नेपालगन्ज : नेपाल–भारतको संयुक्त सीमा कार्य समूह अर्थात् बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) ले दक्षिण सीमा क्षेत्रको दसगजा र सीमा व्यवस्थापनको कार्य सुरु गरेको छ। बीडब्लूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्।
पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले ४९ वटा सीमा स्तम्भको मर्मत गरिसकेको छ भने २२ वटाको पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि ४६ वटाको मर्मत र १६ वटाको पुनर्निर्माण गरेका छन्। सीमा तथा दसगजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। यसै क्रममा दुई देशका प्राविधिकहरूले नेपालगन्ज जमुनाह नाकानजिकै भारतीय पक्षले दसगजा क्षेत्रमा बनाएको एउटा मन्दिर भत्काएका छन्।
संयुक्त सीमा कार्य समूहले जिल्लाको ६५ किलोमिटर सीमा क्षेत्र दसगजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताए। उनका अनुसार अब भारतले राप्ती नदीभित्र दुईवटा सीमा स्तम्भ निर्माण गर्न बाँकी छ। नदीमा ४३ र ६४५ नम्बरका सीमा स्तम्भ निर्माण गर्ने जिम्मा भारतीय पक्षको छ।
सीमासम्बन्धी फिल्ड कार्यको समन्वयकर्तासमेत रहेका प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘बिजोड नम्बरका पिलर नेपालले बनाइसकेको छ, भारतले जोर नम्बरका बनाएको छ। नदीमा दुईवटा स्तम्भ निर्माण गर्ने कार्यबाहेक अब कुनै पनि सीमा समस्या छैन।’ सीमा व्यवस्थापनका लागि प्राविधिकहरूको नेपालगन्जमा बैठक तय गरिएको छ। जसमा नापी विभागका अधिकारी, बाँके, बर्दिया र कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीसँगै यी जिल्लासँग सीमा जोडिएका भारतका डिस्ट्रिक्ट मजिस्ट्रेट (डीएम) र फिल्ड सर्भे टिमको सहभागिता रहनेछ। यस्तै कार्य नेपाल–भारत सीमाका सबैतिर भइरहेको छ। कतै कार्य सम्पन्न भइसकेको छ भने कतै अन्तिम चरणमा पुगेको छ।
गत वर्ष भारतको दिल्लीमा भएको सीमा कार्य समूहको सातौं बैठकमा संयुक्त टोलीबीच सीमा स्तम्भ मर्मतसँगै अतिक्रमणको विवरण संकलन तथा अन्य प्राविधिक काम सन् २०२७ भित्र टुंग्याउने सहमति भएको थियो। त्यस बेला नापी विभागका तत्कालीन महानिर्देशक प्रकाश जोशी र भारतीय समकक्षी एस. मकवानाबीच सहमतिपत्रमा हस्ताक्षरसमेत आदानप्रदान गरिएको थियो।
निर्धारित समयसीमा सकिन अब एक वर्ष बाँकी छ, तर सीमा समस्याको पूर्ण टुंगो लाग्ने लक्षण देखिएको छैन। यसअघि सन् २०१५ र २०१७ मा पनि दुईवटा समयसीमा निर्धारण गरिएका थिए।
अन्य सीमा क्षेत्रको समस्या समाधान हुँदै आए पनि सुस्ता, कालापानी र लिम्पियाधुराको प्राविधिक काम र समस्या अझै सुल्झिन सकेको छैन। जब कि दिल्लीमा भएको सातौं बैठकमा नेपाल–भारत सीमासम्बन्धी प्राविधिक काम तीन वर्षभित्र सम्पन्न गर्ने निर्णय गरिएको थियो। उक्त समूहलाई दिइएको कार्यादेशअनुसार नयाँ समयसीमा तय गर्ने काम भइरहेको छ, तर अपेक्षाकृत रूपमा चाँडो फिल्ड कार्य सुरु हुन सकेको छैन। दिल्ली बैठकमा परराष्ट्र, रक्षा र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरू समेत सहभागी थिए।
देशको सीमाजस्तो अति संवेदनशील मुद्दामा समेत कहिले बजेट अभाव, कुनै बेला कोभिड महामारी त कहिले बारम्बार देखिँदै आएका सीमा विवाद र मौसमी अवस्थाजस्ता कारण देखाएर समस्या समाधानमा आलटाल गरिँदै आइएको छ।
सीमामा दुवै देशका नागरिकले स्वामित्व राखेका सम्पत्तिको अभिलेख तयार गर्न पनि ढिलाइ भइरहेको छ। यस्ता सम्पत्तिहरूको तथ्यांक संकलन गरी उच्च तहबाट समाधान खोजिने भनिए पनि समस्या जस्ताको तस्तै छ। बरु बेलाबेलामा विवाद चर्किने गरेको छ भने भारतले एकतर्फी रूपमा आफ्ना योजनाहरू अघि बढाउने गरेको छ।
बीडब्लूजी नेपाल र भारत सरकारले सन् २०१४ मा गठन गरेको संयुक्त प्राविधिक निकाय हो। नेपाल र भारतबीच १,८८० किलोमिटर लामो सीमा छ, जसले नेपालका २७ जिल्ला छुन्छ। यसले नदीले धार परिवर्तन गर्दा उत्पन्न सीमा विवाद समाधान गर्ने योजना बनाएको छ, किनभने नदीको धार परिवर्तनका कारण हजारौं हेक्टर भूमि सीमाको दुवैतर्फ सरेको छ।
पछिल्लो पटक परराष्ट्रमन्त्री शिशिर खनालले हालको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा मूलतः सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित रहेको तर सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको संसद्लाई जानकारी गराएका थिए। ती स्थानबाहेक अन्य केही स्थानहरूमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दसगजा अतिक्रमणको समस्या विद्यमान रहेको उनको भनाइ छ।
नेपाल र भारतबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्सांकन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दसगजा क्षेत्रको अतिक्रमण तथा ‘क्रस बोर्डर अकुपेसन’ को लगत संकलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील रहेको र लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिले संयुक्त रूपमा लगत संकलन गरिरहेको उनले प्रस्ट पारेका थिए।
फिल्डमा खटिएको प्राविधिक टोलीको सुरक्षा र सहयोगका लागि नेपालको तर्फबाट सशस्त्र प्रहरी बल र भारतको तर्फबाट सशस्त्र सीमा बल परिचालन गरिएका छन्।
प्रतिक्रिया दिनुहोस !