शक्ति बस्नेतलाई कांग्रेस–एमालेको टक्कर
जाजरकोट: जाजरकोटबाट लगातार ३ पटक चुनाव जितेर ह्याट्रिक गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता शक्तिबहादुर बस्नेतलाई आफ्नो विगतको विरासत जोगाउन हम्मेहम्मे पर्ने देखिन्छ। बस्नेतलाई कांग्रेस र एमालेका उम्मेदवारले कडा टक्कर दिइरहेका छन्।
२०७० सालदेखि लगातार ३ पटक विजयी बस्नेत पटक–पटक मन्त्री पनि भएको तर जनअपेक्षाअनुसार काम नगरेको विपक्षी आरोप छ। चुनावी अभियानमा रहेका बस्नेत विपक्षीसँगै मतदाताको प्रश्नले घेरिएका छन्। उनीमाथि २०८० सालको जाजरकोट भूकम्पको पुनर्निर्माणमा देखाएको उदासीनतादेखि विगतको घोषणापत्र बेवास्ता गरेको आरोप लगाइएको छ।
केही दिनअघि नलगाडका स्थानीय युवा नरेन्द्र केसीले बस्नेतलाई प्रश्न गर्दा नेकपाका कार्यकर्ताबाट कुटाइ खाएका थिए। केसीका अनुसार अनुमति लिएर प्रश्न सोध्दै भिडियो बनाउन खोजेपछि नेकपाका कार्यकर्ताले मोबाइल खोसेर डिलिट गराउनुका साथै कुटपिटसमेत गरेका थिए।
त्यस्तै केही दिनअघि बारेकोट जिरीका स्थानीय युवाले प्रश्न गर्दै भिडियो बनाउन खोज्दा मोबाइल खोसेको भिडियो भाइरल भएको थियो। तर, नेकपाले भने रास्वापाका कार्यकर्ताले गलत मनशाय राखी अराजक खालका प्रश्न गरेपछि स्थानियले नै अवरोध गरेको जनाएको छ।
२०७० सालको संविधानसभाको निर्वाचनमा जाजरकोटका दुई क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा बस्नेत झिनो मतान्तरले विजयी भएका थिए। २ नम्बर क्षेत्रमा कांग्रेसका राजीवविक्रम शाह विजयी भएका थिए। संविधान जारी भएपछि जाजरकोट एउटा निर्वाचन क्षेत्रमा सीमित भयो। त्यसपछिको जीतमा भने गठबन्धनले फापेको थियो। २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग तत्कालीन माओवादी केन्द्रको गठबन्धन भएका कारण जित निकाल्न सहज भएको थियो भने २०७९ सालमा भएको निर्वाचनमा कांग्रेससँग गठबन्धन भएका कारण उनी विजयी भएका थिए।
जाजरकोटमा मुख्य तीन दलको प्रतिस्पर्धा हुने देखिएको छ। कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो। कांग्रेसबाट युवा नेता खड्कबहादुर बुढा मैदानमा उत्रिएका छन्। एमालेबाट डम्बरबहादुर सिंह उम्मेदवार छन्। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक मत परिणाम हेर्दा पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो तत्कालीन नेकपा माओवादी केन्द्र रहेको थियो।
नेकपा समाजवादीको मत संख्या जोड्दा पनि नेपाली कम्युनिस्ट पार्टी तेस्रो नै देखिन्छ। गत निर्वाचनमा नेपाली कांग्रेसले २२ हजार ९ सय ३४, एमालेले १९ हजार ७ सय ४९, तत्कालीन नेकपा माओवादी केन्द्रले १४ हजार ४ सय १२, एकीकृत समाजवादीले ७ सय ८६ र रास्वपाले ५ सय ९४ मत ल्याएका थिए। उक्त परिणाम हेर्दा पनि एक्लाएक्लै भिड्दा नेकपाका बस्नेतलाई जित निकाल्न निकै चुनौती देखिन्छ।
प्रचार–प्रसारका क्रममा कांग्रेस, एमाले र नेकपाका उम्मेदवारहरू घरदैलो र चुनावी सभामा
यसपालि कांग्रेसले जिल्ला उपसभापति रहेका युवा नेता बुढालाई टिकट दिएको, एमालेमा निरज आचार्यले टिकट नपाउँदा पार्टीमा असन्तुष्टि देखिएको र नेकपामा केन्द्रीय सदस्य तथा प्रदेशका पूर्वमन्त्री गणेशप्रसाद सिंहले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग नै गरेकाले त्यसको प्रत्यक्ष लाभ आफूलाई पुग्ने कांग्रेसको विश्वास छ।
नेकपाका संयोजक पुष्पकमल दाहालका विश्वासपात्र रहेका बस्नेत तत्कालीन माओवादी केन्द्रमा धेरैपटक मन्त्री हुनेको सूचीमा अगाडि छन्। जिल्लामा हेभिवेट भनिएका बस्नेत र कांग्रेसका युवा नेता खड्कबीच नै प्रतिस्पर्धा हुने आकलन गर्न थालिएको छ भने एमाले आफैंले जित निकाल्ने दाउमा छ।
यतिबेला जाजरकोटवासीले भूकम्पको पुनर्निर्माण समयमा हुन नसकेको, जिल्लाभित्र र अन्य जिल्ला जोड्ने सडकको अवस्था बेहाल भएको, नलगाड जलविद्युत् आयोजना अलपत्र परेको, मध्यपहाडी पुष्पलाल राजमार्गको मन्ताभिर र भेरी पुल लामो समयदेखि अलपत्र परेको, सञ्चारको जिल्लाभर विस्तार हुन नसकेकालगायतका असन्तुष्टि उम्मेदवार समक्ष प्रकट गर्न थालेका छन्।
करिब २० वर्षदेखि उही माग स्थानीयले राखिरहेका छन् भने उम्मेदवार आश्वासन बाँड्न छोडेका छैनन् भेरी नगरपालिका—२ का स्थानीय बिर्खबहादुर कार्कीले भने, ‘भूकम्पले घरबारविहीन भएकाहरू अहिले पनि टहरामै छन् तर पुनर्निर्माणका लागि खासै पहल गरेको नपाउँदा जनताको नेताप्रतिको भरोसा टुट्न थालेको छ। नेतामा उत्साह भए पनि जनतामा चुनावप्रति खासै उत्साह देखिँदैन। जितेर जान्छन् फर्केर आउँदैनन् भन्ने गुनासो छ।’
जिल्लामा सबै नेता तथा कार्यकर्ता एकजुट भएको र यसपटक युवा तथा नयाँ उम्मेदवारलाई नै भोट दिनुपर्छ भन्ने उत्साह जनतामा देखिएकाले कांग्रेसको जित निश्चित भएको जिल्ला पार्टी सभापति वेदराज सिंहले दाबी गरे।
एमालेको संगठन गाउँगाउँमा रहेको र एकपटक जिताउँदा पनि नेकपाका बस्नेतले काम गर्न नसकेको आम मतदातामा व्यापक गुनासो रहेकाले यसपालि एमालेका उम्मेदवार डम्बरबहादुर सिंहले नै जित्ने एमालेका जिल्ला उपाध्यक्ष विश्वविक्रम शाहले दाबी गरे। विपक्षीको आलोचना स्वभाविक भएको बताउँदै नेकपाका नेता टेकबहादुर रावलले भने विगतको सकारात्मक कामले बस्नेतलाई जित्न समस्या नरहेको जिकिर गरे।
प्रतिक्रिया दिनुहोस !