नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय
काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशन सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई पेयमेन्ट गेटवे प्रकरणमा उक्त सजाय सुनाएको हो।
पौडेलसँग २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो र जरिवाना असुलीको सजाय तोकिएको छ। गत वैशाख ७ गते विशेष अदालतले पौडेललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेसनल पेमेन्ट गेटवे अनियमितता गरेको भन्दै पौडेलसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव संजय शर्मा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल भन्ने रमेश पोखरेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत निम बहादुर वली, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन लेखा अधिकृत राम बहादुर बुढा, राष्ट्रिय सूचना प्रविधि केन्द्रका कम्प्युटर इन्जिनियर राम शरण गायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले उनीहरूलाई सफाइ दिएको थियो।
नेपाल सरकार र सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही तथा बद्नियत गरी २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ हानिनोक्सानी गराएको पुष्टि भएको अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।