तर मतदान केन्द्रमा स्थानीयहरू मतदान गर्न नआएपछि प्रत्यक्षतर्फ एक मत पनि खस्न सकेन।

स्थानीयहरूले लामो समयदेखि उठाउँदै आएका आधारभूत मागप्रति राज्य र राजनीतिक दलहरूले चासो नदिएको भन्दै सामूहिक रूपमा मतदान बहिष्कार गर्ने निर्णय गरेका थिए। बेदिङजस्तो दुर्गम गाउँमा अहिलेसम्म भएका कुनै पनि निर्वाचनमा उम्मेदवारहरू मत माग्न आएका छैनन्। ‘हामी दुर्गममा बस्यौं भन्दैमा हाम्रा समस्या समस्या नै होइनन् भन्ने जस्तो व्यवहार भइरहेको छ,’ स्थानीय दावाछिरी शेर्पाले भने ‘चुनाव आउँछ, नेताहरू जितेर जान्छन्, तर यहाँको अवस्था उस्तै छ। हामीले उठाएका मागहरू वर्षौंदेखि सुनुवाइ नभएपछि यसपटक मत नदिने निर्णय गरेका हौ, उनले थपे।

बेदिङका स्थानीयले वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवा सुविधाका लागि आवाज उठाउँदै आएका छन्। गाउँमा सडक पुर्‍याउने, भरपर्दो सञ्चार सेवा विस्तार गर्ने, स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने र चीनसँग जोडिने लप्ची नाका खोल्न पहल गर्नुपर्ने माग उनीहरूले पटक–पटक उठाउँदै आएका छन्। तर ती मागहरू अझैसम्म सम्बोधन नभएको स्थानीयहरूको गुनासो छ।

स्थानीयका अनुसार बिरामी पर्दा गाउँबाट बाहिर ल्याउन अत्यन्तै कठिन हुने भएकाले बेदिङमा हेलिकोप्टर सहज रूपमा अवतरण गर्न सक्ने व्यवस्था हुनुपर्ने माग पनि उनीहरूले लामो समयदेखि गर्दै आएका छन्। अहिले बिरामी गम्भीर भएमा दिनौँ लगाएर हिँडेर मात्रै बाहिर लैजानुपर्ने अवस्था रहेको उनीहरू बताउँछन्।

यसपटकको निर्वाचनमा पनि कुनै उम्मेदवार गाउँसम्म नआएको तर आ–आफ्नो पार्टीमा एकछापे मत हालेर पठाउन नेताहरूले खबर पठाएको स्थानीय ङावा तेन्जिङ शेर्पाले बताए। उनका अनुसार नेताहरू गाउँमा नआएर सन्देशमार्फत मात्रै मत मागेपछि स्थानीयहरू झनै असन्तुष्ट बने।‘हाम्रा समस्या कहिल्यै सुनेनन्, हामीलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘चुनावका बेला मात्रै हामीलाई सम्झिन्छन्, तर हाम्रो दुःख बुझ्न यहाँसम्म आउँदैनन्। अब हाम्रा मागको सुनुवाइ हुँदैन भने हामी पनि निर्वाचनमा नेता जिताएर पठाउँदैनौं।’

स्थानीयहरूका अनुसार दुर्गम भौगोलिक अवस्थाका कारण बेदिङ पुग्न कठिन भए पनि नेताहरूले चाहेको भए त्यहाँ पुग्न असम्भव थिएन। तर निर्वाचनमा भोट मात्रै आवश्यक ठानेर गाउँको वास्तविकता बुझ्न कसैले चासो नदेखाएको उनीहरूको दुखेसो छ। 

स्थानीयलाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरिए पनि प्रत्यक्षतर्फ मतदान हुन सकेन। ‘हामीले मतदान गर्नुस् भनेर पहल गर्‍यौं, तर स्थानीय कोही पनि मतदान गर्न आएनन्,’ मतदान अधिकृत कृष्णप्रसाद दाहालले भने, ‘समानुपातिकतर्फ भने मतदान केन्द्रमा रहेका कर्मचारीहरूबाट ५ मत खस्योे, प्रत्यक्षतर्फ भने मत खसेन, उनले बताए।

हिमाली भेगमा पर्ने बेदिङ भौगोलिक रूपमा अत्यन्तै दुर्गम क्षेत्र हो। यातायात, सञ्चार र स्वास्थ्य सेवाको अभाव यहाँका बासिन्दाले वर्षौंदेखि भोग्दै आएका छन्। गाउँसम्म नियमित सडक नपुगेको, मोबाइल नेटवर्क भरपर्दो नभएको र स्वास्थ्य सेवा अत्यन्तै सीमित भएकाले सामान्य बिरामी हुँदा पनि ठूलो समस्या झेल्नुपर्ने अवस्था रहेको स्थानीयहरूको भनाइ छ।

आधारभूत समस्याका बारेमा पटक–पटक सरोकारवालालाई जानकारी गराइए पनि ठोस पहल हुन सकेको छैन। यही उपेक्षाका कारण बेदिङजस्ता दुर्गम बस्तीहरू राजनीतिक दल र उम्मेदवारहरूको प्राथमिकतामा कहिल्यै पर्न नसकेको उनीहरूको भनाइ छ। 

निर्वाचन लोकतन्त्रको उत्सव भनिए पनि बेदिङका स्थानीयका लागि भने त्यो उत्सवभन्दा बढी उपेक्षाको अनुभूति बनेको देखिन्छ। वर्षौंदेखि उठाइएका आधारभूत मागको सुनुवाइ नभएको भन्दै उनीहरूले यसपटक मतदान बहिष्कार गरेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.