हिँड्नै नसकेको दिगो विकास

सम्पादकीय

हिँड्नै नसकेको दिगो विकास
सुन्नुहोस्

समग्रमा भन्नुपर्दा, महासभामा विश्व सरकारहरूको कछुवा गतिको विकासलाई ‘रिथिंक’ गर्ने कि ?

वातावरणीय र अन्य प्रभावलाई बेवास्ता गरेर दिइने अनुदानको मुख्य हिस्सा धनी र शक्तिशालीसम्म पुगिरहेको तथ्यांकले देखाएको छ । जलवायु मुद्दाहरू ओझेलमा परिरहेका छन् ।

विश्व राष्ट्रले प्रतिबद्धता जनाएका १७ लक्ष्यमध्येको जलवायु कार्य प्रगतिको सबैभन्दा पिँधमा छ । जलवायु परिवर्तन र यसको प्रभावमा अत्यावश्यक कार्य गरिहाल्ने भनिए पनि प्रगतिले छलाङ मार्न सकेको छैन । धनी राष्ट्रहरूले यस लक्ष्यलाई गम्भीरतापूर्वक लिएको देखिँदैन । अलि फरक दृष्टि छर्ने हो भने विश्वका सरकारहरू दिगो होइन, भद्रगोल विकासमा जोडतोडले लागेको देखिन्छन् ।

दिगो विकास लक्ष्यको ताजा प्रतिवेदन हेर्दा दिगो विकास लक्ष्यको पहिलो नम्बरमा रहेको गरिबी पूर्णतः निर्मूल गर्ने भन्ने लक्ष्य पूरा गर्न विश्व राष्ट्रहरूलाई निकै हम्मे परिरहेको देखिन्छ । लैंगिक समानताका नाराहरू नारामै सीमित देखिएका छन् । सार्वजनिक जीवनमा महिला समानता आदर्शको कुरा मात्र बनेको छ । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा ‘पृथ्वी सम्मेलन’ आयोजना गरियो । त्यसमा जुटेका १७८ भन्दा बढी राष्ट्रले दिगो विकासका लागि विश्वव्यापी साझेदारीका २१ एजेन्डा तय गरे । जबकि त्यसबेला पनि मानव जातिको समृद्धि र वातावरणीय संरक्षण त्यसका मुख्य ध्येय थिए ।

संसार दिगो विकासको नारा बोकेर हिँडिरहेको छ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरू यसमा प्रतिबद्ध पनि छन् । तर, १५ वर्षे लक्ष्य कार्यान्वयनमा आएको करिब ९ वर्षमा ‘ट्र्याक’मा आएको प्रगति भने मात्र १७ प्रतिशत छ । यसले सही संकेत गर्दैन । आधाभन्दा धेरै बाटो छिचोली सक्नुपर्ने अवस्थामा विश्व राष्ट्रहरू विस्तारै बामे सरेर केही अघि मात्र बढेका देखिएका छन् । बाँकी रहेको ६ वर्षमा कागज गरेका प्रतिबद्धता के–कसरी पूरा गर्लान्, राष्ट्र संघलाई चिन्ताको विषय छ । चिन्ता सरोकारवाला देशलाई हुनुपर्ने थियो ।

राष्ट्रसंघीय इमिसन्स ग्यास रिपोर्ट, २०२३ का अनुसार सन् २०२२ मा विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनले ५७.४ गिगाटन पुगी नयाँ रेकर्ड बनाएको थियो । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा तापमान वृद्धि १.५ डिग्री सेल्यिसमा सीमित गराउन हरितगृह ग्यास उत्सर्जन ४२ प्रतिशत घटाउन सक्नुपर्छ । त्यसका लागि प्रत्येक वर्ष ८.७ प्रतिशतका दरले घटाउनुपर्नेछ । जुन सम्भव बनाउन निकै गाह्रो देखिन्छ । दिगो विकास लक्ष्यमा नेपालको स्कोर ६७.०७ छ । यो १६६ देशमा ९५औं नम्बरमा आउँछ । यद्यपि विश्व समुदाय सबैभन्दा कमजोर देखिएको जलवायु–कार्य अर्थात् लक्ष्य नम्बर १३ मा भने नेपालले लक्ष्य हासिल गरेको छ । दिगो विकास लक्ष्यका अन्य पाटामा भने जहाँ जस्तो प्रगति हुन पर्ने हो त्यो छैन । सुस्त छ ।

बाँकी रहेको ६ वर्षमा लक्ष्य प्राप्तिका स्कोरमा छलाङ मार्दै विश्व समुदायमा उभ्याउन नेपालले विकासको यात्रामा धेरै मेहनत गर्नुपर्ने स्पष्ट छ । नजिकिँदै गरेको राष्ट्रसंघ महासभामा नेपालसहित सम्पूर्ण सदस्य राष्ट्र वा सरकार प्रमुखसहितका टोली सामेल हुनेछन् । महासभामा दिगो विकासको लक्ष्य र प्रगतिबारे प्रश्न अवश्य उठ्ने छ । विश्वले अध्ययन गरिरहेका विभिन्न प्रतिवेदनले दिगो विकासका लक्ष्यहरू सन्तोषजनक नदेखाएका विषयमा पनि चासो बढ्ने नै छ । समग्रमा भन्नुपर्दा, महासभामा विश्व सरकारहरूको कछुवा गतिको विकासलाई ‘रिथिंक’ गर्ने कि ? 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.