स्वस्थ जीवनका लागि मुख स्वास्थ्य

स्वस्थ जीवनका लागि मुख स्वास्थ्य
फाइल तस्बिर।

शरीरका सम्पूर्ण अंगहरूलाई स्वस्थ र सुचारु राख्नका लागि खानेकुरा र पौष्टिक तत्त्वहरू मुखबाटै खाने गरिन्छ । शरीरमा कुनै स्वास्थ्य समस्या भएमा वा अन्य रोग लागेमा औषधि पनि मुखबाटै सेवन गरिन्छ ।

त्यसैले, मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन । मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अंगलाई बुझिन्छ । नेपालमा सरकारले अन्य रोगको उपचारमा निःशुल्क सहुलियत अनि मासिक भत्ताको पनि व्यवस्था गरेको पाइन्छ तर मुख स्वास्थ्यको बारेमा जनचेतना अभिवृद्धि गर्ने कार्य भने प्रभावकारी रूपमा भएको पाइँदैन । पछिल्लो समयमा मुख स्वास्थ्यअन्तर्गत नै पर्ने महत्त्वपूर्ण अंग दाँतको परीक्षण गराउनुपर्छ भन्ने कुराको ज्ञान भएका मानिसहरूको संख्या बढ्दै गएकोले यसका लागि धेरै डेन्टल र अस्पतालहरू पनि सञ्चालनमा आइरहेको पाइन्छ । 

अन्य देशमा दाँतको उपचार धेरै महँगो भएका कारण विदेशमा बस्ने नेपालीहरू नेपाल आएको समयमा दाँत परीक्षण गराउने गरेको पाइन्छ । तर, नेपालमै बसोबास गर्ने व्यक्तिहरू भने निकै कमले मात्र नियमित दाँत परीक्षण गराउने गरेको आँकडाले देखाएको छ । जब समस्या पर्दछ अनि मात्रै अस्पताल जाने तर नियमित परीक्षणको लागि जाने भने निकै कम रहेको पाइन्छ । एक तथ्यांकअनुसार मुखसम्बन्धी रोगले विश्वव्यापी रूपमा ३ अर्ब ५० करोड मानिसलाई असर गरेको पाइन्छ त्यसमा ९० प्रतिशत रोग दाँत सम्बन्धित छन् । मुख स्वास्थ्यका लागि सबैभन्दा घातक पदार्थ सुर्ती र चिनीजस्ता पदार्थ हुन् । गुणस्तरीय मुख स्वास्थ्यका लागि शरीर स्वस्थ राख्नु महत्त्वपूर्ण छ । सरकारले मानिसहरूलाई आफ्नो स्वास्थ्य, सामाजिक र मानिसक स्वास्थ्यलाई सुधार गर्न मुख स्वच्छता अभ्यासका लागि प्रोत्साहन गर्न अति आवश्यक छ ।

मुख स्वास्थ्यलाई शरीरको ऐनाको रूपमा लिन सकिन्छ । मुखको परीक्षण मात्रले पनि अरू रोगहरूको लक्षण जस्तै, एचआईभी, मधुमेहका साथै पोषण तत्त्वहरूको कमी र धूमपान, मद्यपानजस्ता कुलतको लक्षण पनि देखिन्छ जसले पूरै स्वास्थ्यलाई झल्काउँदछ । दाँत तथा मुखको रोगले मुखमा मात्र सीमित नभई यसले शरीरका अरू अंगमा पनि प्रभाव पारिरहेको हुन्छ । मुख स्वास्थ्य र शरीरका अन्य रोगहरूको सम्बन्ध दोहोरो हुन्छ । जस्तैः मधुमेह भएका बिरामीमा गिजाको समस्या देखिने सम्भावना बढी हुन्छ र गिजाको रोगको समाधानले मधुमेहको उपचार नियन्त्रणमा मद्दत गर्दछ । धेरैजसो मुखको रोगहरू र शरीरका अरू रोगहरूको जोखिम तत्त्व साझा हुन्छ । 

दाँत तथा मुखमा देखिने समस्याहरूमा दाँतमा किरा लाग्ने, दाँत खिइने, दाँत हल्लिने, दाँत सिरिङ सिरिङ हुने, गिजा सुन्निने, गिजाबाट रगत बग्ने, मुखभित्र घाउ खटिरा आउने आदि पर्छन् । सी खानामा चिनीको मात्रा धेरै, प्रोसेस्ड खानेकुरा, सफ्ट ड्रिंक्सले दाँतमा किरा लाग्नुका साधै मधुमेह, मुटुरोग र क्यान्सर निम्त्याउन सक्दछ । सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले गिजाको रोग, मुखको क्यान्सरको साथै मुटुरोग, श्वासप्रश्वासको रोग र अन्य क्यान्सर हुन्छ । त्यस्तै, मुखको सफाइमा ध्यान नदिनाले बन्ने दन्त लेउको कीटाणुहरूले गिजाको रोगको साथै मधुमेह रोग र मुटुरोग आदिको नियन्त्रणमा सोझै असर पार्दछ । 

मुख स्वास्थ्य शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक स्वास्थ्यको लागि महत्त्वपूर्ण भएकोले साधारण उपायहरू अपनाएर मुखसम्बन्धी रोगहरू वा अन्य समस्याहरूको रोकथाम, उपचार, व्यवस्थापन एवं मुख स्वास्थ्य प्रवद्र्धन गर्न अत्यन्त जरुरी छ । मुख स्वास्थ्यले सम्पूर्ण स्वास्थ्यलाई नै असर पार्ने हुँदा यसको प्रवद्र्धनका लागि सबैको ठूलो भूमिका हुन्छ । मुख स्वास्थ्य शिक्षाको लागि अन्य पेसागत व्यक्तिहरूभन्दा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ, किनभने उनीहरूले एकै पटकमा धेरै विद्यार्थीलाई समेटेर स्वास्थ्यसम्बन्धी निर्देशन दिन सक्छन् । विद्यालयमा शिक्षकले दिने स्वास्थ्य शिक्षाले समाजका विभिन्न वर्गहरू, व्यक्ति विशेष, परिवार, समुदाय र देश नै लाभान्वित हुन सक्छ । सानै उमेरमा सिकाइएका कुराहरूले वयष्क हुँदासम्म पनि असर पार्दछ । 

साना बालबालिकाहरू लामो समय विद्यालयमा बिताउँछन् र नयाँ कुराहरू, नयाँ सीपहरू सिक्न उत्साहित पनि हुन्छन् । त्यतिमात्र होइन उनीहरूमा नै दाँत कीराले खाने र चोटपटक लाग्ने समस्या पनि बढी हुने गर्दछ । तसर्थ उनीहरूलाई स्वास्थ्यवद्र्धक खाना, मुख स्वास्थ्यसम्बन्धी असल र खतरापूर्ण बानीहरूका बारेमा सचेत गराउनु पर्दछ । मुख स्वास्थ्य शिक्षालाई पाठ्यक्रममा नै समावेश गरी पढाउने, विद्यालयमा नै फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने र पोषण कार्यक्रम चलाउनु पर्छ । यसो गर्न सके मुख स्वास्थ्य प्रवद्र्धन हुनका साथै सम्पूर्ण विद्यालय परिवारको माध्यमबाट स्वास्थ्यमा सुधार आउन सक्छ । घरमा अभिभावकको भूमिका पनि अति आवश्यक रहन्छ ।

आफ्ना बालबालिकाहरूलाई सही खानेकुरा खान दिने तथा मुखको स्याहार गर्ने कुरामा पनि आफैं सक्रिय रूपले सहभागी हुनेतर्फ हरेक अभिभावकले जोड दिनु पर्दछ । अभिभावक आफैंले पनि एउटा सही उदाहरणको रूपमा पेस हुनलाई आफ्नो मुखको स्याहार गर्नुपर्दछ । रोगहरूबाट आफू र आफ्नो परिवारलाई जोगाउन नियमित मुख स्वास्थ्य परीक्षण गर्नु पर्दछ । मुखको स्वास्थ्य शारीरिक, मानसिक, आर्थिक तथा सामाजिक स्वास्थ्यको लागि महत्त्वपूर्ण छ । त्यसैले साधारण उपायहरू अपनाएर मुखसम्बन्धी रोगहरूको रोगथाम, उपचार, व्यवस्थापन एवं मुख स्वास्थ्य प्रवद्र्धन गर्न अत्यन्त जरुरी छ ।

मुखको सरसफाइ सम्पूर्ण शरीरकै सरसफाइको एक भाग भएकोले यसलाई शरीरको सरसफाइबाट अलग गर्न मिल्दैन । त्यसैले शरीरका अरू अंग जस्तै दाँत तथा मुखलाई पनि स्वस्थ राख्न अति नै जरुरी हुन्छ । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु राम्रो हो ।  दाँत स्वस्थ्य राख्न खानेकुराको ठूलो भूमिका हुन्छ । क्याल्सियम र फस्फोरसजस्ता खनिज पदार्थहरू दाँत बन्दै गर्दा र बलियो बनाउनको लागि नभई हुँदैन । दूध र दूधबाट बनेका खाद्यपदार्थहरू, अण्डा, फलफूल र ताजा हरिया तरकारीहरूले दाँतमात्र नभई सम्पूर्ण शरीर नै स्वस्थ्य राख्नमा सहयोग पुर्‍याउँछ । दाँतमा कीरा लाग्नबाट बचाउन गुलियो खानेकुरा वा पेय पदार्थको मात्रा र पटक दुवै कम गर्नुका साथै गुलियो खानेकुरा खाइसकेपछि कुल्ला गर्ने वा सम्भव भए दाँत माझ्ने गर्नुपर्छ । 

त्यस्तै, फ्लोराइड प्राकृतिक रूपमा माटो, पानी, चिया, माछा आदिमा पाइने एक खनिज पदार्थ हो जसले शरीरको वृद्धिमा सहयोग पुयाउँछ । यसले दाँतमा कीरा लाग्नबाट पनि बचाउँछ । नेपालको पिउने पानीमा फ्लोराइडको मात्रा कम भएकोले दाँतमा कीरा लाग्नबाट बच्न फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्न अति जरुरी छ । त्यस्तै, पान, खैनी, सुपारी मद्यपान, धूमपानजस्ता लत स्वास्थ्यको लागि हानिकारक छन् । यस्ता बानीहरूले मुखको क्यान्सरजस्तो डरलाग्दो रोग पनि लाग्न सक्छ । त्यसैले यस्ता बानीहरू भए छोड्ने वा कम गर्नुपर्छ । नियमित मुखको स्वास्थ्य परीक्षण गर्नाले समस्याहरू समयमै थाहा पाउन सकिन्छ र उपचार गर्न सजिलो हुन्छ । दाँतमा कीरा लागेर प्वाल परेमा, गिजाबाट रगत आएमा वा मुखमा कुनै पनि समस्या भएमा तुरुन्तै दन्त चिकित्सक वा स्वास्थ्यकर्मीसँग जँचाई हाल्नुपर्छ । समस्या ठूलो र पीडादायी हुञ्जेलसम्म पर्खनु हुँदैन ।

अतः मुख स्वास्थ्य हाम्रो सम्पूर्ण शारीरिक स्वास्थ्यको प्रतिबिम्ब हो । त्यसैले, मुख स्वास्थ्यलाई विशेष प्राथमिकता दिँदै विद्यालय तहबाटै यसबारे सचेतना फैलाउन अति आवश्यक छ । यसका लागि विद्यालय पाठ्यक्रममा मुख स्वास्थ्यसम्बन्धी विषय समावेश गरी शिक्षकहरूलाई विशेष तालिम दिन सकिन्छ । त्यस्तै, समुदायका मानिसहरूमा सचेतना फैलाउन विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका र टेलिभिजनमार्फत सचेतना फैलाउन आवश्यक छ ।

त्यस्तै स्थानीय सरकारले नियमित मुख स्वास्थ्य परीक्षणका लागि मोबाइल डेन्टल क्लिनिक सञ्चालन गरी ग्रामीण समुदायमा सेवा पुर्‍याउने, सरकारी तथा सामुदायिक अस्पतालहरूमा निःशुल्क वा सहुलियत दरमा मुख तथा दाँत परीक्षण सेवा उपलब्ध गराउने व्यवस्था गर्नु पर्छ ।  नेपालमा मुख स्वास्थ्यसम्बन्धी ज्ञान, दृष्टिकोण र अभ्यासबारे विस्तृत अध्ययन तथा अनुसन्धान गरी दीर्घकालीन नीति तथा रणनीतिहरू निर्माण गर्न अति आवश्यक छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.