अनेरास्ववियुपछि बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी
काठमाडौं : नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरुद्ध जाहेरी दिएको छ।
आइतबार जिल्ला प्रहरी परिसर ललितपुर पुगेर उनीहरूविरुद्ध नेविसंघले जाहेरी दिएको हो। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मनिश जङ थापा, अशोक सिंह बिष्ट र बिजय शाहले संयुक्तरुपमा हस्ताक्षर गरेर साह र गुरूङविरुद्ध किटानी जाहेरी दिएका हुन्। उजुरी पछि केन्द्रीय सदस्य विष्टले भने,'हामीले जाहेरी दिएका छौं। २४ घण्टाभित्र जाहेरी दर्ता गरेर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारवाही गर्न माग गरेका छौं।'
भदौ २३ र २४ गते जेनजी समूहको आन्दोलनमा सिंहदरबार,सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा तोडफोड तथा आगजनी भएको थियो।
यी घटनामा घुसपैठ गराएर विद्यार्थीहरूलाई विद्यालय पोसाकमा जान उस्काएको, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी भवनमा लुटपाट गराउनमा भूमिका खेलेको ठहर गर्दै नेविसंघले मेयर शाह र गुरूङविरुद्ध किटानी जाहेरी दिएको हो।
यसअघि मेयर शाह र गुरूङविरुद्ध नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएको थियो। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिलगायत आपराधिक गतिविधि गर्न उक्साएको मेयर बालेन र गुरूङमाथि आरोप छ।
प्रतिक्रिया दिनुहोस !