एमाले ७६ (३) हुँदै ५ मा गएर संसद विघटन गरेको पुष्टि गर्न उद्दत छ : कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमाले ७६ को ३ उपधारामा जान खोजिरहेको दाबी गरेका छन्। बसुन्धारामा आयोजित एक कार्यक्रममा उनले ओली संसद विघटन पुष्टि गर्न उद्दत बनेको बताएका हुन्।
‘एमाले ७६ को ३ उपधारामा जान खोजिरहेको छ। प्रचण्ड जीलाई थाहा छ कि छैन म भन्न सक्दिनँ। ’उनले भने, ‘एमाले ७६ को ३ धारामा गइसकेपछि केपी शर्मा ओलीले कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न। ७६ को ३ पछि ७६ को ५ मा जान्छ। र त्यो ५ बाट संसद् विघटन गरिकन, दुई/अढाई वर्ष पहिले उहाँले जुन संसद विघटन गरेको पुष्टि गर्नलाई उहाँ उद्दत हुनुहुन्छ भन्ने कुरामा दुई मत छैन। कुनै शंका गर्नु आवश्यकता देख्दिनँ। यो कसरी रोक्न सकिन्छ सोच्नुपर्छ।’
उनले जसपा नेपाल फुटेको नभई फुटाइएको दाबी गरे।
धारा ७६ मा केछ व्यवस्था ?
(१) राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ।
(२) उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।
(३) प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले तीस दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुन सक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ।
(४) उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
(५) उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ।
(६) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नु पर्नेछ।
(७) उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी छ महीनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ।