सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
काठमाडौं : सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ।
असोज २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ५.०० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हाल कायम रहेको चुक्ता पूँजी रु. १४,०८,९९,८०,१९०/– (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैँया मात्र) मा ५.०० प्रतिशत बराबरको रु ७०,४४,९९,०१०/– (अक्षरेपी सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया मात्र) बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. ७७,९१,७५,९०५/– (अक्षरेपी सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंया मात्र) नगद लाभांश प्रस्ताव गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ३ अर्व ३६ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु २८ करोड अर्थात् ९.३०५ को वृद्धि हो। यसै गरी बैंकको वितरणयोग्य मुनाफा रु १ अर्व ८३ करोड कायम रहन आएको छ। खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केहि संकुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो। यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई नै वितरण गरिन्छ। यसर्थ उक्त विनियोजित रकम रु १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु ३ अर्ब २९ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा २३.४१५ को प्रतिफल हो। यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.६२५ मा सिमित गर्न सफल भएको छ।
२०८२ असार मसान्तमा बैंकको चुक्ता पूँजी रु. १४ अर्व ८ करोड रहेको छ भने जगेडा कोष रु. १६ अर्व ८७ करोड रहेको छ । बैंकको नेटवर्थ रु. ३० अर्व ९६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. २ अर्व ८९ करोड ले वृद्धि भएको छ। यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रति शेयर रु. २१९.७७ रहेको छ, जुन गत आ.व.मा रु. १९९.२१ थियो। यो गत आ.व.को तुलनामा १०.३२ प्रतिशतले वृद्धि हो। साथै, यस आर्थिक वर्षमा बैंकको प्रति शेयर आम्दानी रु. २३.८९ रहेको छ, जुन गत आ.व. मा रु. २१.८६ थियो। यो गत आ.व.को तुलनामा ९.३० प्रतिशतको वृद्धि हो।
प्रतिक्रिया दिनुहोस !