मुस्ताङको तलो स्याङ बस्ती नदी कटानको उच्च जोखिममा
जोमसोम : कालीगण्डकी नदी उकासका कारण घरपझोङ गाउँपालिका-३ तलो स्याङ पुल्चोक बस्ती बर्सेनि नदी कटानको उच्च जोखिममा पर्दै आइरहेको छ। कालीगण्डकी नदी उकास बर्सेनि वृद्धि भइरहँदा कालीगण्डकी नदी बस्ती भन्दा माथि आउन थालेपछि स्थानीयबासी बस्ती नै विस्थापित हुने होकी भन्नेमा चिन्तित देखिएका छन्।
केही वर्षअघि जापानी सहयोग निकाय (जाईका)ले मुस्ताङमा गरेको एक अध्ययन सर्वेक्षणमा मुस्ताङको छुसाङदेखि थासाङको पैरोथाप्लासम्मका १३ वस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको बताइएको थियो। तर, पछिल्लो समय मुस्ताङमा जोखिममा रहेका अन्य बस्तीभन्दा स्याङ पुल्चोक बस्ती कालीगण्डकी नदी कटानका कारण थप प्रताडित बन्दै गइरहेको छ।
कालीगण्डकी नदीमा बर्सेनि नदी जन्य पदार्थ ढुंगा,बालुवा गिट्टी र गेग्रानहरू समुचित प्रयोग हुन नसक्दा मुस्ताङमा कालीगण्डकी नदीको उकास वृद्धि भइरहेको छ। घरपझोङ-३ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले संघीय, प्रदेश र स्थानीय तहको सीमित बजेटले स्याङ पुल्चोक बस्ती जोगाउन मुस्किल परेको बताए।
वडाध्यक्ष थकालीले बर्सेनि कालीगण्डकी नदीको सतह एक मिटर भन्दा माथि आउने भएकाले पुल्चोक बस्ती जोखिममा परेको बताए। उनले कालीगण्डकी नदीको कटानबाट पुल्चोक बस्ती जोगाउन स्थानीयले बस्ती बचाउ अभियान चलाएको बताए।
मुस्ताङको घरपझोङ-३ स्याङको पुल्चोक बस्तीमा १७ घरधुरीको बसोबास रहेको छ। त्यहाँ बसोबास गर्ने सबै कृषि व्यवसायमा आत्मनिर्भर छन्। तर, पछिल्लो केही वर्षयता स्याङ पुल्चोक बस्तीका स्थानीयबासीहरू बस्तीका साथै आफूहरूले उत्पादन गर्ने खेतीयोग्य जमिनै कालीगण्डकी कटानले बिनास गर्ने त्रासमा छन्।
स्याङ पुल्चोकबस्तीका स्थानीय एवं बस्ती जोगाउ अभियानका सदस्य चन्द्र थकालीले कालीगण्डकी नदीको कटानले बर्सेनि पुल्चोक बस्ती जोखिममा पर्ने गरेको सुनाए। उनले गतवर्ष नदी कटानले २५ रोपनी जग्गामा लगाइएको स्याउ बारी नदी कटानले पुरै क्षति बनाएको बताए।
स्याङ गाउँ पुल्चोक बस्तीका १७ घरधुरीले आर्थिक सहयोग जुटाएर कालीगण्डकी नदी छेक्न ६ सय मिटर लामो बिग बोल्डिङ स्टेकिङ (ठूला ठूला ढुंगा बिच्छ्याए बाँध निर्माण गर्ने अभियानमा लागेका हुन्। यसका लागि २५ लाख लागत लाग्ने अनुमान गरिएको छ।