पारिवारिक मिलनको दिव्यव्रत

हरितालिका पर्व

पारिवारिक मिलनको दिव्यव्रत

तिज सत्ययुगको तपस्या र त्रेतायुगको श्रद्धा हो भने द्वापर युगको सामूहिकता र कलियुगको नारी–शक्ति, भक्ति र सांस्कृतिक एकताको महापर्व हो।

‘तिज’ जीवित शब्द हो । यसको तन स्वास्थ्य छ, मन पवित्र छ र वचन शुद्ध छ । यसको जन्म सत्ययुगको भाद्र शुक्ल तृतीयाका दिनमा भयो । परन्तु आजसम्म यसले सास फेरिरहेको छ । चतुर्युगसम्म बाँच्न सफल भएका शब्दलाई पूर्णायुका शब्द भनिन्छ । तिज चतुर्युगसम्म बाँचेको शब्द हो ।

अतः यो पूर्णायुको शब्द हो । पूर्णायुसम्म बाँचेका शब्दमा लोक कल्याणका लागि प्रशस्त ऊर्जा रहेको हुन्छ । ती शब्दमा भएका ऊर्जाले लोकलाई चारै युगसम्म कल्याणको मार्गमा हिँड्न प्रेरित गर्छन् । तिज यही वर्गमा पर्ने शब्दको उदाहरण हो । यसले सत्ययुगदेखि आजसम्म लोकलाई पारिवारिक मिलनको दिव्य बाटो र गन्तव्य देखाउँदै आएको छ । सबैलाई पूर्णायुको जीवन बाँच्ने तरिका सिकाउँदै आएको छ ।

शब्द, सृष्टि र स्रष्टा : त्यसो त सबै शब्दमा प्राण हुन्छ । कुनै पनि शब्दहरू निष्प्राण हुँदैनन् । शब्दलाई जीवित राख्ने कर्तव्य स्रष्टाको हो । यदि स्रष्टाले शब्दको परमार्थ बुझेको छ अथवा शब्दमा भएको प्राणलाई अनुभव गर्न सक्दछ भने उसलाई सिर्जना गर्ने अधिकार दिनुपर्छ । किनकि ऊ निश्चय नै स्रष्टा हो ।

यसो भन्नुको तात्पर्य के हो भने लेखक आफूले लेख्ने विषयको विषयमा र त्यसको परमार्थको सम्बन्धमा छर्लंग हुनुपर्छ भन्ने हो । तिज प्राण भएको शब्द हो । अर्थात् सास फेरिरहेको सजीव शब्द हो । यही नैतिक अहम्ताका साथ म यस लेखमा तिजको मौलिक परम्पराको केन्द्रमा रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पारिवारिक र सामाजिक वैज्ञानिकतालाई सिद्ध गर्ने कोसिस गर्नेछु ।

हरितालिका शब्दको उत्पत्ति : व्रतसँग जोडिएको ‘हरित्’ र ‘आलिका’ दुई शब्दहरू मिलेर बनेको संयुक्त शब्द हो, ‘हरितालिका’ । जहाँ ‘हरित्’को अर्थ हरियो जंगल हुन्छ भने ‘आलिका’ भनेको साथीहरूले अपहरण गरेर लग्नु भन्ने हुन्छ । संक्षिप्तमा हरितालिकाले ‘हरण गर्ने सखीहरू’लाई बुझाउँछ ।
स्कन्दपुराणको तलको श्लोकले हरितालिकाको न्वारन कसरी गरेको रहेछ हेरौं–
हरितालिकया नाम्ना सखीया सा तदा मम ।
हरित्वा मां वनं नीत्वा व्रताय समुपानयत् ।।

अर्थात्, ‘त्यसबेला’ मेरा ‘आलिका’ (सखी)ले ‘मलाई’ हरण गरी वनतर्फ लगे । त्यसैले यो व्रतको नाम ‘हरितालिका’ रह्यो । यहाँ ‘त्यसबेला’ले सत्ययुगलाई र ‘मलाई’ले पार्वतीलाई अनि ‘आलिका’ले पार्वतीका सखीहरूलाई बुझाएका छन् । यस्तै हरितालिकाले पार्वतीले शिवलाई आफ्नो वरको रूपमा प्राप्त गरूँ भनेर गरिएको व्रतलाई बुझाउँछ । 

nullहरितालिका कसरी हरितालिका तिज हुन गयो ?
संस्कृतमा ‘त्रिज्या’ वा ‘त्रितीया’ शब्दबाट ‘तिज’ आएको हो । यहाँ तृतीयाले चन्द्रमाको तेस्रो दिन वा तिथि भन्ने बुझाउँछ । यसैअनुसार हरितालिका व्रत भाद्र शुक्ल पक्षको तृतीया (तिज) तिथिमा पर्ने भएकाले यसलाई ‘हरितालिका तिज’ भनिएको हो । हिजोआज यसलाई ‘तिज’मात्रै पनि भन्ने गरिन्छ । यसको शास्त्रीय प्रमाण स्कन्दपुराणको ‘हरितालिका महात्म्य’मा छ–
‘भाद्रशुक्लतृतीयायां स्त्रियः कुर्युः व्रतमिदम् ।’

अर्थात् भाद्र शुक्ल पक्षको तृतीया तिथि (तिज)मा स्त्रीहरूले यो व्रत गर्नुपर्छ । ‘स्त्रीहरूले व्रत गर्नुपर्छ’ले के भनिरहेको छ भने यो दिन महिलाहरूको कामना सिद्धिका लागि अधिक ब्रह्माण्डीय ऊर्जा एकत्रित हुने दिन हो । उनीहरूको व्रत र तपस्याले फल प्राप्त गर्ने दिन हो । यदि उनीहरूले यो दिन व्रत गर्छन् भने उनीहरूको व्रत निश्चय नै सिद्ध हुन्छ भन्ने दृष्टान्तको प्रमाण हो ।

  • सत्ययुगमा हरितालिका तिज शिव–पार्वती मिलनको कथा थियो भने त्रेतायुगमा यो व्रत राम–सीता र मिथिलाको नारीहरूले पालना गर्ने परम्परा बनेको देखिन्छ।  
  • पद्म पुराण, स्कन्द पुराण र हरिवंश पुराणमा यस्तो उल्लेख भएको पाइन्छ– ‘सत्ययुगमा पार्वतीले गरेको तपस्या त्रेतायुगदेखि नै नारीहरूले अनुकरण गरे। जसले यो व्रत गर्छ, उसको मनोकामना पूरा हुन्छ।’
  • त्यसो त तिज पर्व अहिले नारीअधिकार, सामाजिक चेतना र आत्मबलको प्रतीक पनि बनेको छ।  खासमा कलियुगको तिजले प्राचीन तपस्या, त्रेताको श्रद्धा, द्वापरको सामूहिकता र आजको सामाजिक भावनालाई एकैसाथ बोकेको छ। 

पार्वती को हुन् ? : पार्वती व्रत र तपस्याकी आदि स्रोत हुन् । महिलाको व्रत र तपस्याको महानता बताउने माता हुन् । महिलाको पवित्र तपस्याले ब्रह्माण्डको सर्वोच्चतालाई प्राप्त गर्न सक्छ भनेर सम्पूर्ण परिवारका महिलाहरूमा सन्देश पुर्‍याउने धर्तीकी आदिमाता हुन् । महिलाहरूको व्रत र तपस्याका प्रभावले मात्रै परिवारमा दिगो सुख, शान्ति, स्वास्थ्य, आयु, समृद्धि र मोक्ष प्राप्तिको सम्भव छ भनेर सम्पूर्ण लोकलाई सचेत बनाउने तपस्वी हुन् ।

भगवान् शिव ब्रह्माण्डको सर्वोच्चताको नाम हो । यो ब्रह्माण्डको परमशीर्षक हो । पार्वतीले यिनैलाई आफ्नो वरका रूपमा प्राप्त गर्नका लागि कठोर तपस्या र व्रत गरेकी थिइन् । अन्ततः उनले आफ्नो व्रतको बलले शिवलाई प्राप्त गरेरै छाडेकी थिइन् । यसले के बुझाउँछ भने यदि पुरुषहरूले शिवको तपस्या गर्छन् र त्यो तपस्याबाट शिव प्रसन्न भए भने उनीहरूले शिवबाट वरदान प्राप्त गर्छन् । परन्तु यदि महिलाले शिवको व्रत वा तपस्या गरे भने र शिव उनीहरूको तपस्यादेखि प्रसन्न भए भने उनीहरूले शिवलाई नै प्राप्त गर्छन् ।हरितालिका तिजमार्फत माता पार्वतीले लोकलाई यही सन्देश दिँदै आएकी छन् ।

सतीदेवी, पार्वती र हरितालिका व्रत

पुराणहरूमा उल्लेख गरिएको छ कि दक्ष प्रजापतिका ३३ कोटी छोरीहरू थिए । यीमध्ये सतीदेवी जेठी थिइन् । उनको विष्णु र ब्रह्माको सहयोगमा ‘छलयुक्त’ वा ‘विवश परिस्थिति’ सिर्जना गराई शिवसँग विवाह हुन्छ । बुढो साँढेमाथि चढेर भूतप्रेत, मसान र पिशाचलाई साथमा लिएर हिँड्ने परमसन्यासी, त्रिलोचन, व्याघ्रचर्मधारी, भष्मले लिप्त स्वरूपका शिवजी दक्षका नजरमा भने कहिल्यै पनि सतीका पति बन्न लायकका देखिन्नथे ।

सतीले भने शिवको यो स्वरूपभित्र ब्रह्माण्डको विराटस्वरूप देख्दथिन् । यसैले उनी बाल्यकालदेखि नै शिवलाई आफ्नो वरका रूपमा प्राप्त गर्न उनको अटल भक्तिभावमा ध्यानमग्न रहन्थिन् । सतीको शिवप्रतिको यही अटल भक्तिभावका कारण उनका पिता दक्षलाई उनको विवाह शिवसँग गराउन अनिच्छा हुँदाहुँदै पनि गराउन बाध्य हुन्छन् ।

विवाहपश्चात् शिव र सती कैलाश पर्वतमा जान्छन् र महान् तपस्यामय जीवन बिताउन थाल्छन् । तर दक्षले शिव आफ्नो ज्वाईं भइसकेपछि पनि उनलाई कहिल्यै सम्मानपूर्वक दृष्टिले हेर्दैनन् । पछि ‘दक्ष यज्ञ’मा शिवका प्रसंगले सतीको अपमान हुन्छ । यज्ञमा पति शिवको पिता दक्ष प्रजापतिद्वारा गरिएको अपमान सहन नसकी सतीदेवीले अग्निकुण्डमा आत्मदाह गर्छिन् । यो खबर शिवको कानमा नारदले पुर्‍याउँछन् । शिव अत्यन्त शोकाकुल भएर उनको निष्प्राण देहलाई अग्निकुण्डबाट बाहिर निकाली काँधमा बोकेर विश्व भ्रमण गर्छन् । शिवको यस विरह–वेदना र ताण्डवले सम्पूर्ण लोक–व्यवस्था अस्तव्यस्त हुन जान्छ । शिवको काँधमा बोकिएकीले सतीको शरीर जीवाणुमुक्त नै रहन्छ ।

सतीको शरीर शिवको काँधमा रहुन्जेल शिव शोकाकुल अवस्थामा नै रहिरहने र सम्पूर्ण लोकको अवस्था व्यवस्था पनि अस्तव्यस्त रहिरहने भन्ने जानेर भगवान् विष्णुले सतीको शरीरमा जीवाणु प्रवेश गराई उनको शरीरका अंगहरू पतन गराउँछन् । जहाँ जहाँ उनको अंग पतन हुन्छ, ती ठाउँहरूमा ‘शक्तिपीठ’हरू उत्पन्न हुन्छन् । सतीको शरीरबाट सम्पूर्ण अंगहरू एकेक गरी पतन भएपछि भगवान् शिव गृहस्थ जीवन त्यागेर पुनः तपस्यामा लीन हुन थाल्नुहुन्छ । ऋषिमुनिहरू र देवताहरूलाई यो थाहा हुन्छ कि ‘जबसम्म शिव र शक्तिको एकताबद्ध हुँदैन, तबसम्म त्रैलोक्य (शिव)को सन्तुलन सम्भव छैन । यसर्थ सतीको पुनर्जन्म अनिवार्य हुनुपर्छ ।’

तर यो कुरा सतीलाई पहिल्यै थाहा थियो । यस पटकको उनको जन्म कुनै पनि यज्ञका लागि शिवको महत्त्व आफ्नै पिता दक्ष प्रजापतिमार्फत लोकलाई बताउनका लागि पनि थियो । सतीको पुनर्जन्मका सन्दर्भमा देवीभागवत महापुराण (७.३३.३८–४३) मा सतीदेवीलाई उनले आत्मदाह गर्नुअघि नै भगवान् विष्णु र ब्रह्माले वरदान दिएका प्रसंग यसरी उल्लेख गरिएको छ, ‘हे देवी ! तिमी पुनः हिमालय राजको कन्या भएर जन्म लिनेछौ र शिवसँग पुनः विवाह हुनेछ ।’

नियतिको विधान कहिल्यै झुटो हुँदैन । यता सतीको मृत्यु हुनु र उता पुत्री प्राप्तिका लागि पर्वतराज हिमालय र उनकी पत्नी मेनकाले यिनै सती वा देवी आदिशक्तिको आराधना गर्नु र उनीहरूको तपस्यादेखि प्रसन्न भएर देवी स्वयं प्रकट भई ‘म आफैं तिमीहरूको गर्भमा पुत्री भएर जन्म लिनेछु’ भनेर वरदान दिनु अनि मेनकाको गर्भबाट पार्वती जन्मिनु र उनको पुनः शिवसँग मिलन हुनु यो सतीकै महान् तपोबलको प्रमाण हो ।

पार्वतीको जन्मको विषयमा स्कन्दपुराण 
(कुमार खण्ड, २३) मा भनिएको छ—
सत्या सती पुनर्जाता हिमालयस्य गृहे शुभा ।
मेनायाः गर्भसम्भूता पार्वतीति प्रसिद्धिता ।।

अर्थात्, सतीदेवी शुभरूपले पुनः हिमालयको गृहमै मेनका देवीको गर्भबाट जन्म लिइन् र पार्वती नामले प्रसिद्ध भइन् । अब जाऊँ पार्वतीमार्फत हरितालिका व्रतको प्रसंगका विषयमा । यसरी सतीदेवीको पुनर्जन्म पार्वतीका रूपमा शिवसँग पुनर्मिलनका लागि भएको थियो । अतः उनी बाल्यकालदेखि नै शिवलाई वर वरण गर्ने दृढ संकल्पमा थिइन् ।

तर उनका पिता हिमालयराजले पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने इच्छा गर्छन् । यो कुरा पार्वतीले चाल पाउँछिन् । शिवलाई मात्र वर वरण गर्ने पार्वतीको दृढ संकल्प थाहा पाएका उनका साथीहरूले पार्वतीलाई उनको घरबाट जबर्जस्ती अपहरण गरेर जंगलमा लगेर लुकाइदिन्छन् । त्यहीँ बसेर उनले शिवका लागि कठोर व्रत र तपस्या थाल्छिन् । उनको व्रतले शिव प्रसन्न हुन्छन् र आफू पार्वतीको वर स्वीकार्न मञ्जुर भएको पार्वतीलाई बताउँछन् ।
हरितालिका माता पार्वतीलाई सखीहरूले पिता हिमालयबाट अपहरण गरेर लुकाएको दिनलाई भनिएको हो । यसै दिनदेखि पार्वतीले शिवलाई वर प्राप्तिका लागि व्रत आरम्भ गरेको मानिन्छ । अतः पार्वतीले शिव वर प्राप्तिका लागि भाद्र शुक्ल तृतीयका दिन आरम्भ व्रतलाई नै ‘हरितालिका व्रत’ भन्ने गरिन्छ ।

तिजको यात्रा
आउनुहोस्, अब म तपाईंहरूलाई सत्ययुगदेखि कलियुगसम्म तिजको यात्रा गराउँछु । यो यात्रा उनै माता पार्वतीबाट आरम्भ हुन्छ । माता पार्वतीको जन्म सत्ययुगमा भएको थियो ।
  क) सत्ययुगमा तिज : सत्ययुग धर्म, सत्य र तपस्याको युग हो । हरितालिका तिज सत्ययुगमा देवी पार्वतीको भगवान् शिवलाई पति स्वरूप पाउन गरिएको कठोर तपस्यासँग सम्बन्धित छ ।

स्कन्दपुराणमा हरितालिका व्रतका विषयमा माता पार्वतीले भनेकी छन्–
हरितालिका व्रतेनैव लब्धो मे शंकरः स्वयं ।
यः स्त्री वा पुरुषो भक्तया करिष्यति स तं लभेत् ।।

अर्थात्, म (पार्वती)ले हरितालिका व्रत गरेर स्वयं भगवान् शंकरलाई प्राप्त गरें । जसले पनि भक्तिसहित यो व्रत गर्छ, ऊ पनि इच्छित वर प्राप्त गर्नेछ ।
यस श्लोकका अनुसार महिलामा भक्ति चाहिन्छ । यदि उनले भक्तिपूर्वक व्रत गर्छिन्, तपस्या गर्छिन् भने उनको व्रत शक्तिले अपार फल प्राप्त गर्ने क्षमता राख्दछ । माता पार्वतीले शिवलाई वरका रूपमा प्राप्त गर्नका निमित्त हिमालयको पुनीत वनमा १०८ वर्षसम्म तपस्या गरेको पुराणहरूमा उल्लेख गरिएको छ । व्रतमा उनले दिनमा फलाहार, रातमा उपवास, कहिलेकाहीँ केवल पात चपाउँदै, कहिलेकाहीँ त एकदमै निर्जल रहँदै वनमा १०८ वर्षसम्म तपस्या गरिन् ।

स्कन्द पुराणको हरितालिका महात्म्यको यो श्लोकमा माता पार्वतीले शिवलाई पति पाउनका लागि गरिएको संकल्पलाई यसरी उद्धृत गरिएको छ–
शिवं विना न विन्देयं पतिं, सर्वपतेः वरम् ।
तस्मात् तपोऽहं कुर्वाणि शंकरं प्राप्नुयामहम् ।।
अर्थात्, शिवको अतिरिक्त म कुनै पनि पति पाउन चाहन्नँ । बरु म कठोर तपस्या गर्दछु, ता कि शंकरलाई पति पाउन सकूँ । अन्ततः उनको तपस्याले प्रसन्न भएर भगवान् शिव प्रकट भई ‘तिमी मेरो अर्धांगिनी हुनेछ्यौ’ भनेर वर दिनुभयो ।

वास्तवमा पार्वतीको यही तपस्याको स्मरणमा हरितालिका तिज व्रतको आरम्भ भएको मानिन्छ । सत्ययुग सत्य र धर्मको युग भएको र यही युगमा तिज व्रत आरम्भ भएकोले यो व्रतलाई ‘अत्यन्त पवित्र र फलदायी’ भनिन्छ । यसर्थ सत्ययुगको तिज शुद्ध भक्ति, व्रत र तपस्याको प्रतीक थियो अनि भक्तिले देवतालाई प्राप्त गर्ने साधना थियो । अथवा नारी–शक्ति र तपस्याको आदर्शको उदाहरण थियो ।
ख) त्रेतायुगमा तिज :
पार्वत्याः पूजनं कृत्वा शंकरस्य च भक्तितः ।
रामं पतिं लब्धवती सीता धर्मपरायणम् ।।
(वाल्मीकि रामायण, बालकाण्ड ७३.३०)

अर्थात्, पार्वती र शंकरको भक्तिपूर्वक पूजन गरेपछि सीताले धर्मपरायण भगवान् रामलाई पति स्वरूप प्राप्त गरिन् । यसरी त्रेतायुगमा धर्म–संस्कृतिका धेरै महत्त्वपूर्ण घटनाहरू घटे । धर्मसंस्कारमा सामाजिक व्यवहार मिसिन थाले । सत्य युगको तिजको स्वरूपमा त्रेतायुगको रंग अलिअलि मिसिन थाल्यो ।

सत्ययुगमा पार्वतीको तपस्या र शिव–पार्वतीको विवाहलाई त्रेतायुगमा माता सीताले आदर्श दाम्पत्यको रूपमा मनन् गर्दै तिजको व्रतलाई निरन्तरता दिएको प्रसंग शास्त्रमा उल्लेख भएको पाइन्छ । रामायणकालमा माता सीताले श्रीरामसँग विवाह गर्नुअघि मातापिता र सहेलीहरूसँग मिलेर हरितालिका व्रत गर्नुभएको कथा पाइन्छ । सीताले पार्वतीलाई स्मरण गर्दै रामका लागि गरेको व्रत र तपस्याको प्रभाव नै सत्ययुगमा पार्वती र शिवको जस्तै सीता र रामको मिलन भएको थियो ।

मिथिला (जनकपुर)मा शिवको धनु हुनु सीता बाल्यकालदेखि नै शिव पार्वतीको जस्तै आफ्नो पनि त्यस्तै दाम्पत्य सुख चाहन्थिन् । पति–सुख र दाम्पत्य समृद्धिको कामना गर्थिन् । यसका लागि व्रतहरू गर्दथिन् भन्ने लोक कथात्मक प्रसंगहरू पाइन्छन् । यसरी त्रेतायुगमा पनि तिज व्रतलाई राम–सीता सम्बन्धसँग प्रतीकात्मक रूपमा जोडिएको पाइन्छ । नारीको श्रद्धा, भक्ति, पवित्रता र जीवनसाथीप्रति कन्याहरूको आकांक्षालाई पूर्ति गर्ने पर्वका रूपमा रहेको पाइन्छ ।

त्यसो त त्रेतायुगमा धर्मशास्त्रहरूका अनुसार नारीहरूले शिव–पार्वतीलाई आदर्श गृहस्थीको जोडी मानेर उपवास बस्ने, शिवको पूजा गर्ने, वनका हरिया पात–फूल अर्पण गर्दै व्रत बस्ने गरेका प्रसंगहरू उल्लेख भएको पाइन्छ । यसरी त्रेता युगमा पनि तिज पर्वको महत्त्व उल्लेखनीय रहेको पाइन्छ । पद्म पुराण, स्कन्द पुराण र हरिवंश पुराणमा यस्तो उल्लेख भएको पाइन्छ– ‘सत्ययुगमा पार्वतीले गरेको तपस्या त्रेतायुगदेखि नै नारीहरूले अनुकरण गरे । जसले यो व्रत गर्छ, उसको मनोकामना पूरा हुन्छ ।’ यसले के सिद्ध गर्दछ भने त्रेतायुगमा पनि यो व्रतलाई धर्मपरायण नारीहरूले शिव–पार्वतीको आदर्श सम्झेर गर्थे ।

त्यसैले त्रेतायुगमा तिजको अर्थ पति–सुख, दाम्पत्य प्रेम र परिवार कल्याणको प्रतीकात्मक अनुष्ठान भइसकेको थियो ।
ग) द्वापर युगमा तिज :
पतिं वरयितुं कन्या कुर्वीत व्रतमुत्तमम् ।
शिव व्रतेन द्रौपद्याः पतयः शाश्वता अभवन् ।।
अर्थात्, वर पाउन चाहने कन्याले उत्तम व्रत गर्नुपर्छ । शिव व्रतको प्रभावले द्रौपदीका पाँचै पतिको आयु दीर्घकालीन भयो । यसर्थ, द्वापरयुगमा महिलाहरू व्रत गरेर पतिको दीर्घायु, सौभाग्य र सुयोग्य वर प्राप्त गर्न चाहन्थे । अथवा द्वापरमा तिजले पति–पत्नीबीचको आत्मीयता, सौभाग्य र दीर्घजीवनको प्रार्थनालाई मुख्य लक्ष्य बनायो ।

गोकुल–वृन्दावनमा गोपिनीहरू कृष्णलाई वर मान्दै व्रत बस्ने परम्परा थियो । अतः द्वापरयुगमा तिजलाई सामूहिक उत्सवको रूपमा लिइएको देखिन्छ । व्रतमा पतिको दीर्घायुको कामना र पारिवारिक सुखको कामना विशेष रहन्थ्यो । द्रौपदीले धर्मराज युधिष्ठिरको दीर्घायुका लागि व्रत गरेको महाभारतमा उल्लेख भएको पाइन्छ । यस प्रकार द्वापरयुगको तिज महिलाको सौभाग्य र वैवाहिक स्थायित्वको प्रतीकका रूपमा रह्यो ।null

घ) कलियुगमा तिज : कलियुगमा धर्म भनेको भगवान् हरिको नाम जप गर्नु र कीर्तन गर्नु हो । स्त्रीहरूको सौभाग्य वृद्धि गर्ने व्रत हो  । महिलाहरू व्रतका लागि तयार हुनुपर्‍यो, उनीहरूको व्रत सिद्ध हुने कुरा उनीहरूकै रगतमा लेखिएर आएको हुन्छ । आज कलियुगमा आइपुग्दासम्म पनि महिला हरितालिका तिजमा व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् । सौभाग्य, परिवारको सुख–समृद्धि र आत्मशुद्धिको कामना गर्छन् । त्यसो त तिज पर्व अहिले नारीअधिकार, सामाजिक चेतना र आत्मबलको प्रतीक पनि बनेको छ । यसमा गीत–संगीत, नृत्य र सामूहिक भजन–कीर्तन पनि जोडिएर आएको छ । सामाजिक र सांस्कृतिक महोत्सव बनेर आएको छ । यसरी कलियुगको तिजले प्राचीन तपस्या, त्रेताको श्रद्धा, द्वापरको सामूहिकता र आजको सामाजिक भावनालाई एकैसाथ बोकेको छ । हरितालिका तिज–
—    परिवारले पूर्णता पाउने दिन हो । अर्थात् दिव्य पारिवारिक मिलनको दिन हो ।
—    शिव र शक्तिको मिलनको अविरल परम्परालाई पुष्टि गर्ने महत्त्वपूर्ण पर्व हो ।
—    नारी (शक्ति) यदि अंश अंशमा विभाजन भयो भने शिवसँग मिलेर शक्ति पीठहरू बन्ने सन्देश हो ।
—    महिलाको व्रतशक्ति जन्मौं जन्मसम्म पारिवारिक सुख अर्थात् दाम्पत्य सुख प्राप्त गर्न र गराउनका लागि महत्त्वपूर्ण छ । अथवा आदर्श दाम्पत्य जीवनका लागि महत्त्वपूर्ण छ ।

यसर्थ तिज पति सुख, दाम्पत्य आदर्श र आत्मशुद्धि दिलाउने पर्वका रूपमा आजसम्म सत्ययुगदेखि चलिआएको परम्परा हो । पारिवारिक पुनर्मिलनका लागि यो पर्वको महत्त्व वर्णनातीत छ ।

अब अन्तमा, सत्ययुगमा हरितालिका तिज शिव–पार्वती मिलनको कथा थियो भने त्रेतायुगमा यो व्रत राम–सीता र मिथिलाको नारीहरूले पालना गर्ने परम्परा बनेको देखिन्छ । यसले स्पष्ट गर्छ कि तिज केवल एक युगको परम्परा नभई सत्ययुगदेखि त्रेता हुँदै द्वापर र कलियुगसम्म निरन्तर प्रसारित भएको महान् व्रत हो । भन्नैपर्दा, तिज सत्ययुगको तपस्या र त्रेतायुगको श्रद्धा हो भने द्वापर युगको सामूहिकता र कलियुगको नारी–शक्ति, भक्ति र सांस्कृतिक एकताको महापर्व हो । अस्तु !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.