जाजरकोटमा महिला उम्मेदवार शून्य
जाजरकोट : हरेक राजनैतिक दलहरूले महिला सहभागिताको कुरा उठाउने गरे पनि चुनावमा टिकट दिने बेला भने पुरुषले नै लिने गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा जाजरकोटका प्रमुख राजनैतिक दलसहित ११ पार्टीले उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् तर सबै पुरुष मात्र । कुनै पनि राजनैतिक दलले महिला उम्मेदवार उठाएको पाइएन । जिल्लाबाट टिकट सिफारिस गर्दा महिलाको नाम पठाए पनि चुनाव लड्न पुरुष नै मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसबाट
खड्कबहादुर बुढा, नेकपा एमालेबाट डम्बरबहादुर सिंह र नेपाली कम्युनिस्ट पार्टीबाट शक्तिबहादुर बस्नेत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट राघव कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्णविक्रम शाह, नेकपा माओवादीबाट बलबहादुर मल्ल, नेपाल मजदुर किसान पार्टीबाट धनीराम जैसी, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर नेपाली, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट मेषबहादुर ओली र मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट कमान बुढा मगरले उम्मेदवारी दिएका छन् । ११ दलले उम्मेदवारी गराएकोमा सबै पुरुषमात्र रहेका छन् । नेपाली कांग्रेसबाट मैना कार्की रावल, नेपाली कम्युनिस्ट पार्टीबाट पार्वती थापा, नेकपा एमालेबाट कौशिलादेवी खत्रीको नाम सिफारिस भए पनि कसैले पनि टिकट पाउन सकेनन् ।
तीन दलको कडा टक्कर, शक्ति
बस्नेतलाई कांग्रेस र एमालेको चुनौती
जाजरकोटमा मुख्य तीन दलको प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी विच कडा प्रतिस्पर्धा हुने देखिएको हो । काँग्रेसबाट युवा नेता खड्कबहादुर बुढा मैदानमा उत्रिएका छन् । एमालेबाट डम्बरबहादुर सिंह र नेकपाबाट शक्तिबहादुर बस्नेत प्रतिस्पर्धामा उत्रिएका छन् ।
पूर्वमन्त्री बस्नेत २०७०, २०७४ र २०७९ सालको आम निर्वाचनमा लगातार विजयी हुँदै आएका छन् । २०७४ मा एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर चुनाव जितेका बस्नेतलाई यसपाली आफ्नो विरासत जोगाउन निकै चुनौती देखिएको छ ।
२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनको मत परिणाम हेर्दा पहिलो कांग्रेस, दोस्रो एमाले र तेस्रो तत्काल एकीकृत माओवादी केन्द्र रहेको थियो । नेकपा समाजवादीको मत संख्या जोड्दा पनि नेपाली कम्युनिस्ट पार्टी तेस्रो नै देखिन्छ ।
यसपाली कांग्रेसले उपसभापति रहेका युवा नेता बुढालाई टिकट दिएको, एमालेमा निरज आचार्यले टिकट नपाउँदा पार्टीमा असन्तुष्टि देखिएको र नेकपामा केन्द्रिय सदस्य तथा प्रदेशका पूर्वमन्त्री गणेश प्रसाद सिंहले टिकट वितरणमा असन्तुष्टि जनाउँदै पार्टी परित्याग नै गरेकाले त्यसको प्रत्यक्ष लाभ कांग्रेसले लिन सक्ने देखिएको छ ।
पटक–पटक अवसर पाउँदा पनि खासै काम गर्न नसकेको बस्नेत माथि आरोप छ । गृहमन्त्रीसम्म भइसकेका नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचन्डका विश्वास पात्रसमेत रहेका चतुर खेलाडी बस्नेत कसरी चुनाव जित्ने भनेर विभिन्न रणनिती बनाउन थालेका छन् । समाजवादीको साथ पाएका बस्नेतलाई कांग्रेस र एमालेका उम्मेदवारले कडा टक्कर दिइरहेका छन् । जाजरकोटमा चुनावी प्रतिस्पर्धा रोचक देखिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस !