बागमती चिहाउने कि बचाउने ?

बागमती चिहाउने कि बचाउने ?
सुन्नुहोस्

विश्वमा कैयौं देश छन्, जो नदी किनारमै बर्सेनि लाखौं पर्यटक तानिरन्छन् । नदीमै क्रूजको यात्रा दिनरात गरिरहन्छन्, गराइरहन्छन् । नदी पनि सफा बगिरहन्छ । नदी किनारको शृंगारपटार त बखान गरिसाध्ये छैन । नदी किनार भनेर के गर्नु योजनाबद्ध विकासले भव्य बनाएका छन् । हरियाली उस्तै, रंगीचंगी फूलहरू फुलेको उस्तै । त्यहाँका बगैंचा त हेर्दै लोभलाग्दा । नदी किनारमा न धुलो न धुँवा । चिटिक्क पारिने ती नदी किनारको सरसफाइ झनै लोभलाग्दो । त्यहाँ बनाइएका पार्क देख्दा पनि पसिहालूँ, बसिहालूँ लाग्ने खालका । दिनमा यस्ता ती नदी किनार रात्रिकालीन समयमा त झनै विशेष हुन्छन्, लोभ्याउने । बत्तीको अनेक प्रयोगले आकर्षण गर्ने त छँदै छ, मनोरञ्जनसँगै व्यापार पनि सोचेभन्दा बढी ।

ठ्याक्कै विपरीत छन् नेपालका नदी किनार । भौतिक संरचना त निर्माण गरिएकै छैनन् भने पनि हुन्छ । अन्तको कुरा गर्नु त बेकार नै छ, देशको राजधानी काठमाडौं उपत्यकाका नदी र तिनका किनारको पनि बेहाल उस्तै छ, पछिल्ला वर्ष केही ठाउँमा कालोपत्रे बनेको बाहेक । नदीहरूमा कालो लेदो बग्नु सामान्य लाग्छ हामी नेपालीलाई । नदीमा ढल मिसाउनु कुनै अप्ठ्यारो वा असजिलो हुँदैन हामीलाई । फोहोर फाल्नु पनि लाजलाग्ने विषयमै पर्दैन राजधानीकै बासिन्दा भए पनि हामीलाई । कति भने नेपालको सभ्यता प्रतिबिम्बित गर्ने बागमती नदी ११ वर्षदेखि निरन्तर सफाई गर्नेहरूको एकातिर भरमग्दुर प्रयास चलिरहेकै छ स्वयंसेवी भावनाबाट । अर्कोतिर ढल मिसाइदिने घरधनी, ढल नदीमा हाल्न दिन रोक्नुपर्छ भन्ने मानसिकता नभएको सरकार र नदी त हो नि यहाँ फोहोर फालेर के हुन्छ ? भन्ठान्ने राजधानीवासी । त्यसमाथि बागमती सफाईको नाममा किनारमा आएर नदी चिहाएर भाषण ठोक्ने नेताहरू ।

एकातिर बागमती र अन्य नदीनाला सफा गर्ने र निरन्तर गरिरहनुपर्छ भनेर सबै काम छोडेर ढल मिसिएको कालो लेदोमा नघिनाइ अभियन्ता बनेर सफा गर्ने पवित्र मनहरू अर्कोतिर कुनै दायित्व नै छैन, जे गरे पनि हुन्छ भन्ने भाष्य पालेका मनमौजीहरू । एकातिर गोजी टक्टक्याएर नदी सफाईमा खर्चिने मनहरू अर्कोतिर सरकारी बजेटसँगै दाताबाट डलरसमेत ल्याएर पनि त्यसैमा लुछाचुँडी गर्नेहरू । कम्तिमा सरकारले गर्नुपर्ने झन्डै करोड बढीको काम नागरिक तहबाट भइरहँदा सरकारको नेतृत्व गर्ने दलीय नेतालाई अलिकति मन चस्ससम्म नहुनुचाहिँ ठूलै बिडम्बना होइन र ! सरकारले कम्तिमा होस्टेमा हैंसे गर्दिएको भए त बागमती नदीले हाँसीहाँसी बग्न पाउँथ्यो नि ! नेपालको सभ्यता र संस्कृति बोकेर पनि रोएर बगिरहनुपर्ने बागमती नदीको निरीहता आखिर कतिञ्जेल ? के बागमती रोइरहँदा कुनै नागरिक हाँसिरहन सक्छ ? के सरकारमा पुग्ने दलका नेताहरूलाई बागमती र अन्य यस्तै दुर्गन्धित नदीहरू र तिनका कुरूप किनारहरूलाई यसै अलपत्र पारेर कुर्सीको सौदाबाजी गरिरहन छुट छ ? छैन भन्ने यदि कुनै दललाई लाग्छ भने आजैदेखि बागमती नदी सफा बगाउन्, किनारहरू हराभरा बनाउन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.