शासकको स्वार्थ भर्सेस बौद्धिक प्रश्न
शासकले शोषित वर्गकै पात्रलाई उचालेर अर्को शोषित वर्गको पात्रबाट स्वार्थ पूर्ति गर्ने गर्छन्।
इटालियन चिन्तक एन्तोनियो ग्राम्सीका अनुसार शासक वर्गले बौद्धिकताको गुणस्तरभन्दा बढी वैचारिक प्रभुत्व (हेजेमोनी) कायम राख्न सक्ने व्यवहार खोज्छ। उसले उच्च बौद्धिक क्षमता भएका व्यक्तिलाई अगाडि बढाउँछ भन्ने हुँदैन। उसले आफ्नो प्रभुत्वलाई चुनौती दिन नसक्ने आफू अनुकूल पात्र खोज्छ। केहीगरी उच्च बौद्धिक क्षमता भएकालाई नै अगाडि राख्नुपरेमा शासकले उसलाई दबाउने संयन्त्र खोजिरहेको हुन्छ। किनभने, स्वाभिमानी बौद्धिक व्यक्तिले सधैं नेतृत्वको गल्तीका विरुद्ध प्रश्न गर्छ, आलोचना गर्छ र स्वतन्त्र चिन्तनको अपेक्षा राख्छ। यसकारण ऊ शासक संरचनाका लागि काउछो बन्छ।
हामीले बुझेका र देखेका कतिपय आदर्श भनिएका पात्र कमजोर हुन्छन्। अवसरबाट बिमुख हुन्छन् र अन्ततः दबिन्छन्। वास्तवमा तिनलाई प्रत्यक्ष दण्डबाट नभएर मूल्यांकन प्रक्रियाबाट बहिष्कृत गरिन्छ। समाजमा तिनको अस्तित्व कमजोर हुन्छ र शासकले एकलौटी राज गर्न पाउँछन्। शक्तिको चाकडी र औपचारिक सम्बोधनको राजनीतिमा सहभागी हुन अस्वीकार गर्नेहरू प्रायः अवमूल्यनको सिकार बन्छन्। यो अवमूल्यन आलस्य, अयोग्यता वा असफलताबाट जन्मिएको नभएर कर्मशील व्यक्तिको स्वाभिमान, प्रश्न गर्ने साहस र स्वतन्त्र चिन्तनको परिणाम हो। यदि कोही शिक्षक वा प्राध्यापक बौद्धिक रूपमा सक्षम छ भने पनि उसको श्रमको मूल्यांकन प्राज्ञिक आधारमा हुँदैन। यहाँ मूल्यांकनको मापदण्ड ज्ञान, अनुसन्धान वा शिक्षण योगदान होइन, उसको वैचारिक आज्ञापालनमा निहित बन्छ।
बौद्धिक पेसामा संलग्न व्यक्तिका लागि यो अवस्था झन् विडम्बनापूर्ण हुन्छ। बौद्धिक रूपमा सक्षम, अध्ययनशील र कर्मठ हुँदाहुँदै पनि उसले शक्तिको वरिपरि घुम्ने औपचारिक संस्कारलाई अस्वीकार गरेमा उसको श्रमको मूल्यांकन प्राज्ञिक आधारमा हुन दिइँदैन। वैचारिक आज्ञापालनको कसी नै उसको मूल्यांकनको मुख्य आधार बन्न पुग्छ। व्यक्तिको क्षमतालाई चुसेर मौन रूपमा बेवास्ता गर्ने शासकहरूका कारण क्षमतावान् मानिस पनि आफ्नो क्षमता प्रदर्शनप्रति निरुत्साहित बन्छ। श्रमको उचित र वैज्ञानिक तथा समानान्तर मूल्यांकन नहुँदा श्रम गर्ने व्यक्ति वा निकाय निराश बन्न पुग्छ। परिणामतः संस्थामा रचनात्मक चिन्तनका विपरीत कुण्ठा र वैमनश्यता बढ्न थाल्छ। यसले शंका र गुट जन्माउँछ अनि सिंगो समाजमाथि नकारात्मक प्रभाव पर्न सक्छ।
शासकीय व्यवहारमा मुखले प्रशंसा र व्यवहारले दमन गर्ने दुईमुखे चरित्र हाबी हुन्छ। यिनले आफ्नो हितमा असर नपर्ने लक्ष्य निर्धारण गर्छन् र त्यसैलाई केन्द्रमा राख्छन्। यसरी मुखले इमानदार भन्नु पनि आफ्नो आलोचनालाई निष्क्रिय बनाउने अस्त्र हो।
शासकीय व्यवहारमा मुखले प्रशंसा र व्यवहारले दमन गर्ने दुईमुखे चरित्र हाबी हुन्छ। यिनले आफ्नो हितमा असर नपर्ने लक्ष्य निर्धारण गर्छन् र त्यसैलाई केन्द्रमा राख्छन्। फ्रान्सेली दार्शनिक फुकोका अनुसार ज्ञान र शक्ति (पावर–नलेज) सधैं परस्पर गाँसिएका हुन्छन्। शक्ति संरचनाले आफ्नो नियन्त्रणलाई चुनौती दिने ज्ञानलाई मौन रूपमा कमजोर बनाउँछ। यही कारण शासक वा प्रशासकहरूले कर्मठ वा योग्य व्यक्तिलाई सार्वजनिक रूपमा ‘योग्य’, ‘इमानदार’ वा ‘मिहिनेती’ भने पनि पदोन्नति, विभिन्न अवसर, निर्णयात्मक तह वा नेतृत्वगत भूमिकाबाट टाढा राख्छन्। यसरी मुखले इमानदार भन्नु पनि आफ्नो आलोचनालाई निष्क्रिय बनाउने अस्त्र हो। उनीहरूले आफूभन्दा बढी बौद्धिकलाई श्रममा दलाएर आफ्नो नाम र त्यसबाट दाम कमाउने गर्छन्।
विशेष गरेर बौद्धिक क्षेत्रमा शासकले आफ्नो शक्ति संरचनामा आफूलाई चुनौती दिने ज्ञानलाई मौन रूपमा कमजोर बनाएर अघोषित र अदृश्य रूपमा दमन गरिरहन्छ। आफूभन्दा बढी बौद्धिक व्यक्तिको श्रम प्रयोग गरेर शासकले नाम र दाम कमाउँछन्। अनुसन्धानपरक लेख, कतिपय महत्त्वपूर्ण नीतिका मस्यौदा, परियोजनाका प्रतिवेदन वा संस्थागत सुधारका विचारहरू कर्मठ बौद्धिक व्यक्तिले उत्पादन गर्छ। तर, सत्तामा रहेका वा सत्ता नजिकका व्यक्तिहरूले त्यसको श्रेय र लाभ लिन्छन्। अर्का फ्रान्सेली समाजशास्त्री पियर बोड्र्युका अनुसार यो प्रतीकात्मक हिंसा हो किनभने यस्तो अवस्थामा प्रत्यक्ष निषेधबाट दमन नगरेर मान्यता नदिने अभ्यासबाट निषेध गरिन्छ। यसरी आर्थिक तहभन्दा बाहिर गएर बौद्धिक र नैतिक तहबाट बौद्धिक श्रम शोषण स्थापित हुन्छ।
शासकले शोषित वर्गकै पात्रलाई उचालेर अर्को शोषित वर्गको पात्रबाट स्वार्थ पूर्ति गर्ने गर्छन्। एउटै शोषित वर्गभित्र विभाजनको स्थिति सिर्जना हुन्छ। एउटालाई उचालेर अर्को शोषित वर्गमाथि नै निगरानी गराउने, एउटालाई अस्थायी लाभ दिएर अरूलाई अनुशासित बनाउने कुरा पनि केवल शक्ति टिकाइराख्ने रणनीति हुन्। परिणामतः आलोचनात्मक बौद्धिकता नै असामाजिक वा कुनै लाञ्छनाको सिकार बन्न पुग्छ। यसरी शासकले आफ्नो औसत क्षमता प्रयोग गरेर बौद्धिक व्यक्तिको श्रम चुसिरहन सहज बन्छ। अन्ततः यसको नतिजाका रूपमा संस्थागत संस्कृति नै आज्ञापालनमुखी बनेर स्थापित भइदिन्छ। भारतीय चिन्तक गायत्री चक्रवर्ती स्पिभाकले भनेझैं एक असल व्यक्तिले बोले पनि शक्ति संरचनाले सुन्ने इच्छाशक्ति राख्दैन। किनभने, त्यहाँ ज्ञानात्मक हिंसा (एपिस्टेमिक भायोलेन्स) को अभ्यास भइरहन्छ।
यसर्थ, शक्तिको चाकडी नगर्ने व्यक्तिमाथि गरिने श्रमको अवमूल्यन कुनै अपवाद होइन। यहाँको मुख्य समस्या व्यक्तिको अभिव्यक्ति होइन, संरचनाको बहिरोपन हो। यो सत्ताज्ञान संरचनाले पुनरुत्पादन गर्ने नियमित अभ्यास हो। यस्ता कार्यमा स्वाभिमानी व्यक्तिको अवमूल्यनलाई व्यक्तिगत असहमति वा व्यवस्थापनगत कमजोरीका रूपमा बुझ्नु चाहिँ बढी त्रुटिपूर्ण हुन्छ। यस्तै अभ्यासको निरन्तरताका कारण नेपालका उच्च शैक्षिक निकायभित्र कर्मशील व्यक्तिहरू पीडित भइरहेका छन्। सबैले व्यक्त गर्ने र विद्रोह गर्ने क्षमता पनि राख्दैनन्। किनभने, दिनभरि विद्रोह गरे साँझमा मुखमा माड नलाग्ने डरले हामीलाई दबाएको हुन्छ।
सीमान्त वर्गको मानिसले दमित व्यवहारका विरुद्ध विद्रोह गर्नुअघि आफूलाई जोगाउने अर्को विकल्प खोज्नै सक्दैन। यसकारण ऊ दमन, अन्याय र श्रमशोषण सहन बाध्य बन्छ। यस्तै अभ्यासका कारण तल्ला तहका विद्यालयदेखि उच्च बौद्धिक तहका शिक्षण संस्थाहरू पनि ज्ञान उत्पादनको केन्द्रभन्दा आज्ञापालन र नियन्त्रणको संयन्त्रमा रूपान्तरण गर्ने खतरामा घुमिरहन्छन्। किनभने, त्यहाँ कर्मठ र स्वच्छ स्वभावका व्यक्तिको श्रम प्रयोग गरेर कामचोरहरूले फाइदा लिइरहेका हुन्छन्।
यसरी, हरेक निकायमा कहीँ न कहीँ सोझा र स्वाभिमानी व्यक्ति वा वर्ग शासकहरूको दमनमा पिल्सिन बाध्य हुन्छन्। समाजमा हरेक दिन यस्ता घटना घटिरहे पनि सहजै र स्वाभाविक रूपमा बाहिर आउँदैनन् किनभने यी कुरा शोषित वर्गका लागि दैनिक जीवन सञ्चालनका लागि बाधक हुन पुग्छन्। उनीहरूमा डर हुन्छ। भविष्यको चिन्ता हुन्छ। अन्ततः यसले शैक्षिक गुणस्तर र बौद्धिक स्वतन्त्रतालाई गम्भीर रूपमा क्षति पु¥याउँछ। शिक्षण संस्थाहरू यस्ता अभ्यासबाट सबैभन्दा बढी प्रभावित हुन्छन्। विद्यालय र विश्वविद्यालय ज्ञान उत्पादन, आलोचनात्मक चिन्तन र बौद्धिक स्वतन्त्रताका केन्द्र हुनुपर्ने हो। यस विपरीत यिनै संस्थाहरूमा आज्ञापालन, चाकडी र मौनताले पुरस्कार पाउने हो भने यस्ता संस्थाहरू बिस्तारै ज्ञानका केन्द्रभन्दा शक्ति दुरुपयोग संयन्त्रमा रूपान्तरण हुन पुग्छन्।
यस्तो अवस्थामा विद्यार्थीमा शैक्षिक गुणस्तरको प्रतिस्पर्धाभन्दा बढी संस्थागत बेथितिकै अभ्यास हस्तान्तरण हुन्छ। उनीहरूको क्षमता, दक्षता र उमेरसमेत बेथितिको सिकार बन्छ। यसले सिंगो समाजको नयाँ पुस्तालाई प्रभावित तुल्याउँछ। गमेर हेर्ने हो भने आफ्नो हक प्राप्त गर्नका निम्ति शक्ति केन्द्र धाउनुपर्ने वा कुनै संघ÷संगठनमा लाग्नैपर्ने नियन्त्रित संरचना बनिसकेकाले शिक्षकहरूले आफ्नो दायित्व मात्रै पूरा गरेर सुख पाउँदैनन्। परिणामतः नेपालमा शिक्षा क्षेत्रको जरो नै बिरामी छ।
अन्ततः यसको मूल्य समाजले चुकाउनुपर्छ। शैक्षिक गुणस्तर खस्किन्छ। अनुसन्धान सतही बन्छ। बौद्धिक स्वतन्त्रता औपचारिक नारामा सीमित हुन्छ। स्वाभिमानी बौद्धिक व्यक्ति वा वर्गलाई दमन गरेर कुनै पनि संस्था दीर्घकालीन रूपमा सबल बन्न सक्दैन। इतिहासले त आज असहज ठानिएका प्रश्नहरू नै भोलिको मार्गदर्शन बन्छन् भन्ने कुरालाई बारम्बार प्रमाणित गरिसकेको छ। त्यसैले बौद्धिक व्यक्तिको स्वाभिमानलाई सम्मान गर्नु, तिनको प्रश्न सुन्नु र समीक्षा गरेर स्तरीय समाधान खोज्नु अत्यावश्यक हुन्छ। अन्यथा संस्थागत सुधार र शिक्षा प्रणालीले आफ्नै उद्देश्यलाई धोका दिइरहनेछ।
प्रतिक्रिया दिनुहोस !