पालिकाले पदस्थापन नगराउँदा स्थायी शिक्षकहरू अन्यौलमा

पालिकाले पदस्थापन नगराउँदा स्थायी शिक्षकहरू अन्यौलमा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

परासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले पदस्थापन नगराउँदा नियुक्ति लिएर गएका स्थायी शिक्षकहरू अन्यौलमा परेका छन् । पदस्थापन ढिलाइ हुँदा उनीहरूको ‘ग्रेड’ र जागिर अविधको समयमा समेत धक्का लाग्ने देखिएको छ । 

शिक्षा सेवा आयोग पास गरेका ८६ जना प्रावि तहका शिक्षकलाई जिल्लाका विद्यालयमा पदस्थापनका लागि पठाइएको हो । जिल्लामा रहेका सात पालिकामध्ये अन्यले पदस्थापन गराइसकेका छन् । पाल्हीनन्दनमा पठाइएका १४ जना शिक्षकलाई भने बुधबारसम्म कुनै पनि विद्यालयमा पदस्थापन गराइएको छैन । 

पदस्थापन नगराउँदा उनीहरू अन्यौलमा मात्र परेका  छैनन् कि जागिर अवधिको सुविधामा गणना हुने ‘ग्रेड’ र समय अवधिमा पनि समस्या हुने भन्दै चिन्तित भएका छन् । पालिका प्रमुखको राजनीतिका कारण शिक्षकहरूको पदस्थापनमा ढिलाइ भएको कर्मचारीको आरोप छ । 

यसअघि करारमा नियुक्ति गरिएका आफू निकट व्यक्तिलाई हटाउनुपर्ने भएकाले पालिका प्रमुख बैजु प्रसाद गुप्ताले ढिलाई गरेको कर्मचारीको आरोप छ । स्थायी शिक्षक गएपछि स्थानीय तहले कनिष्टका आधारमा करार शिक्षकलाई हटाउँदै पदस्थापन गराउनुपर्ने प्रावधान छ । 

पालिकामा हाल १५ जना करारका शिक्षक छन् । स्थायी भएर भएका शिक्षकलाई पदस्थापन गराउँदा १४ जना करारका शिक्षकलाई हटाउनुपर्ने भएकाले पालिका प्रमुखले आनाकानी गरेको बताइएको छ । आयोगबाट नियुक्ति लिइ आएका शिक्षकहरूको पदस्थापन गराउन चैत २६ गते शिक्षा विकास तथा समन्वय इकाएले सम्बन्धित पालिकामा पत्र पठाएको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘शिक्षक पदस्थापनाका आधार तथा मार्गदर्शन’ मा शिक्षा विकास समन्वय इकाईले पठाएको सात दिनभित्र सम्बन्धित स्थानीय तहहरुले पदस्थापन गराउनुपर्ने उल्लेख छ । तर, अन्य पालिकाहरूले पदस्थापन गराए पनि पाल्हीनन्दनले अहिलेसम्म नगराएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख पूर्णबहादुर बिश्वकर्माले बताए । शैक्षिक सत्र सुरुहुनु अघि पदस्थापन नहुँदा शिक्षकको ‘ग्रेड’मा घाटा हुने इकाई प्रमुख बिश्वकर्माले बताए ।

‘चैतमा हाजिर भएको भए अहिलेको नयाँ सत्र २०८१ देखि ग्रेड गणना हुन्थ्यो । अब बैशाखमा हाजिर हुँदा उक्त शिक्षकको २०८२ देखि ग्रेड गणना हुन्छ,'उनले भने । त्यति मात्र होइन आफूसँगै नियुक्ति लिएर आएका शिक्षकभन्दा पछि हाजिर हुँदा सेवा अवधिको दिन गणनामा पनि पछि परिने उनको भनाइ छ । 

शिक्षक पदस्थापन ढिलाइँबारे गाउँपालिकाका अध्यक्ष गुप्ताले अरु पालिकाकामा भन्दा आफ्नो पालिकामा धेरै शिक्षक पठाएकाले करारमा रहेका शिक्षकलाई हटाउन समस्या भएको बताए । ‘अरु पालिकामा थोरै पठाएको छ । हामी कहाँ धेरै संख्यामा पठाउँदा समस्या भएको छ । करारमा रहेका शिक्षकहरुलाई के गर्ने ? पदस्थापन गराउनै गाह्रो भयो,' गुप्ताले भने । केही दिनमा शिक्षा समितिको बैठक बसेर के गर्ने भन्ने विषयमा टुंगोमा पुग्ने गुप्ताको भनाइ छ । 

स्थायी शिक्षक पठाइनुअघि जिल्लाका प्रावि तह विद्यालयमा ११० जना करार शिक्षक थिए । ८६ जना स्थायी शिक्षक गएपछि अब २४ जना करारका शिक्षक मात्र रहने छन् । स्थायी शिक्षकको पदपूर्तिहुँदा रामग्राममा ८,सुनवलमा ४ र बर्दघाट नगरपालिकामा ५ जना करारका शिक्षक मात्र बाँकी रहेका छन् । 

त्यस्तै प्रतापपुरमा १, सरावलमा ५ जना करारका शिक्षक बाँकी छन् भने सुस्तामा सबै करारका शिक्षक निस्किएका छन् । जिल्लामा सबै तहको गरी कुल ३३० सामुदायिक विद्यालय छन् । जसमा १ हजार २५१ शिक्षकले ६४ हजार ५६९ विद्यार्थीहरु अध्यापन गराउँदै आएको शिक्षा समन्वय इकाईले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.