अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव

अन्नपूर्ण पोस्ट्ले मनायो वार्षिकोत्सव
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण पोस्ट् दैनिक २३ वर्षमा प्रवेश गरेको छ। यसले पृथक् प्रस्तुति र सिर्जनशीलताबाट आफ्ना पाठक, दर्शक र स्रोतालाई समाचारको खुराक पस्किँदै आएको छ।

वार्षिकोत्सवका अवसरमा काठमाडौं गैरीगाउँस्थित मुख्यालयमा आयोजित विशेष समारोहमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले सबैको साथ र सहयोगलाई धन्यवाद दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा स्वतन्त्र र स्वच्छ पत्रकारिताका माध्यमबाट चिनिन पाएकामा गौरवान्वित भएको क्याप्टेन थापाको भनाइ थियो। 
‘धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा कलम चलाएका छौं। छुट्टै पहिचान बनाउन सफल भएका छौं। साँच्चै नै गर्वको विषय हो यो,’ अध्यक्ष थापाले भने। 

नेटवर्कअन्तर्गत आमसञ्चारका सम्पूर्ण माध्यम– अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डटकम अनलाइन, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्ण सशक्त सञ्चार माध्यम रहेको उनले बनाए। थापाले समाचारको प्रस्तुति, विषयको गम्भीरता र सत्य सूचना सधैं अघि रहेको बताए। राज्यको चौथो अंग भएकाले समाज र देशप्रतिको कर्तव्यका कारण हरेक दिन चुनौतीको सामाना गर्नु अन्नपूर्णको विशेषता भएको थापाको भनाइ थियो। ‘विश्वव्यापी आर्थिक मन्दीबाट नेपाल पनि अछुतो छैन। यसको असर सञ्चार जगतमा पनि परेको छ’, थापाले भने, ‘यस्तो अवस्थामा पनि दत्तचित्त भएर लागि पर्ने सम्पूर्ण सहकर्मी धन्यवादका पात्र हुन्।’ 

वार्षिकोत्सवका अवसरमा अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीले विषयवस्तु र त्यसको प्रस्तुतिका हिसाबले अन्नपूर्ण पोस्ट् नेपालको पत्रकारितामा १ नम्बरमा रहेको बताए। यसलाई यो गुणस्तर दिलाउन लागि पर्ने सम्पूर्ण सहकर्मीलाई उनले धन्यवाद व्यक्त गरे। ‘खोजी सामग्री र सिर्जनशील प्रस्तुति हाम्रा पहिचान हुन्,’ उनले भने। 

अन्नपूर्ण मिडिया नेटवर्कका ग्रुप सीईओ सनत न्यौपानेले अहिलेको जटिल परिस्थितिबाट माथि उठ्न गृहकार्य भइरहेको बताउँदै चाँडै नै नयाँ तरिकाले अघि बढ्ने जानकारी दिए। अहिलेको आर्थिक चुनौती व्यवस्थापनतर्फ अघि बढेको बताउँदै प्रमुख कार्यकारी न्यौपानेले अन्नपूर्णको भविष्य उज्जवल रहेको बताए।

कार्यक्रममा शिक्षा व्यवसायी डा. राजेन्द्र केसीले अन्नपूर्ण पोस्ट् नेपालमा फस्ट हुने होडमा लाग्नुभन्दा पनि समाचारमा सधैं फास्ट हुन जरुरी रहेको बताए। अन्नपूर्ण नेटवर्कलाई नेटवर्थका रूपमा लैजान पर्ने उनको सुझाव थियो। 

यस्तै, एपीवान टिभीका कार्यकारी उपाध्यक्ष राजेन्द्र शाक्यले सञ्चार जगतमा नै आर्थिक मन्दी चलिरहेको अवस्थामा पनि अन्नपूर्णकर्मीहरूको उत्साहले यो सञ्चारलाई अघि बढाइरहेको बताए। समारोहमा एपीवान टिभीका प्रबन्ध निर्देशक बलराम उप्रेति र अन्नपूर्ण मिडियाका निर्देशक सचन थापाले शुभकामना व्यक्त गरे। अन्नपूर्ण पोस्ट् दैनिकले सन् २००३ मे १ मा प्रकाशन आरम्भ गरेको थियो।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.