तराईमा शीतलहरको कहर
गुलरिया : पश्चिम तराईमा शीतलहरको कहर सुरु भएको छ। पुस महिना लागेसँगै सुरु भएको बाक्लो हुस्सु र चिसो हावासहितको शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ।
ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपांगता भएका व्यक्ति, बालबालिका तथा पशु चौपाया एवं तरकारीजन्य कृषि उपजहरू चिसोबाट प्रभावित भएका छन्। विपन्न एवं सडक मानवहरू चिसोको कहरबाट आततायी बनेका छन्। अस्पताल एवं स्वास्थ्य संस्थाहरूमा चिसोका बिरामीको संख्या ह्वात्तै बढेको छ।
चिसोबाट प्रभावित बिरामीहरूको संख्या दिनहुँ वृद्धि हुँदै गइरहेको बर्दिया अस्पताल गुलरियाका सर्जन डा. विजयकुमार उपाध्यायले बताए।
चिसोबाट जोगिन, तातो, झोलिलो पेय पदार्थहरूको सेवन बढाउन उनको सुझाव छ। जाडोको समयमा सकभर विशेष काम नपरी घरबाट बाहिर निस्कनु पनि उचित हुँदैन। चिसोबाट गर्भवती एवं सुत्केरी महिला र बालबालिका प्रभावित हुने भएकाले न्यानो पारेर बस्नु आवश्यक रहेको उनले प्रष्ट्याए।
- पुस लागेसँगै पश्चिम तराईमा बाक्लो हुस्सु र चिसो हावासहित शीतलहर सुरु भई जनजीवन प्रभावित भएको छ।
- ज्येष्ठ नागरिक, गर्भवती–सुत्केरी महिला, बालबालिका, अपांगता भएका र विपन्न वर्ग सबैभन्दा बढी जोखिममा छन्।
- बर्दिया अस्पताल गुलरियामा दम, रुघाखोकी, ज्वरोलगायत चिसोका बिरामीको संख्या तीव्र रूपमा बढेका छन्।
- पशुचौपाया पनि चिसोबाट प्रभावित भएका छन्, विद्यालय खुलेका कारण बालबालिका पनि जोखिममा।
चिसोका कारण आलु, गोलभेँडालगायतका तरकारीजन्य उत्पादनहरूमा प्रभाव परेको गुलरिया नगरपालिका वडा नम्बर ६ निवासी शिवप्रसाद उपाध्यायले बताए। उनले भने, ‘केही दिनदेखि शीतलहर चलिरहेको छ। यसले तरकारी नष्ट गर्छ। भर्खरमात्र गोलभेँडा र आलुमा औषधि छर्केको छु। चिसो धेरै छ।’
उत्पादन पनि जोगिन्छ कि नाइँ भन्ने उनको चिन्ता छ। पशुचौपायाहरू पनि चिसोबाट प्रभावित भएका छन्। विद्यालयहरू सञ्चालनमै रहेकाले विद्यार्थी बालबालिकाहरू चिसोबाट प्रभावित बनेका छन्। पुस लागेसँगै जिल्लामा शीतलहर बढेपछि प्रशासन कार्यालयले चिसोबाट बच्न आवश्यक तयारी गर्न सबैमा अनुरोध गरेको छ।
चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती÷सुत्केरी महिला, विशेष प्रकृतिका व्यक्ति तथा विपन्न वर्ग जोखिममा पर्ने भएकोले जिल्ला प्रशासन कार्यालय बर्दियाले चिसोबाट बच्न जनस्वास्थ्य सुरक्षाको लागि आवश्यक तयारी तथा व्यवस्थापन गर्न जिल्लावासीहरूमा अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बताए।
सहायक प्रजिअ भण्डारीका अनुसार, चिसोबाट जोखिममा परेका लक्षित वर्गका लागि न्यानो कपडाको व्यवस्था, स्वास्थ्य संस्थाहरूमा चिसोसम्बन्धी रोगको उपचारार्थ आवश्यक जनशक्तिसहितको औषधि तयारी, विद्यालय, समुदाय तथा सार्वजनिक स्थानहरूमा सचेतना, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपांगता भएका व्यक्तिको विशेष संरक्षण, अत्यावश्यक कामबाहेक घर बाहिर नजाने, आगो, हिटर प्रयोग गर्दा आगलागी तथा धुवाँजन्य जोखिमबाट सावधानी अपनाउने, स्थानीय तह, समुदाय र संघसंस्थाबीच समन्वय गरी राहत तथा सहयोग कार्यलाई प्रभावकारी बनाउनेलगायतका क्रियाकलाप गर्न प्रशासनको आग्रह छ।
प्रतिक्रिया दिनुहोस !