काठमाडौं : मधेश प्रदेश सरकारका भौतीकमन्त्री सरोज कुमार यादवले एक दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एक फोटो शेयर गरे। कालो टिसर्टमा टीओबी लेखिएको कालो रंगको टिसर्ट लगाएका एक युवकले हात पछाडि लगेर पेस्तोल बोकिरहेका छन्। फोटो शेयर गर्दे उनले भने, ‘पेस्तोल बोक्ने टीओबीलाई तुरुन्तै पक्राउ गरियोस् सुशीला कार्की आमा।’
मन्त्री यादवजस्तै उक्त फोटो र भिडियो शेयर गर्ने धेरै छन्। पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल नै छ टीओबी लेखेको टिसर्ट। योसँगै टीओबी ग्रुपको खोजी गर्न थालिएको छ। जेनजी आन्दोलनका क्रममा कुनै आपराधिक समूहबाट परिचालित समूह हो कि भन्ने धेरैको आशंका छ।
सामाजिक सञ्जालमा चर्चामा भएको भिडियोमा बिजुली बजारको पुलमा टीओबी लेखिएको कालो ड्रेस लगाएका एक युवकले चुरोट तान्दै कम्मरको पछाडिको भागमा पेस्तोल भिरेको देखिन्छ। उनलाई मोटरसाइकमै बसेका अर्का व्यक्तिले उक्त पेस्तोल दिन्छन्।
यो भिडियो भाइरल भएपछि प्रहरीले निगरानी गरेको थियो। पेस्तोल भिर्ने व्यक्तिको खोजी भइरहेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार टीओबी लेखेको टिसर्ट लगाएर पेस्तोल बोक्ने व्यक्ति ३० वर्षीय तेन्जीङ दावा हुन्। उनलाई आइतबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका लागि ६ दिनको म्याद थप गरिएको छ।
प्रहरी अनुसन्धानका क्रममा भाइरल भिडियो आन्दोलनको क्रममा खिचिएको नभई केही समय अगाडिको हो। उनले तेन्जेन एडि नामक टिकटक आइडीबाट उक्त भिडियो एक वर्ष अगाडि नै पोष्ट गरेका थिए। दावाले बोकेको पेस्तोल पनि नक्कली रहेको हुनसक्ने प्रहरी अनुमान छ। प्रहरीसँगको बयानका क्रममा तेन्जेन दावाले आफू फ्री तिब्बत समर्थक मात्रै भएको बताएका छन्। टीओबी भन्नाले ‘तिब्बतीयन ओरिजिनल ब्लड’ नामक समूह नै सक्रिय छ। प्रहरीका अनुसार पक्राउ परेका दावा टीओबीका लिडर भएको प्रमाणहरू भेटिएका छन्। उनीसँगै केही युवाहरू मिलेर नेपालमा टीओबी मुभमेन्ट चलाएको हुनसक्ने प्रहरीको अनुमान छ।
ठमेलमा ट्याटु आर्टिष्टको काम गर्ने दावा काठमाडौंमा एक्लै बस्छन्। साथीहरूसँग मिलेर विभिन्न ठाउँमा घुम्ने उनले हातभर ट्याटु हानेका छन्। ट्याटु सिक्ने क्रममा हातमा ट्याटु हानेको उनले बताएका छन्। उनीसँगै एक पेस्तोल पनि बरामद भएको छ। भिडियोमा देखिएको पेस्तोल यही भएको उनले प्रहरीलाई बताएका छन्। तेन्जेनले सामाजिक सञ्जालमा ध्यानाकर्षण गर्न नक्कली पेस्तोल देखाउँदै भिडियो बनाएको प्रहरीसँगको बयानमा बताएका छन्।
काठमाडौं प्रहरी प्रमुख थापा भन्छन्, ‘पक्राउ परेका दावाको साथबाट बरामद भएको पेस्तोल परीक्षणका लागि पठाइएको छ। यद्यपि दावाले उक्त पेस्तोल नक्कली भएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !