तिज सत्ययुगको तपस्या र त्रेतायुगको श्रद्धा हो भने द्वापर युगको सामूहिकता र कलियुगको नारी–शक्ति, भक्ति र सांस्कृतिक एकताको महापर्व हो।
‘तिज’ जीवित शब्द हो । यसको तन स्वास्थ्य छ, मन पवित्र छ र वचन शुद्ध छ । यसको जन्म सत्ययुगको भाद्र शुक्ल तृतीयाका दिनमा भयो । परन्तु आजसम्म यसले सास फेरिरहेको छ । चतुर्युगसम्म बाँच्न सफल भएका शब्दलाई पूर्णायुका शब्द भनिन्छ । तिज चतुर्युगसम्म बाँचेको शब्द हो ।
अतः यो पूर्णायुको शब्द हो । पूर्णायुसम्म बाँचेका शब्दमा लोक कल्याणका लागि प्रशस्त ऊर्जा रहेको हुन्छ । ती शब्दमा भएका ऊर्जाले लोकलाई चारै युगसम्म कल्याणको मार्गमा हिँड्न प्रेरित गर्छन् । तिज यही वर्गमा पर्ने शब्दको उदाहरण हो । यसले सत्ययुगदेखि आजसम्म लोकलाई पारिवारिक मिलनको दिव्य बाटो र गन्तव्य देखाउँदै आएको छ । सबैलाई पूर्णायुको जीवन बाँच्ने तरिका सिकाउँदै आएको छ ।
शब्द, सृष्टि र स्रष्टा : त्यसो त सबै शब्दमा प्राण हुन्छ । कुनै पनि शब्दहरू निष्प्राण हुँदैनन् । शब्दलाई जीवित राख्ने कर्तव्य स्रष्टाको हो । यदि स्रष्टाले शब्दको परमार्थ बुझेको छ अथवा शब्दमा भएको प्राणलाई अनुभव गर्न सक्दछ भने उसलाई सिर्जना गर्ने अधिकार दिनुपर्छ । किनकि ऊ निश्चय नै स्रष्टा हो ।
हरितालिका शब्दको उत्पत्ति : व्रतसँग जोडिएको ‘हरित्’ र ‘आलिका’ दुई शब्दहरू मिलेर बनेको संयुक्त शब्द हो, ‘हरितालिका’ । जहाँ ‘हरित्’को अर्थ हरियो जंगल हुन्छ भने ‘आलिका’ भनेको साथीहरूले अपहरण गरेर लग्नु भन्ने हुन्छ । संक्षिप्तमा हरितालिकाले ‘हरण गर्ने सखीहरू’लाई बुझाउँछ ।
स्कन्दपुराणको तलको श्लोकले हरितालिकाको न्वारन कसरी गरेको रहेछ हेरौं–
हरितालिकया नाम्ना सखीया सा तदा मम ।
हरित्वा मां वनं नीत्वा व्रताय समुपानयत् ।।
अर्थात्, ‘त्यसबेला’ मेरा ‘आलिका’ (सखी)ले ‘मलाई’ हरण गरी वनतर्फ लगे । त्यसैले यो व्रतको नाम ‘हरितालिका’ रह्यो । यहाँ ‘त्यसबेला’ले सत्ययुगलाई र ‘मलाई’ले पार्वतीलाई अनि ‘आलिका’ले पार्वतीका सखीहरूलाई बुझाएका छन् । यस्तै हरितालिकाले पार्वतीले शिवलाई आफ्नो वरको रूपमा प्राप्त गरूँ भनेर गरिएको व्रतलाई बुझाउँछ ।
हरितालिका कसरी हरितालिका तिज हुन गयो ?
संस्कृतमा ‘त्रिज्या’ वा ‘त्रितीया’ शब्दबाट ‘तिज’ आएको हो । यहाँ तृतीयाले चन्द्रमाको तेस्रो दिन वा तिथि भन्ने बुझाउँछ । यसैअनुसार हरितालिका व्रत भाद्र शुक्ल पक्षको तृतीया (तिज) तिथिमा पर्ने भएकाले यसलाई ‘हरितालिका तिज’ भनिएको हो । हिजोआज यसलाई ‘तिज’मात्रै पनि भन्ने गरिन्छ । यसको शास्त्रीय प्रमाण स्कन्दपुराणको ‘हरितालिका महात्म्य’मा छ–
‘भाद्रशुक्लतृतीयायां स्त्रियः कुर्युः व्रतमिदम् ।’
अर्थात् भाद्र शुक्ल पक्षको तृतीया तिथि (तिज)मा स्त्रीहरूले यो व्रत गर्नुपर्छ । ‘स्त्रीहरूले व्रत गर्नुपर्छ’ले के भनिरहेको छ भने यो दिन महिलाहरूको कामना सिद्धिका लागि अधिक ब्रह्माण्डीय ऊर्जा एकत्रित हुने दिन हो । उनीहरूको व्रत र तपस्याले फल प्राप्त गर्ने दिन हो । यदि उनीहरूले यो दिन व्रत गर्छन् भने उनीहरूको व्रत निश्चय नै सिद्ध हुन्छ भन्ने दृष्टान्तको प्रमाण हो ।
- सत्ययुगमा हरितालिका तिज शिव–पार्वती मिलनको कथा थियो भने त्रेतायुगमा यो व्रत राम–सीता र मिथिलाको नारीहरूले पालना गर्ने परम्परा बनेको देखिन्छ।
- पद्म पुराण, स्कन्द पुराण र हरिवंश पुराणमा यस्तो उल्लेख भएको पाइन्छ– ‘सत्ययुगमा पार्वतीले गरेको तपस्या त्रेतायुगदेखि नै नारीहरूले अनुकरण गरे। जसले यो व्रत गर्छ, उसको मनोकामना पूरा हुन्छ।’
- त्यसो त तिज पर्व अहिले नारीअधिकार, सामाजिक चेतना र आत्मबलको प्रतीक पनि बनेको छ। खासमा कलियुगको तिजले प्राचीन तपस्या, त्रेताको श्रद्धा, द्वापरको सामूहिकता र आजको सामाजिक भावनालाई एकैसाथ बोकेको छ।
पार्वती को हुन् ? : पार्वती व्रत र तपस्याकी आदि स्रोत हुन् । महिलाको व्रत र तपस्याको महानता बताउने माता हुन् । महिलाको पवित्र तपस्याले ब्रह्माण्डको सर्वोच्चतालाई प्राप्त गर्न सक्छ भनेर सम्पूर्ण परिवारका महिलाहरूमा सन्देश पुर्याउने धर्तीकी आदिमाता हुन् । महिलाहरूको व्रत र तपस्याका प्रभावले मात्रै परिवारमा दिगो सुख, शान्ति, स्वास्थ्य, आयु, समृद्धि र मोक्ष प्राप्तिको सम्भव छ भनेर सम्पूर्ण लोकलाई सचेत बनाउने तपस्वी हुन् ।
भगवान् शिव ब्रह्माण्डको सर्वोच्चताको नाम हो । यो ब्रह्माण्डको परमशीर्षक हो । पार्वतीले यिनैलाई आफ्नो वरका रूपमा प्राप्त गर्नका लागि कठोर तपस्या र व्रत गरेकी थिइन् । अन्ततः उनले आफ्नो व्रतको बलले शिवलाई प्राप्त गरेरै छाडेकी थिइन् । यसले के बुझाउँछ भने यदि पुरुषहरूले शिवको तपस्या गर्छन् र त्यो तपस्याबाट शिव प्रसन्न भए भने उनीहरूले शिवबाट वरदान प्राप्त गर्छन् । परन्तु यदि महिलाले शिवको व्रत वा तपस्या गरे भने र शिव उनीहरूको तपस्यादेखि प्रसन्न भए भने उनीहरूले शिवलाई नै प्राप्त गर्छन् ।हरितालिका तिजमार्फत माता पार्वतीले लोकलाई यही सन्देश दिँदै आएकी छन् ।
सतीदेवी, पार्वती र हरितालिका व्रत
पुराणहरूमा उल्लेख गरिएको छ कि दक्ष प्रजापतिका ३३ कोटी छोरीहरू थिए । यीमध्ये सतीदेवी जेठी थिइन् । उनको विष्णु र ब्रह्माको सहयोगमा ‘छलयुक्त’ वा ‘विवश परिस्थिति’ सिर्जना गराई शिवसँग विवाह हुन्छ । बुढो साँढेमाथि चढेर भूतप्रेत, मसान र पिशाचलाई साथमा लिएर हिँड्ने परमसन्यासी, त्रिलोचन, व्याघ्रचर्मधारी, भष्मले लिप्त स्वरूपका शिवजी दक्षका नजरमा भने कहिल्यै पनि सतीका पति बन्न लायकका देखिन्नथे ।
सतीले भने शिवको यो स्वरूपभित्र ब्रह्माण्डको विराटस्वरूप देख्दथिन् । यसैले उनी बाल्यकालदेखि नै शिवलाई आफ्नो वरका रूपमा प्राप्त गर्न उनको अटल भक्तिभावमा ध्यानमग्न रहन्थिन् । सतीको शिवप्रतिको यही अटल भक्तिभावका कारण उनका पिता दक्षलाई उनको विवाह शिवसँग गराउन अनिच्छा हुँदाहुँदै पनि गराउन बाध्य हुन्छन् ।
विवाहपश्चात् शिव र सती कैलाश पर्वतमा जान्छन् र महान् तपस्यामय जीवन बिताउन थाल्छन् । तर दक्षले शिव आफ्नो ज्वाईं भइसकेपछि पनि उनलाई कहिल्यै सम्मानपूर्वक दृष्टिले हेर्दैनन् । पछि ‘दक्ष यज्ञ’मा शिवका प्रसंगले सतीको अपमान हुन्छ । यज्ञमा पति शिवको पिता दक्ष प्रजापतिद्वारा गरिएको अपमान सहन नसकी सतीदेवीले अग्निकुण्डमा आत्मदाह गर्छिन् । यो खबर शिवको कानमा नारदले पुर्याउँछन् । शिव अत्यन्त शोकाकुल भएर उनको निष्प्राण देहलाई अग्निकुण्डबाट बाहिर निकाली काँधमा बोकेर विश्व भ्रमण गर्छन् । शिवको यस विरह–वेदना र ताण्डवले सम्पूर्ण लोक–व्यवस्था अस्तव्यस्त हुन जान्छ । शिवको काँधमा बोकिएकीले सतीको शरीर जीवाणुमुक्त नै रहन्छ ।
सतीको शरीर शिवको काँधमा रहुन्जेल शिव शोकाकुल अवस्थामा नै रहिरहने र सम्पूर्ण लोकको अवस्था व्यवस्था पनि अस्तव्यस्त रहिरहने भन्ने जानेर भगवान् विष्णुले सतीको शरीरमा जीवाणु प्रवेश गराई उनको शरीरका अंगहरू पतन गराउँछन् । जहाँ जहाँ उनको अंग पतन हुन्छ, ती ठाउँहरूमा ‘शक्तिपीठ’हरू उत्पन्न हुन्छन् । सतीको शरीरबाट सम्पूर्ण अंगहरू एकेक गरी पतन भएपछि भगवान् शिव गृहस्थ जीवन त्यागेर पुनः तपस्यामा लीन हुन थाल्नुहुन्छ । ऋषिमुनिहरू र देवताहरूलाई यो थाहा हुन्छ कि ‘जबसम्म शिव र शक्तिको एकताबद्ध हुँदैन, तबसम्म त्रैलोक्य (शिव)को सन्तुलन सम्भव छैन । यसर्थ सतीको पुनर्जन्म अनिवार्य हुनुपर्छ ।’
तर यो कुरा सतीलाई पहिल्यै थाहा थियो । यस पटकको उनको जन्म कुनै पनि यज्ञका लागि शिवको महत्त्व आफ्नै पिता दक्ष प्रजापतिमार्फत लोकलाई बताउनका लागि पनि थियो । सतीको पुनर्जन्मका सन्दर्भमा देवीभागवत महापुराण (७.३३.३८–४३) मा सतीदेवीलाई उनले आत्मदाह गर्नुअघि नै भगवान् विष्णु र ब्रह्माले वरदान दिएका प्रसंग यसरी उल्लेख गरिएको छ, ‘हे देवी ! तिमी पुनः हिमालय राजको कन्या भएर जन्म लिनेछौ र शिवसँग पुनः विवाह हुनेछ ।’
नियतिको विधान कहिल्यै झुटो हुँदैन । यता सतीको मृत्यु हुनु र उता पुत्री प्राप्तिका लागि पर्वतराज हिमालय र उनकी पत्नी मेनकाले यिनै सती वा देवी आदिशक्तिको आराधना गर्नु र उनीहरूको तपस्यादेखि प्रसन्न भएर देवी स्वयं प्रकट भई ‘म आफैं तिमीहरूको गर्भमा पुत्री भएर जन्म लिनेछु’ भनेर वरदान दिनु अनि मेनकाको गर्भबाट पार्वती जन्मिनु र उनको पुनः शिवसँग मिलन हुनु यो सतीकै महान् तपोबलको प्रमाण हो ।
पार्वतीको जन्मको विषयमा स्कन्दपुराण
(कुमार खण्ड, २३) मा भनिएको छ—
सत्या सती पुनर्जाता हिमालयस्य गृहे शुभा ।
मेनायाः गर्भसम्भूता पार्वतीति प्रसिद्धिता ।।
अर्थात्, सतीदेवी शुभरूपले पुनः हिमालयको गृहमै मेनका देवीको गर्भबाट जन्म लिइन् र पार्वती नामले प्रसिद्ध भइन् । अब जाऊँ पार्वतीमार्फत हरितालिका व्रतको प्रसंगका विषयमा । यसरी सतीदेवीको पुनर्जन्म पार्वतीका रूपमा शिवसँग पुनर्मिलनका लागि भएको थियो । अतः उनी बाल्यकालदेखि नै शिवलाई वर वरण गर्ने दृढ संकल्पमा थिइन् ।
तर उनका पिता हिमालयराजले पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने इच्छा गर्छन् । यो कुरा पार्वतीले चाल पाउँछिन् । शिवलाई मात्र वर वरण गर्ने पार्वतीको दृढ संकल्प थाहा पाएका उनका साथीहरूले पार्वतीलाई उनको घरबाट जबर्जस्ती अपहरण गरेर जंगलमा लगेर लुकाइदिन्छन् । त्यहीँ बसेर उनले शिवका लागि कठोर व्रत र तपस्या थाल्छिन् । उनको व्रतले शिव प्रसन्न हुन्छन् र आफू पार्वतीको वर स्वीकार्न मञ्जुर भएको पार्वतीलाई बताउँछन् ।
हरितालिका माता पार्वतीलाई सखीहरूले पिता हिमालयबाट अपहरण गरेर लुकाएको दिनलाई भनिएको हो । यसै दिनदेखि पार्वतीले शिवलाई वर प्राप्तिका लागि व्रत आरम्भ गरेको मानिन्छ । अतः पार्वतीले शिव वर प्राप्तिका लागि भाद्र शुक्ल तृतीयका दिन आरम्भ व्रतलाई नै ‘हरितालिका व्रत’ भन्ने गरिन्छ ।
तिजको यात्रा
आउनुहोस्, अब म तपाईंहरूलाई सत्ययुगदेखि कलियुगसम्म तिजको यात्रा गराउँछु । यो यात्रा उनै माता पार्वतीबाट आरम्भ हुन्छ । माता पार्वतीको जन्म सत्ययुगमा भएको थियो ।
क) सत्ययुगमा तिज : सत्ययुग धर्म, सत्य र तपस्याको युग हो । हरितालिका तिज सत्ययुगमा देवी पार्वतीको भगवान् शिवलाई पति स्वरूप पाउन गरिएको कठोर तपस्यासँग सम्बन्धित छ ।
स्कन्दपुराणमा हरितालिका व्रतका विषयमा माता पार्वतीले भनेकी छन्–
हरितालिका व्रतेनैव लब्धो मे शंकरः स्वयं ।
यः स्त्री वा पुरुषो भक्तया करिष्यति स तं लभेत् ।।
अर्थात्, म (पार्वती)ले हरितालिका व्रत गरेर स्वयं भगवान् शंकरलाई प्राप्त गरें । जसले पनि भक्तिसहित यो व्रत गर्छ, ऊ पनि इच्छित वर प्राप्त गर्नेछ ।
यस श्लोकका अनुसार महिलामा भक्ति चाहिन्छ । यदि उनले भक्तिपूर्वक व्रत गर्छिन्, तपस्या गर्छिन् भने उनको व्रत शक्तिले अपार फल प्राप्त गर्ने क्षमता राख्दछ । माता पार्वतीले शिवलाई वरका रूपमा प्राप्त गर्नका निमित्त हिमालयको पुनीत वनमा १०८ वर्षसम्म तपस्या गरेको पुराणहरूमा उल्लेख गरिएको छ । व्रतमा उनले दिनमा फलाहार, रातमा उपवास, कहिलेकाहीँ केवल पात चपाउँदै, कहिलेकाहीँ त एकदमै निर्जल रहँदै वनमा १०८ वर्षसम्म तपस्या गरिन् ।
स्कन्द पुराणको हरितालिका महात्म्यको यो श्लोकमा माता पार्वतीले शिवलाई पति पाउनका लागि गरिएको संकल्पलाई यसरी उद्धृत गरिएको छ–
शिवं विना न विन्देयं पतिं, सर्वपतेः वरम् ।
तस्मात् तपोऽहं कुर्वाणि शंकरं प्राप्नुयामहम् ।।
अर्थात्, शिवको अतिरिक्त म कुनै पनि पति पाउन चाहन्नँ । बरु म कठोर तपस्या गर्दछु, ता कि शंकरलाई पति पाउन सकूँ । अन्ततः उनको तपस्याले प्रसन्न भएर भगवान् शिव प्रकट भई ‘तिमी मेरो अर्धांगिनी हुनेछ्यौ’ भनेर वर दिनुभयो ।
वास्तवमा पार्वतीको यही तपस्याको स्मरणमा हरितालिका तिज व्रतको आरम्भ भएको मानिन्छ । सत्ययुग सत्य र धर्मको युग भएको र यही युगमा तिज व्रत आरम्भ भएकोले यो व्रतलाई ‘अत्यन्त पवित्र र फलदायी’ भनिन्छ । यसर्थ सत्ययुगको तिज शुद्ध भक्ति, व्रत र तपस्याको प्रतीक थियो अनि भक्तिले देवतालाई प्राप्त गर्ने साधना थियो । अथवा नारी–शक्ति र तपस्याको आदर्शको उदाहरण थियो ।
ख) त्रेतायुगमा तिज :
पार्वत्याः पूजनं कृत्वा शंकरस्य च भक्तितः ।
रामं पतिं लब्धवती सीता धर्मपरायणम् ।।
(वाल्मीकि रामायण, बालकाण्ड ७३.३०)
अर्थात्, पार्वती र शंकरको भक्तिपूर्वक पूजन गरेपछि सीताले धर्मपरायण भगवान् रामलाई पति स्वरूप प्राप्त गरिन् । यसरी त्रेतायुगमा धर्म–संस्कृतिका धेरै महत्त्वपूर्ण घटनाहरू घटे । धर्मसंस्कारमा सामाजिक व्यवहार मिसिन थाले । सत्य युगको तिजको स्वरूपमा त्रेतायुगको रंग अलिअलि मिसिन थाल्यो ।
सत्ययुगमा पार्वतीको तपस्या र शिव–पार्वतीको विवाहलाई त्रेतायुगमा माता सीताले आदर्श दाम्पत्यको रूपमा मनन् गर्दै तिजको व्रतलाई निरन्तरता दिएको प्रसंग शास्त्रमा उल्लेख भएको पाइन्छ । रामायणकालमा माता सीताले श्रीरामसँग विवाह गर्नुअघि मातापिता र सहेलीहरूसँग मिलेर हरितालिका व्रत गर्नुभएको कथा पाइन्छ । सीताले पार्वतीलाई स्मरण गर्दै रामका लागि गरेको व्रत र तपस्याको प्रभाव नै सत्ययुगमा पार्वती र शिवको जस्तै सीता र रामको मिलन भएको थियो ।
मिथिला (जनकपुर)मा शिवको धनु हुनु सीता बाल्यकालदेखि नै शिव पार्वतीको जस्तै आफ्नो पनि त्यस्तै दाम्पत्य सुख चाहन्थिन् । पति–सुख र दाम्पत्य समृद्धिको कामना गर्थिन् । यसका लागि व्रतहरू गर्दथिन् भन्ने लोक कथात्मक प्रसंगहरू पाइन्छन् । यसरी त्रेतायुगमा पनि तिज व्रतलाई राम–सीता सम्बन्धसँग प्रतीकात्मक रूपमा जोडिएको पाइन्छ । नारीको श्रद्धा, भक्ति, पवित्रता र जीवनसाथीप्रति कन्याहरूको आकांक्षालाई पूर्ति गर्ने पर्वका रूपमा रहेको पाइन्छ ।
त्यसो त त्रेतायुगमा धर्मशास्त्रहरूका अनुसार नारीहरूले शिव–पार्वतीलाई आदर्श गृहस्थीको जोडी मानेर उपवास बस्ने, शिवको पूजा गर्ने, वनका हरिया पात–फूल अर्पण गर्दै व्रत बस्ने गरेका प्रसंगहरू उल्लेख भएको पाइन्छ । यसरी त्रेता युगमा पनि तिज पर्वको महत्त्व उल्लेखनीय रहेको पाइन्छ । पद्म पुराण, स्कन्द पुराण र हरिवंश पुराणमा यस्तो उल्लेख भएको पाइन्छ– ‘सत्ययुगमा पार्वतीले गरेको तपस्या त्रेतायुगदेखि नै नारीहरूले अनुकरण गरे । जसले यो व्रत गर्छ, उसको मनोकामना पूरा हुन्छ ।’ यसले के सिद्ध गर्दछ भने त्रेतायुगमा पनि यो व्रतलाई धर्मपरायण नारीहरूले शिव–पार्वतीको आदर्श सम्झेर गर्थे ।
त्यसैले त्रेतायुगमा तिजको अर्थ पति–सुख, दाम्पत्य प्रेम र परिवार कल्याणको प्रतीकात्मक अनुष्ठान भइसकेको थियो ।
ग) द्वापर युगमा तिज :
पतिं वरयितुं कन्या कुर्वीत व्रतमुत्तमम् ।
शिव व्रतेन द्रौपद्याः पतयः शाश्वता अभवन् ।।
अर्थात्, वर पाउन चाहने कन्याले उत्तम व्रत गर्नुपर्छ । शिव व्रतको प्रभावले द्रौपदीका पाँचै पतिको आयु दीर्घकालीन भयो । यसर्थ, द्वापरयुगमा महिलाहरू व्रत गरेर पतिको दीर्घायु, सौभाग्य र सुयोग्य वर प्राप्त गर्न चाहन्थे । अथवा द्वापरमा तिजले पति–पत्नीबीचको आत्मीयता, सौभाग्य र दीर्घजीवनको प्रार्थनालाई मुख्य लक्ष्य बनायो ।
गोकुल–वृन्दावनमा गोपिनीहरू कृष्णलाई वर मान्दै व्रत बस्ने परम्परा थियो । अतः द्वापरयुगमा तिजलाई सामूहिक उत्सवको रूपमा लिइएको देखिन्छ । व्रतमा पतिको दीर्घायुको कामना र पारिवारिक सुखको कामना विशेष रहन्थ्यो । द्रौपदीले धर्मराज युधिष्ठिरको दीर्घायुका लागि व्रत गरेको महाभारतमा उल्लेख भएको पाइन्छ । यस प्रकार द्वापरयुगको तिज महिलाको सौभाग्य र वैवाहिक स्थायित्वको प्रतीकका रूपमा रह्यो ।
घ) कलियुगमा तिज : कलियुगमा धर्म भनेको भगवान् हरिको नाम जप गर्नु र कीर्तन गर्नु हो । स्त्रीहरूको सौभाग्य वृद्धि गर्ने व्रत हो । महिलाहरू व्रतका लागि तयार हुनुपर्यो, उनीहरूको व्रत सिद्ध हुने कुरा उनीहरूकै रगतमा लेखिएर आएको हुन्छ । आज कलियुगमा आइपुग्दासम्म पनि महिला हरितालिका तिजमा व्रत बसेर शिव–पार्वतीको पूजा गर्छन् । सौभाग्य, परिवारको सुख–समृद्धि र आत्मशुद्धिको कामना गर्छन् । त्यसो त तिज पर्व अहिले नारीअधिकार, सामाजिक चेतना र आत्मबलको प्रतीक पनि बनेको छ । यसमा गीत–संगीत, नृत्य र सामूहिक भजन–कीर्तन पनि जोडिएर आएको छ । सामाजिक र सांस्कृतिक महोत्सव बनेर आएको छ । यसरी कलियुगको तिजले प्राचीन तपस्या, त्रेताको श्रद्धा, द्वापरको सामूहिकता र आजको सामाजिक भावनालाई एकैसाथ बोकेको छ । हरितालिका तिज–
— परिवारले पूर्णता पाउने दिन हो । अर्थात् दिव्य पारिवारिक मिलनको दिन हो ।
— शिव र शक्तिको मिलनको अविरल परम्परालाई पुष्टि गर्ने महत्त्वपूर्ण पर्व हो ।
— नारी (शक्ति) यदि अंश अंशमा विभाजन भयो भने शिवसँग मिलेर शक्ति पीठहरू बन्ने सन्देश हो ।
— महिलाको व्रतशक्ति जन्मौं जन्मसम्म पारिवारिक सुख अर्थात् दाम्पत्य सुख प्राप्त गर्न र गराउनका लागि महत्त्वपूर्ण छ । अथवा आदर्श दाम्पत्य जीवनका लागि महत्त्वपूर्ण छ ।
यसर्थ तिज पति सुख, दाम्पत्य आदर्श र आत्मशुद्धि दिलाउने पर्वका रूपमा आजसम्म सत्ययुगदेखि चलिआएको परम्परा हो । पारिवारिक पुनर्मिलनका लागि यो पर्वको महत्त्व वर्णनातीत छ ।
अब अन्तमा, सत्ययुगमा हरितालिका तिज शिव–पार्वती मिलनको कथा थियो भने त्रेतायुगमा यो व्रत राम–सीता र मिथिलाको नारीहरूले पालना गर्ने परम्परा बनेको देखिन्छ । यसले स्पष्ट गर्छ कि तिज केवल एक युगको परम्परा नभई सत्ययुगदेखि त्रेता हुँदै द्वापर र कलियुगसम्म निरन्तर प्रसारित भएको महान् व्रत हो । भन्नैपर्दा, तिज सत्ययुगको तपस्या र त्रेतायुगको श्रद्धा हो भने द्वापर युगको सामूहिकता र कलियुगको नारी–शक्ति, भक्ति र सांस्कृतिक एकताको महापर्व हो । अस्तु !
प्रतिक्रिया दिनुहोस !