अर्थमन्त्री पौडेललाई भेट्न कीर्तिपुर जाँदै राष्ट्रपति
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुरस्थित बर्न अस्पताल जाने भएका छन्। राष्ट्रपति पौडेल उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्न त्यहाँ जान लागेका हुन्।
राष्ट्रपतिको कार्यालयले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति कीर्तिपुर जाने तयारी भएको जानकारी दिएको छ।
शनिबार पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा निस्किएको आगोको भिल्काले टिपेपछि बेलुन पड्किएको थियो। अर्थमन्त्री पौडेलको अनुहारको भागमा ५/६ प्रतिशत जलन भएको उपचाररत चिकित्सकले जनाएका छन्।
मेयर आचार्यको गालाको बायाँ पट्टीको कान नजिकैको भाग र हातमा जलन भएको छ। उनीहरू दुवैको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसीयू) मा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !