‘शिवलाई केवल धर्म वा संस्कृतिमात्र होइन, विज्ञानसमेत मान्ने गरिन्छ’

‘शिवलाई केवल धर्म वा संस्कृतिमात्र होइन, विज्ञानसमेत मान्ने गरिन्छ’
सुन्नुहोस्

काठमाडौं
शास्त्रले सारा ब्रह्माण्ड शिवकै स्वरूप मान्ने गरेको छ। शिवलाई शाश्वत सत्य र आदि अनि अन्त्य हुन् भन्छ। उनै महादेव भगवान् शिवको पूजाआजा र आराधना गर्ने दिन महाशिवरात्रि आइतबार मनाइँदैछ। फागुन कृष्ण त्रयोदशीमा मनाइने महाशिवरात्रि मूलतः राजधानीस्थित श्री पशुपतिनाथ र मुलुकभरका शिव मन्दिरहरूमा मनाइन्छ।

अगाध र अनन्त शिवतत्वबारे जगतगुरु बालसन्त मोहनशरण देवाचार्य भन्छन्, ‘जसले सारा प्राणीको कल्याण गर्नुहुन्छ, उहाँ नै शंकर हुनुहुन्छ। शिवको उपासना नै आत्मतत्वको बोध हो। उहाँ सृष्टिको आधार हुनुहुन्छ। उहाँ नै संहारको शक्ति हुनुहुन्छ।’ भगवान् शिव निर्गुण ब्रह्म हुन्। सृष्टिको बीज निराकार र अनन्त शिवमै निहित रहेको जनविश्वास पनि छ। प्रा. चेतोनाथ गौतम पनि भगवान् शिव निर्गुण, निराकार र अनिर्वचनीय परब्रह्म रहेको बताउँछन्। ‘शिव मन र वचनभन्दा पर छन्। तर, भक्तका सगुण उनी लिंग र मूर्तिमा प्रकट हुन्छन्,’ उनको भनाइ छ। शिवतत्वलाई कुनै इन्द्रियले भ्याउँदैन, केवल अनुभव गर्ने सत्ता हो भन्ने गरिएको छ। प्रा.डा. देवमणि भट्टराई यही कुरालाई पुष्टि गर्दै भन्छन्, ‘शिव मात्र एक परब्रह्म हुनुहुन्छ।’ वेदले शिवलाई मात्र दाता मान्छ। शिव शब्दले मंगल बुझाउँछ जो सर्वव्यापी छन्।

विभिन्न शास्त्रहरूले शिव केवल धर्म वा संस्कृतिमात्र होइन, विज्ञानसमेत मान्ने गरेको छ। आधुनिक भौतिकशास्त्र र शिवतत्व जोडिन्छन्। चैतन्य कृष्णका अनुसार नटराजको नाच क्वान्टम क्षेत्र सिद्धान्तसँग मिल्छ। उनको भनाइ छ, ‘शिव ऊर्जाका स्रोत हुन्। शिव नै परम चेतना हुन्। सृष्टिको नृत्य शिवमै छ। कण र तरंगको खेल शिवकै हो।’ वैज्ञानिक फृटजोफ काप्राले पनि यो स्वीकारेका छन्। शिव विज्ञान र अध्यात्मको संगम भएको साथै शिव पुराण र विज्ञान मिल्ने लेखक एवं अनुसन्धानकर्ता जीवनपानीको तर्क छ। ‘पुराणले विवेक प्रदान गर्छ। विज्ञानले बाहिरी खोज गर्छ,’ उनी भन्छन्, ‘पुराणले भित्री खोज सिकाउँछ। शिव पुराणले प्रक्रियाको व्याख्या गर्छ। यसले सृष्टिको रहस्य खोल्छ।’ भगवान् शिवबारे रचिएको शिवमहापुराणमा करिब २४ हजार श्लोक छन्। ती श्लोकले चेतनाको दीप बाल्छन्भन्दा अत्युक्ति नहोला।

फागुन कृष्ण चतुर्दशी अर्थात् शिवरात्रि महान् साधनाको रात हो। मुख्य गरेर ध्यानीका लागि यो जागरणको महाकुम्भ पनि हो। अज्ञानको अन्धकार मेट्ने पर्व हो। ‘भगवान् शिव आशुतोष हुनुहुन्छ। उहाँ भक्तका पीडा सहनुहुन्न। शिव भक्तको पीडा सहन सक्नुहुन्न,’ संस्कृतिविद् अच्युत पौडेल चिन्तन भन्छन्, ‘भोले शिव तुरुन्तै प्रसन्न हुनुहुन्छ। उहाँले भक्तलाई न्याय दिनुहुन्छ। उहाँले अभय दान गर्नुहुन्छ।’ प्राज्ञ विष्णु प्रभातका अनुसार शिवरात्रि पर्वले प्रकृति बुझाउँछ। ‘खस संस्कृतिमा मष्टो नै शिव हुन्। यो हाम्रो माटोको पहिचान हो। मातृपूजा र पितृपूजा यसैमा छ,’ उनी थप्छन्, ‘धर्तीको संरक्षण नै शिवको आराधना हो। शिवरात्रिमा धुनी जगाइन्छ। यो भित्री प्रकाशको प्रतीक हो।

ब्रह्माण्डमा १२ मुख्य ऊर्जा केन्द्र छन् अर्थात् १२ ज्योतिर्लिंग जुन दिव्य प्रकाश हुन्। नेपालभित्रै १२ ज्योतिर्लिंग छन् भनी शास्त्रीय आधारमा ठाउँ पत्ता लगाएका जगद्गुरु बालसन्तका अनुसार १२ ज्योतिर्लिंग मानव अस्तित्वका ऊर्जाकेन्द्र हुन्। सोमनाथदेखि विश्वनाथसम्म शिव व्याप्त छन्। केदारनाथदेखि रामेश्वरमसम्म शिव फैलिएका छन्। तर, यी सबैको शिर भने नेपालको राजधानी काठमाडौंमा अवस्थित श्री पशुपतिनाथ नै हुन्। नेपाल शिवको क्रीडाभूमि हो। शिव पुराणले नेपाललाई ‘पुण्य पुरी’ मान्छ। जगद्गुरु थप्छन्, ‘नेपाल आफैंमा एउटा सार्वभौम पुरी हो। यहाँका कण–कणमा महादेव हुनुहुन्छ। पशुपतिनाथ सबैका रक्षक हुन् जसले पशुत्वबाट मुक्त गर्नुहुन्छ। उहाँको दर्शनले मोक्ष मिल्छ। उहाँ नै विश्वको शिर हो।’

शिवमहापुराण मुक्तिको सोपान हो। यो पुराणले पाप नाश गर्ने जनविश्वास छ। जसले मानिसलाई सात्विक बनाउँछ। संस्कृतिविद् कुलप्रसाद पराजुली भन्छन्, ‘भक्ति र विवेकले मन समृद्ध बन्छ। पुराणको सन्देश परोपकार हो। यसले जीवन जिउने कला सिकाउँछ। यो ज्ञानको विशाल भण्डार हो।’ उनका अनुसार, शिवमहापुराणले तीन ताप समन गर्छ। यसले मानसिक शान्ति दिन्छ। यो पुराण सुन्नु मात्र पनि पुण्य हो। यसले कुसंस्कारबाट मुक्ति दिन्छ। यो पुराणले शिवलोकको बाटो देखाउँछ। यसले संकीर्णता तोडेर उदारताको पाठ सिकाउँछ।
शिव पूजाविधि अत्यन्त सरल छ। केवल जल र बेलपत्र पर्याप्त छ। तर भाव शुद्ध हुनुपर्छ। समर्पण नै पूजाको प्राण भएको बताउँदै प्रा. गौतम भन्छन्, ‘भिल्ल जीवात्माको प्रतीक हो। 

व्याधाको कथाले यही सिकाउँछ। उसले नजानिकनै पूजा गर्‍यो। उसले अन्जानमै जागरण गर्‍यो। तर उसको हृदयमा करुणा जाग्यो।’ उनका अनुसार शिवरात्रिमा चार प्रहरको पूजा हुन्छ। प्रत्येक प्रहरमा अभिषेक गरिन्छ। पञ्चामृतले शिवलाई नुहाइन्छ। उपवासले शरीर शुद्ध पार्छ। जागरणले मन एकाग्र बनाउँछ। शिवलाई ‘भाङ–धतुरो’ चढाउनुको अर्थलाई उनी व्याख्या गर्छन्, ‘जसले नराम्रा बानी त्याग्न सिकाउँछ। हामीले शिवलाई विकार सुम्पनुपर्छ। अनि मात्र हामी पवित्र बन्छौं।’

शिव र शक्ति एक हुन्। शिव चेतना र ऊर्जाको योग भएको जानकारी दिँदै प्रा.डा. वीणा पौडेल भन्छिन्, ‘अस्तित्वको आधार नै प्रेम हो। शिव र पार्वतीको प्रेम दिव्य छ। ‘उनका अनुसार पार्वतीले कठोर तपस्या गरिन्। उनले शिवलाई सत्य मानिन्। उनले स्वार्थहीन प्रेमको सिकाइ दिइन्। पार्वतीको त्याग नै उनको शक्ति हो। ‘अर्धनारीश्वर स्वरूपले समानता सिकाउँछ। पुरुष र प्रकृति अभिन्न छन्। दुवैको अस्तित्व एकअर्कामा निर्भर छ’, उनी थप्छिन्। आजको समाजमा यो दर्शन जरुरी छ। प्रेममा धैर्य र संयम हुनुपर्छ।

तन्त्र भनेको चेतनाको विस्तार भएको उल्लेख गर्दै डा. विष्णु दहाल भन्छन्, ‘शिवलाई जान्नु नै परमानन्द हो। तन्त्रका केन्द्र पशुपतिनाथ वेद र तन्त्रका संगम हुन्। उहाँ हिरण्यगर्भेश्वर हुनुहुन्छ।’ सर्वसाधारणलाई शिवमहिमा बुझ्न कठिन छ। उनका अनुसार, जबसम्म भक्त शिवको शरणमा पर्दैन, तबसम्म संसारको दुःखबाट मुक्ति मिल्दैन। ‘तन्त्रले ऊर्जालाई व्यवस्थित गर्छ। पञ्चाक्षर मन्त्र ‘ओम नमः शिवाय’ शक्तिशाली छ। यसले पञ्चतत्वलाई नियन्त्रण गर्छ’, दहाल थप्छन्, ‘यो मन्त्रले मनलाई शान्त पार्छ। शिवको भक्तिले जीवलाई शिव बनाउँछ। हामीभित्रै शिवतत्व लुकेको छ। साधनाले त्यसलाई उजागर गर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.