एनआरएनए विभाजनको घाउ, एकताको औषधि
अमेरिका : गैरआवासीय नेपाली संघ (एनआरएनए) को विभाजनले कोही खुसी छैन। तर संघ टुक्रिएको यथार्थ झूट पनि होइन। दुवै पक्ष मिलनविन्दुको नजिक पुगेको दाबी गर्छन्। संस्थापक अध्यक्ष उपेन्द्र महतोले त ‘जलेको घरमै एकताको उत्सव गर्ने’ तयारी
गरिरहेका छन्।
दुई दशकअघि ‘नेपाल बाहिरका नेपालीहरूको साझा शक्ति’ भनेर स्थापित एनआरएनए आज आन्तरिक संघर्षले थिलथिलो छ। राजनीतिक प्रभाव, गुटबन्दी र स्वार्थका कारण दुई टुक्रा बनेको संघ फेरि एक हुने प्रयासमा जुटेको छ। अमेरिका हुँदै विश्वका विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरू आज अक्टोबर ११ अर्थात् एनआरएन डे मनाउँदै गर्दा यही एकताको सन्देश मुख्य विषय बनेको छ।
गैरराजनीतिक संस्था भनेर सुरु भएको एनआरएनए अहिले राजनीतिक र व्यापारिक स्वार्थको मैदानमा परिणत भएको आरोप छ। अन्तर्राष्ट्रिय समिति चिरा परेको छ, राष्ट्रिय परिषद्हरू फुटेका छन्। केही सम्मेलनहरूमा देखिएको हिलो छ्यापछ्याप, अदालतसम्म पुगेका मुद्दा र नेताहरूबीचको वैमनश्यताले संघप्रति आम सदस्य र नेपाली जनमानस दुवैमा वितृष्णा बढाएको छ।
नेपालमा हालैको जेन–जी आन्दोलन र त्यसले ल्याएको राजनीतिक परिवर्तनले पनि एनआरएनएका नेताहरूमा आत्मसमीक्षाको दबाब बढाएको छ। आन्दोलनकै क्रममा एनआरएनएको भवनमा आगजनी हुँदा संघको छवि धुम्मिएको थियो। अहिले नयाँ पुस्ताका एनआरएनहरू सामाजिक सञ्जाल र सार्वजनिक वक्तव्यमार्फत ‘फुटेको एनआरएनए बहिष्कार’ गर्दै एकताको माग तीव्र बनाइरहेका छन्।
संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि पूर्वअध्यक्ष जीवा लामिछाने, मानार्थ व्यक्तित्वहरू रामप्रताप थापादेखि भीम उदाससम्म सबै एक स्वरमा छन्– ‘एकताबद्ध एनआरएनए नै हाम्रो शक्ति हो।’ महतो त भन्छन्, ‘दुवै पक्ष मिलेर आए भने म आफ्नो जलेको घरमै एकताको उत्सव गर्नेछु। नत्र दुवै पक्षका कार्यक्रममै जान्न।’
त्यसैगरी, वर्तमान अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष महेश श्रेष्ठ पनि ‘एकता अब निर्विकल्प’ भन्ने सहमतिमा पुगेका छन्। दुवै पक्षका टोलीबीच म्याराथन छलफल भइरहेको छ।
एनआरएनए फुट्नु नेपालका लागि पनि घाटा हो। देशको विकासमा विश्वभरका नेपालीको भूमिका सुनिश्चित गर्न, उनीहरूको सीप र पुँजीलाई एकमुखी बनाउने एउटै बाटो भनेको एकता हो। विभाजनले संघमात्र होइन, ‘गैरआवासीय नेपाली’ भन्ने पहिचानमै प्रश्न खडा गरेको छ।अब प्रश्न बाँकी छ– एनआरएनए आफ्नो आगो झोसिएको घरमा साँच्चिकै उत्सव गर्न सक्ला कि फेरि अर्को अध्याय फुटको कथा लेख्ने छ ?
के उत्सव होला त आजको दिवस ?
आज गैरआवासीय नेपाली दिवस– अर्थात् एनआरएन डे।विश्वभर फैलिएका गैरआवासीय नेपालीका लागि यो दिनले गहिरो अर्थ बोकेको छ। नेपाल सरकारको सक्रिय सहभागितासहित अक्टोबर ११ लाई औपचारिक रूपमा एनआरएन डे घोषणा गरिएको दिनदेखि नै विश्वका नेपालीले यसलाई विशेष अवसरका रूपमा मनाउँदै आएका छन्।
नेपालका लागि गैरआवासीय नेपालीहरू अमूल्य सम्पत्ति हुन् भन्ने बुझाइसँगै सरकारले उनीहरूको आवश्यकता र भूमिकालाई विशेष प्राथमिकताका साथ ग्रहण गर्दै आएको छ। नेपालको विकास र समृद्धिका सारथिका रूपमा गैरआवासीय नेपालीलाई पहिचान गरिँदै सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सरकारले निरन्तर उच्च प्राथमिकता दिएको छ।
नेपाल सरकारले सम्बन्धित नीति–नियम निर्माणका क्रममा संघलाई सरोकारवालाको रूपमा सहभागी गराउँदै सुझावसमेत लिँदै आएको छ। त्यसैगरी, सरकारी प्रतिनिधिमण्डलका राजकीय भ्रमणहरूमा पनि गैरआवासीय नेपाली संघका अध्यक्ष वा प्रतिनिधिहरू सहभागी हुने प्रचलन बसिसकेको छ।
गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई नेपालमा प्रवाह गर्न एनआरएनए मुख्य केन्द्र बन्न सक्छ भन्ने विश्वास नेपाल सरकार र सम्बन्धित निकायहरूले साझा रूपमा लिएका छन्। यसै बुँदामा अडेस लागेर संघ र गैरआवासीय नेपालीहरूले प्राकृतिक विपत्तिको समयमा सहयोगदेखि लिएर व्यक्तिगत तथा संस्थागत रूपमा लगानीसम्मका पहलहरू निरन्तर गर्दै आएका छन्।
अपेक्षाअनुसार लगानी प्रवाह नभए पनि तुलनात्मक रूपमा लगानीको गति पछिल्ला वर्षहरूमा बढ्दो छ। तर लगानीमैत्री वातावरण निर्माणमा कमजोरी र लगानी सुरक्षाको सुनिश्चितता नहुनुले अपेक्षित स्तरमा लगानी आकर्षित हुन नसकेकोमा सरोकारवालाहरू एकमत छन्।
यद्यपि, गैरआवासीय नेपाली संघ र उनीहरूको आवाजप्रति नेपालका नीति–निर्माता र सरोकारवाला निकायहरू सामान्यतया सकारात्मक नै देखिएका छन्।
खस्किएको साख उकास्ने अवसर
केही वर्षयता गैरआवासीय नेपाली संघ (एनआरएनए) र सम्पूर्ण गैरआवासीय नेपाली अभियानप्रति निराशा बढ्दो छ। संघ र गैरआवासीय नेपालीलाई हेर्ने दृष्टिकोणमा पनि क्रमशः परिवर्तन आइरहेको छ। नेपालभित्रका मात्र होइन, विदेशमा रहेका गैरआवासीय नेपालीहरू स्वयं पनि संघप्रति सन्तुष्ट देखिँदैनन्। एक समय ‘हाई–हाई’ कमाएको एनआरएनए अहिले किनारामा धकेलिँदै गएको छ, र गैरआवासीय नेपालीहरूलाई समेत ‘गफाडी’को विशेषण दिनेलाई संख्या बढ्दै गएको छ।
वर्षौंको मेहनत र त्यागले कमाएको संघको प्रतिष्ठा र गैरआवासीय नेपालीको मान हालका वर्षहरूमा ओरालो लागेको छ। अक्टोबर ११ को आसपास नेपालमा भेला भई खुुसीयाली साटासाट गर्ने गैरआवासीय नेपालीहरूको त्यो उत्साह हराउँदै गएको छ। यसको मुख्य कारण संघभित्रैको आन्तरिक द्वन्द्व बनेको छ।
गैरआवासीय नेपाली संघको आवश्यकता पुष्टि गर्न पनि एकताबद्ध एनआरएनएको विकल्प नभएको संस्थापकहरूको जोड छ। विभाजित हुने एनआरएनएको कल्पनासमेत नगरिएको उनीहरूको भनाइ छ। पूर्वअध्यक्ष तथा संस्थापकमध्ये एक जीवा लामिछानेले भने, ‘एकताबद्ध संस्थामात्रै हाम्रो तागत हो भन्ने हेक्का सबैले राख्नुपर्छ।’ पछिल्ला केही वर्षयता भएका गतिविधिप्रति चिन्तित हुँदै लामिछाने भन्छन्, ‘नहुनुपर्ने जे जस्ता गतिविधिहरू भए। त्यसले कस्तो असर पर्यो सबैले बुझिसकेका छन्। अनुभूत पनि गरेका छन्। अब एकताबद्ध एनआरएनए बनाउने दिशामा अघि बढ्नु पर्दछ।’
राजनीति र नाफा–नोक्सानभन्दा पर रहने उद्देश्यका साथ स्थापित एनआरएनए आज राजनीति र व्यापारको अखडा बन्न पुगेको छ। संघभित्र चिराचिरा पर्न थालेका छन्। पछिल्ला केही सम्मेलनहरूमा देखिएका अनैतिक र अनपेक्षित गतिविधि, आपसी आरोप–प्रत्यारोप र हिलो छ्याप्ने प्रवृत्तिले संघप्रति वितृष्णा बढाएको छ।
विगतमा कोको बाट केके कमजोरी भए त्यसको आत्मसमीक्षा गर्दै विभाजित एनआरएनएले गैरआवासीय नेपाली अभियान र गैरआवासीय नेपालीहरूमा नै असर पारेको आत्ममूल्यांकन गरी एकताबद्ध एनआरएनए बनाउने दिशामा सबै लाग्नुपर्नेमा संस्थापकमध्येका एक पूर्वउपाध्यक्ष रामप्रताप थापाको जोड छ। ‘विगतमा जसरी बलजफ्ती गर्ने काम भयो, जे मन लाग्यो त्यही गर्ने काम भयो, संघमा परिकल्पनाभन्दा बाहिर गएर काम भए, अहिले आइपुग्दा त्यसले अभियानमै समस्या देखियो,’ उनले भने, ‘अब सबैले समयको आवश्यकता र समयले सिकाएको पाठबाट सिकेर एकताबद्ध एनआरएनए बनाउने काममा लाग्नुपर्छ।’
जे जसरी भए पनि एनआरएनएलाई एक बनाउनुपर्नेमा जोड दिँदै थापाले भने, ‘एनआरएनए एकतापछि संघको पुनर्संरचना र आन्तरिक रूपमा परिआउने समस्याहरूलाई पनि साझा र सहमतीय ढंगबाट समाधान गर्दै जानुपर्छ।’
‘एनआरएनए फुट्नु नै हुन्थेन, नेपालको सामाजिक, आर्थिक, भौतिक विकासका लागि एनआरएनए सहयोगी बन्नुपर्नेमा झन् हामी हामी फुट्ने अवस्था बन्यो त्यो दुर्भाग्यपूर्ण हो। हामी (संस्थापक) ले एनआरएनएमा एकता ल्याउन कोसिस गरिनै रहेका थियौं र छौं,’ संस्थापक अन्तर्राष्ट्रिय संयोजक एवं पूर्वमहासचिव भीम उदासले भने, ‘एकताबद्ध एनआरएनए बनेन भने एनआरएनएको स्ट्रेन्थ पनि देखिन्न, नेपालमा गर्न सक्ने पनि गर्न सकिँदैन, एनआरएनएका माग पनि पूरा हुँदैनन्।’
नेपालमा भएको पछिल्ला जेन—जी आन्दोलनबाट समेत एनआरएन नेताहरूले पाठ सिक्नुपर्ने सुझाव दिँदै उदासले एनआरएनको इम्प्रेसन राम्रो बनाउन पनि मिलेर जानु आवश्यक भएको औंल्याए। जुटेर जाँदा सबैको जित हुने उल्लेख गर्दै उदासले कम्तीमा एक हुनुपर्छ भन्ने सैद्धान्तिक आधारको अवस्था बन्दै गएको बताउँदै मिलेको एनआरएनए बनोस् भन्ने शुभकामना दिए।
अहिले संघको अन्तर्राष्ट्रिय समिति नै विभाजित छ, र त्यसको प्रभाव राष्ट्रिय समन्वय परिषद्हरूमा समेत देखिएको छ। नेताहरूबीचको विवादबाट राजनीतिक दलका नेताहरूले समेत लाभ उठाइरहेका छन्, जसले संघभित्रै राजनीतिक स्वार्थको गन्ध फैलिएको अनुभूति दिलाएको छ। विगतका सम्मेलनहरूमा देखिएका व्यवहार र हर्कतका कारण ‘यस्ता पनि एनआरएनए ?’ भन्ने व्यंग्य सुनिन थालेको छ।
विदेशमा रहेका कतिपय गैरआवासीय नेपालीहरू नेपालका राजनीतिक दलका झोला बोकेर संघमा प्रवेश गर्न थालेका छन्, जसले एनआरएनएको भविष्यमाथि गम्भीर प्रश्न खडा गरेको छ। निहित स्वार्थ, दल, गुट र उपगुटको डम्फुमा संघलाई हिँडाउन खोज्दा एनआरएनएमात्र होइन, गैरआवासीय नेपाली अभियान र सम्पूर्ण नेपाली समुदायको प्रतिष्ठासमेत संकटमा परेको छ।
संघभित्रको वैमनश्यता, किचलो र दर्जनौं मुद्दा अदालतमा पुगिसकेका कारण संघको आवश्यकता र भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ। यसैबीच नयाँ पुस्ताको सहभागिता पनि कठिन हुँदै गएको छ। राजनीतिक दल र गुटसँग नजिक भएका संघहरूको बढ्दो संख्याले नेपाल सरकार र यसको अंगहरूमा पनि एनआरएनएको प्रभाव र ग्राह्यता घटाएको छ। फलस्वरूप, गैरआवासीय नेपालीका वास्तविक मुद्दा थन्किएका छन् र आवाज उठाउने एउटै सशक्त प्लेटफर्म नहुँदा समाधानको सम्भावना कमजोर बनेको छ।
यद्यपि, बाहिर र भित्र दुवैतर्फबाट अहिले एकताको आवाज बलियो रूपमा उठ्न थालेको छ। नेपालका राजनीतिक दल र नेताहरूले समेत सार्वजनिक रूपमा एकताबद्ध एनआरएनएको आवश्यकतामा जोड दिएका छन्। संघभित्र रहेका नेताहरूमा पनि एकताको जरुरत गहिरिँदै गएको छ।
यस परिवर्तनको पृष्ठभूमिमा नेपालमा हालै भएको जेन–जी आन्दोलनको प्रभाव र त्यसले सिर्जना गरेको जनदबाब प्रमुख कारण बनेको छ। उठ्दै गरेको नयाँ नेपालसँगै आफ्नो चार्म गुमाउँदै गएको एनआरएनएले पनि अब जुटेर उठ्नुपर्ने अवस्था आएको छ।
वर्तमान अन्तरिम सरकारले समेत एकताबद्ध एनआरएनएसँग सहकार्य गर्न सकिने संकेत दिएको बुझिन्छ। जेन–जी आन्दोलनको क्रममा एनआरएनएको भवनमा आगजनीसम्म भएको घटनाले युवापुस्तामा संघप्रति नकारात्मक छवि बनाएको तथ्य नकार्न सकिँदैन। यही कारण, दुवै समूहका एनआरएन युवा मिलेर एकताको दबाब दिइरहेका छन्। विभिन्न देशमा रहेका युवाहरूले फुटेको एनआरएनएको कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेका छन् र सामाजिक सञ्जालमार्फत पनि ‘मिल्ने’ अभियान
चलाइरहेका छन्।
पदाधिकारीहरू पनि चाहन्छन् एकतै
दुई समूहमा विभाजित बनेको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का दुवै समूहका वर्तमान पदाधिकारीहरूसमेत एकताको विकल्प नभएकामा सहमत देखिएका छन्। त्यसका लागि धेरै कोणबाट छलफलसमेत अघि बढिसकेको उनीहरूको भनाइ छ। सैद्धान्तिक रूपमा मिलेर जाने भन्ने कुरामा असहमत हुनुपर्ने कुनै कारण नभए पनि कसरी मिलेर अघि बढ्ने भन्ने सन्दर्भमा भने विकल्पहरूमाथि छलफल अघि बढेको उनीहरूले बताए।
संघका अध्यक्ष डा. बद्री केसीले एकता हुनेमा सहमति भइसकेकाले अरू प्राविधिक कुराहरूमा छलफल अघि बढेको बताए। उनले अक्टुबर ११ अघि नै एनआरएनए एकताबद्ध बनाउन प्रतिबद्ध रहेको आफ्नो फेसबुक वालमार्फत जानकारी गराएका थिए। उनले एनआरएन डे संयुक्त रूपमा मनाउने सहमति भइसकेको जानकारी दिए। एकताको प्रक्रिया टुंगिने आशा व्यक्त गर्दै उनले यसबारे गहन छलफलमा भइरहेको बताए।
केही महिनाअघि छुट्टै महाधिवेशन गरी अध्यक्ष चयन भएका भनिएका महेश श्रेष्ठले पनि एकताका लागि सहमतिको आधार तयार गर्न लागेको जानकारी दिए। ‘सकारात्मक दिशामा छलफलहरू अघि बढेका छन्’, उनले भने, ‘मिलेर जानुको विकल्प छैन। सहमतिलाई हार वा जितका रूपमा नलिई संस्थालाई प्रधान मान्दा नमिल्ने भन्ने केही हुँदैन।’
महासचिव गौरीराज जोशीले मिल्नुको विकल्प नभएको बताए। ‘सबैले व्यक्तिगत रूपमा आफूलाई खुला राख्दै एक कदम पछि हट्ने हो भने मेलमिलाप गाह्रो छैन। संस्थालाई जिताउन र एकताबद्ध एनआरएनए बनाउन सबैको भूमिकाको खाँचो छ’, उनले भने।
श्रेष्ठसँग पनि नजिकको सम्बन्ध राख्ने मध्यमार्गी भूमिकामा देखिएका जोशीले पुरानो मानसिकता बोकेर अहिलेको स्प्रिरिटअनुसार संघ अघि बढ्न नसक्ने बताए। एनआरएनएमा पनि पुस्तान्तरण जरुरी रहेको उनले धारणा राखे। ‘एकले अर्कोलाई पेलेर जान खोजे त्यो सम्भव हुँदैन। एकता गर्न नचाहनेहरूले त्यस्ता गतिविधि गर्नेहरूलाई एनआरएनहरू माझ सार्वजनिक गर्न पनि तयार हुनुपर्छ’, उनले भने, ‘एकता चाहने हो भने असम्भव छैन।’
श्रेष्ठ समूहका महासचिव बीआर लामाले एकताको आवश्यकतालाई कसैले अन्यथा लिन नहुने बताए। तर भावनात्मक रूपले मात्रै एकताको कुरा गरेर समाधान ननिस्कने उनको भनाइ छ। ‘एकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढे मात्रै सबैको जित हुन्छ। यसो गर्न सक्दा एनआरएनएलाई एकताबद्ध बनाउन समस्या छैन,’ लामाले भने, ‘तर आफू र आफ्नो समूहलाई मात्रै प्राथमिकता दिन चाहने र नियमसंगत अघि नबढ्ने हो भने एकताको कुरा गर्नु सस्तो लोकप्रियता मात्र हुन्छ।’
सर्वस्वीकार्य विकल्पमा जोड
विभिन्न देशमा रहेका एनआरएनएका अभियन्ताहरूले विभाजित एनआरएनएलाई एक बनाएर लैजानुपर्नेमा जोड दिएका छन्। तर दीर्घकालीन रूपमै समाधान निस्कन सक्ने गरी उपायको खोजी गर्नुपर्नेमा उनीहरूको जोड छ।
फुट्न हुन्थेन, फुट्यो र फुटेपछिको अवस्था सबैले बुझेरै एकताको आवश्यकता महसुस भएको उनीहरूको भनाइ छ। अब फेरि नफुट्ने खालको उपायको खोजी जरुरी रहेकोमा सचेत हुन उनीहरूले जोड दिए। एनआरएनए अभियन्ता आरके शर्मा केवल टाउको वा व्यक्तिव्यक्ति बीचमा मात्रै मिलाएर एकताको अर्थ नहुने बताउँछन्। ‘किन फुट्यौं, कारण के थियो, कमजोरी कहाँ रह्यो, सबैलाई समेट्न चुकियो कि ? यी सबै पक्षमा आत्मसमीक्षा गर्दै दीर्घकालीन समाधान खोज्नेगरी देखावटी नभई साँच्चिकै एकता हुनुपर्छ’, उनले भने। आईसीसीलाई मात्र हेरेर होइन एनसीसीहरूलाई समेत हेरेर एकताको खाका बनाउनुपर्ने उनको भनाइ छ।
त्यस्तै, एनआरएनएका पूर्वउपाध्यक्ष सोनाम लामा एनआरएनएमा चाहिएकै एकता रहेको बताए। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसनका अध्यक्षसमेत रहेका लामाले दीर्घकालीन रूपमा समाधान निस्कने गरी एक बनाएर लग्न सके एनआरएनएका खास मुद्दामा केन्द्रित हुन सकिनेमा जोड दिए। अहिले दलको झोला छोड्न पनि एनआरएनएका नेताहरूलाई अवसर आएको उनले औंल्याए। ‘यही बेला एनआरएनएलाई शुद्धीकरण गर्न सकिन्छ’, उनले भने।
अर्का अभियन्ता डा. केशव पौडेल एनआरएनए एक नहुने अवस्था रहे यसको आवश्यकता र यस्को भूमिका नै सकिएर जाने बताउँछन्। ‘एनआरएनएको औचित्य सिद्ध गर्न पनि एकताबद्ध हुन आवश्यक छ,’ उनले भने, ‘सन्तुलित र सबैले अपनत्व अनुभव गर्ने गरी एकताको खाका बनाउनुपर्ने हुन्छ। तदर्थ समिति बनाएर जाँदा पनि हुन्छ। तर विगतको अभ्यासले के सिकाएको छ भने तदर्थ समितिमा रहेकाहरूले त्यसपछि हुने चुनाव लड्न नपाउने प्रबन्ध गरिनुपर्छ।’
यसैगरी, अर्का अभिन्यता सुनील साहले व्यक्तिगत रूपमा आफूलाई केन्द्रमा राखेर अघि बढ्न खोज्ने पात्रहरूका कारण एकतामा कठिनाइ हुने गरेको विगतले देखाएको बताए। ‘त्यस्ता प्रवृत्तिले एकतामा बाधा पुग्छ। मिलेको एनआरएनएले मात्र यसको मुद्दाको सम्बोधन गराउन दबाब दिन सक्छ’, उनले भने, ‘एकतामै शक्ति रहेको बुझेर सबैले भूमिका खेल्नुपर्छ।’
सबैले व्यक्तिगत अहम् छोडेर एक कदम पछि हटे भने मेलमिलाप गाह्रो छैन। पुस्तान्तरण पनि अब अपरिहार्य छ।
गौरीराज जोशीएकले अर्काको अस्तित्व स्वीकार गरेर अघि बढे मात्रै सबैको जित हुन्छ। यसो गर्न सक्दा एनआरएनएलाई एकताबद्ध बनाउन समस्या छैन।
बीआर लामाटाउको र पद मिलाएर मात्रै एकताको अर्थ छैन। विगतका कमजोरी आत्मसमीक्षा गरेर दीर्घकालीन समाधान खोज्नुपर्छ।
आरके शर्मायही बेला एनआरएनएलाई शुद्धीकरण गर्न सकिन्छ। दलको झोला छोड्ने अवसर यही हो।
सोनाम लामाएनआरएनएको औचित्य प्रमाणित गर्न पनि एकताबद्ध हुनु जरुरी छ। विगतको गल्ती दोहोरिन नदिने संयन्त्र चाहिन्छ।
केशव पौडेलव्यक्तिगत स्वार्थ र अहंले विगतमा एकता बिगारे। अब त्यस्ता प्रवृत्तिको अन्त्य गरेर मात्रै संघ उठ्न सक्छ।
सुनील साह
सहमतिका आधारहरू
सैद्धान्तिक रूपमा एक भएर अघि बढ्ने भन्ने सन्दर्भमा सहमति रहे पनि कसरी एकता गर्ने भन्नेमा विभिन्न विकल्पहरूमाथि छलफल अघि बढेको छ। जो यस प्रकार रहेको छ।
क) तदर्थ समिति बनाउने
मुख्यतः तदर्थ समिति बनाउने कुरामा बढी जोड देखिएको छ। तदर्थ समिति कस्तो र कति सदस्य बनाउने भन्ने सन्दर्भमा छलफल भइरहेको छ। त्यो समितिलाई निश्चित समयभित्र निर्वाचन गराउने गरी जिम्मेवारी दिने सन्दर्भमा छलफल भइरहेको छ।
दुवै समूहका अध्यक्ष राखेर बाँकी तीन जनामध्ये एक एक जना दुवै समूहबाट राखेर र एक जना बाहिरबाट राख्ने सन्दर्भमा कुरा अघि बढेको छ। त्यो तदर्थ समितिको संख्या बढ्न पनि सक्नेछ। वा अध्यक्षहरू नबसेको हकमा अरू कसैलाई राखेर पनि समिति बनाएर जाने भन्नेबारे छलफल भएको छ। दुवै समितिलाई स्वीकार्दै निष्क्रिय पारेर तदर्थ समितिलाई नै चुनाव गराउने अख्तियारी दिने भन्ने छ।
ख) श्रेष्ठको नेतृत्वको समूहलाई हस्तान्तरण गर्ने
महेश श्रेष्ठ नेतृत्वको समूहलाई हस्तान्तरण गर्ने र डा. बद्री केसी समूहलाई पनि श्रेष्ठ समूहले मान्यता दिएर ६ महिनाभित्र चुनावमा जाने भन्नेबारे समेत छलफल भएको छ। तर यस प्रस्तावलाई केसी समूहले सुन्नै नचाहेको स्रोतले बतायो।
ग) डा. केसीकै टिममा समाहित गर्ने
डा. बद्री केसी नेतृत्वको समूहमा महेश श्रेष्ठ नेतृत्वको समूहलाई पनि समेट्ने, ठूलो समिति बनाएर चुनावी प्रक्रियामार्फत नयाँ समिति चुनेर जाने विकल्पमा पनि छलफल भइरहेको छ।
यो विकल्पमा पनि उति धेरै गहन छलफल भने भएको छैन।
घ) एनआरएनएको कार्यालय संयुक्त रूपमा सञ्चालन गर्ने
दुवैले संयुक्त रूपबाट एनआरएनएको कार्यालय सञ्चालन गर्ने सन्दर्भमा पनि छलफल
भएको छ।
एकताका लागि घनीभूत छलफल
केसी र श्रेष्ठबीच एकताका लागि छलफलले तीव्रता पाएको छ। केही दिनदेखि म्याराथन शैलीमा छलफल अघि बढेको हो। दुवै समूहमा आन्तरिक रूपमा छलफल सँगै दुवै समूहका बीचमा पनि छलफल भइरहेको छ। जेन—जीको आन्दोलनपछि नेपालमा दलको सरकार गिरेसँगै अझ बढी दुवै समूहलाई मिल्न आन्तरिक दबाब बढेको छ।
केसीलाई एमालेको समर्थन रहेको थियो भने श्रेष्ठलाई कांग्रेसको। प्रधानमन्त्रीबाट केपी शर्मा ओली र परारष्ट्रमन्त्रीबाट डा.आरजु देउवाको बहिर्गमनपछि दलीय र शक्तिको आधारभन्दा समयको आवश्यकताको दबाब दुवै समूहमा परेको छ। र, मिलनको खोजी बढेको स्रोतले बताएको छ।
नेपालमा भएको परिवर्तनसँगै संरक्षणको आधार दुवै समूहले गुमेको अनुभूति पनि एकताका लागि आधार बनेको हो। एकता एकता भन्ने गरे पनि विगतमा त्यो भन्नका लागि मात्र थियो। दुवैले आआफ्नो पावर शो गरिरहेका थिए। तर अहिले दुवै सेफ ल्यान्डिङको खोजीमा देखिएका छन्, त्यसैले एकता जसरी पनि गरौं भन्नेमा दुवैको जोड छ।
केसीलाई आफ्नो समूहभित्र सहमतिका लागि आधारमा सहमत गराउन अलि सजिलो देखिन्छ। डा. हेमराज शर्मालाई सहमत गराउने हो भने उनका समितिका अन्य पदाधिकारीहरूलाई सहमत गराउन उनलाई त्यति गाह्रो देखिँदैन। महासचिव गौरीराज जोशीमात्रै उनीभन्दा केही फरक विचार बोक्ने समूहका भए पनि उनी नै एकताको लागि पहल लिने पात्र भएकाले पनि केसीलाई अप्ठ्यारो छैन। तर श्रेष्ठलाई भने आफ्नो समूह मिलाउन कठिन देखिएको छ। उनको समूहमा शेष घले, कुल आचार्य, उनी स्वयं र आरके शर्माको समूह सामेल रहेकाले सबैलाई मिलाउन उनलाई सहज छैन।
मिलेर आए जलेको घरमा उत्सव गर्छु : महतो
एनआरएनएका पिता मानिने संस्थापक अध्यक्ष उपेन्द्र महतोले एकताबद्ध एनआरएनए मात्र आफ्नो एनआरएनए भएको दोहोर्याएका छन्। उनले मिलेर आउन दुवै समूहलाई भनेको जानकारी दिए। नमिलेको हकमा कसैको पनि कार्यक्रममा आफ्नो सहभागिता नहुने उनले स्पष्ट पारेका छन्।
संघ स्थापना गर्दादेखि नै एनआरएनहरूको साझा संस्थाका रूपमा एनआरएनएको परिकल्पना गरिएको बताउँदै उनले त्यही संस्था फुट्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरे। ‘यो मेरो धारणा सदैव एउटै र अपरिवर्तनीय छ। एउटा अनि साझा एनआरएनए मात्रै एनआरएनहरूको संस्था हुन सक्छ,’ संस्थापक अध्यक्ष महतोले बताए, ‘दुवैले मिलेर आउँछौं, मिलेर जाने गरी तपाईलाई निम्ता दिन आउँछौं भनेका छन्। छलफल भइरहेको भन्ने सुनेको छु। सकारात्मक होस् भन्ने कामना छ। दुवै मिलेर आएमात्र मेरो समर्थन र सहभागिता रहन्छ।’
उनले थपे, ‘मिलेर आएको खण्डमा आफ्नो जलेको घरमै सबैलाई बोलाएर एकताको सन्देश दिने सोचेको छु। नमिलेको एनआरएनएलाई सबैले मजाक बनाइरहेका छन्। मिलेर एनआरएनए अघि बढे हाम्रा माग पनि पूरा गराउन गाह्रो पर्दैन।’
प्रतिक्रिया दिनुहोस !