बसमा भेटिएको नागरिकता प्रयोग गरेर लाखौंको ठगी

परिवार नै ठगी धन्दामा संलग्न भएको आरोपमा विभिन्न जेलमा

बसमा भेटिएको नागरिकता प्रयोग गरेर लाखौंको ठगी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अर्जुनधारा ९ झापाकी ३८ वर्षीया सञ्जु पौडेलीले केही महिना अघि रश्मी विश्वकर्मा नाम गरेको नागरिकता फेला पारिन्। काठमाडौ आउने क्रममा बसमा फेला पारेको नागरिकता प्रयोग गरेर तिनै सञ्जुले लाखौं रुपैयाँ ठगी गरेकी छन्। 

आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलको कुरियरको सिनियर अधिकृत भनेर चिनाउने गर्थिन्। सञ्जुले उक्त भेटाएको नागरिकता प्रयोग गरेर १६ वटा बैंकमा खाता खोलेर अनलाइन ठगी गरेकी हुन्।  

सञ्जु पौडेली हाल जिल्ला प्रहरी परिसरको हिरासतमा छन्। उनका श्रीमान निश्चल पोर्तेल पनि सोही हिरासतमा छन्। सन्जुका भाइ सन्तोष भनिने पंकज पौडेली 

केहि महिनाअघि ठगीकै आरोपमा पक्राउ परेका थिए। सन्तोष हाल डिल्लीबजार कारागारमा छन्। सञ्जुकी दिदी मन्जु पौडेली पनि भारतको जेलमा छन्। भारतमै बस्ने उनी त्यहाँ पनि अनलाइन ठगी गरेको आरोपमा भारतको तिहाड जेलमा छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंमा रस्मी विस्वकर्माबाट ठगिएको भन्दै उजुरी आइरहेको थियो। यो उजुरी पछिल्लो तीन वर्षमा बढ्दै गयो। एकै महिलाको नाममा उजुरी बढ्न थालेपछि उपत्यका अपराध कार्यालयले यसको अनुसन्धान तीव्र रुपमा अगाडि बढाएको थियो। उक्त कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार उजुरीकर्ताले  रश्मि विश्वकर्माको नाममा खोलिएका बैंक खातामा रकम पठाएका प्रमाण नै पेस गरेका थिए। केही प्रमाण अनलाइन पैसा ट्रान्सफर गरेका स्क्रिनसट थिए त केही बैंकमा पैसा जम्मा गरेको भौचर।

उजुरीकर्ताले आफूहरुलाई महंगा कोशेली र पार्सल आएको छ भन्दै  ठगी गरेको बताएका थिए। विभिन्न नेपाली नम्बर प्रयोग गरेर रस्मी विश्वकर्मा नामबाट खोलिएको ह्वाट्सएप अकाउन्टबाट उनीहरुलाई आर्थिक लाभको प्रलोभन दिने गरिएको थियो। 

यो मुद्धाको अनुसन्धान गरेका कार्यालयकै डिएसपी अनिल घिमिरेका अनुसार अरुको नामको नागरिकतामा उनले आफ्नो फोटो टाँसेर निकै चलाखीपूर्ण तरिकाले ठगी गर्दे आएकी थिइन्। घिमिरे भन्छन्, 'ह्वाट्सएप नम्बर प्रयोग गरेर ठगी भएको घटना यो नयाँ थिएन तर ठगी कार्यमा नेपाली सिम नै प्रयोग भएको घटना यो नौलो थियो। यसअघिका उजुरीमा ठगी गर्ने प्राय भारतीय नम्बर प्रयोग भएका हुन्थे।' 

उजुरीमा आएका प्रमाणहरु पछ्याउँदै जाँदा प्रहरी सन्जुसम्म पुग्न सफल भएको थियो। डिएसपी घिमिरे भन्छन्, 'ठगी कार्यमा २६ वटा नेपाली एनसेल नम्बर र १ वटा भारतीय नम्बर प्रयोग भएको थियो। सञ्जुको साथबाट प्रहरीले ती सिम बरामद गर्दा कुनैको अगाडी भाच्नुपर्ने सिम, फाल्नुपर्ने सिम, प्रयोग नभएको जस्ता संकेतहरु लेखेर राखिएको थिए। उनीहरुको टार्गेट नै विभिन्न प्रलोभन दिने र जसबाट जतिसम्म पैसा माग्न सकिन्छ उति माग्ने थियो। केही व्यक्तिसँग ह्वाट्सएप मै अडियोमा पनि कुरा गर्ने गर्दथे। केहीलाई नेपालीमै लेखेर म्यासेज पठाउने पनि गर्थे। '

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार सन्जुको दिदी, भाइ, श्रीमान लगायत परिवारका सदस्य नै सहभागी भएर अपराधको नेक्सस फैलाएको देखिन्छ। भारतीय नम्बरबाट इण्डियन नागरिकलाई पनि टार्गेट बनाएका थिए। 

प्रहरीका अनुसार सञ्जु र निश्चल संगै इलामका धन बहादुर विक पनि यस कार्यमा सलग्न भएको आरोपमा पक्राउ परेका छन्। एकजना व्यक्तिलाई ठगिसकेपछि उनको समुहले त्यो सिमबाट चलाएको ह्वाट्सएप बन्द गर्ने गर्थे। अर्को व्यक्तिसँग अर्को नम्बरबाट कुरा गर्थे। विगत २ वर्षदेखि यस कार्यमा संलग्न रहेकी सञ्जुले बैंक अकाउन्ट खोल्न अन्य व्यक्तिको नामको नागरिकता समेत दुरुपयोग गरेकी थिइन्। सञ्जुका श्रीमान निश्चलले निशान्त शर्माको नाममा भारतीय आधार कार्डसमेत लिएका छन्। 

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार रस्मी बिकको नामले ठगी गर्दे आएकी सञ्जु पौडेलीलाई खोज्न प्रहरीले ठगी कार्यमा प्रयोग भएको बैंक अकाउन्ट प्रयोग गरेको थियो। उक्त अकाउन्टबाट निश्चल पोर्तेलको नाममा रहेको बैंकको अन्य खातामा समेत शंकास्पद रकम ट्रान्सफर भएको तथ्य फेला पारेको थियो। यसरी प्रहरी सञ्जुका श्रीमान निश्चलसम्म पुगेको थियो। उनलाई काठमाडौं कागेश्वरीबाट पक्राउ गरिएको थियो। पोर्तेललाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको अपराध धन्दा पत्ता लगाएका थिए। 

ठगी धन्दाका मुख्य नाइके सन्जु भएको प्रहरीको निर्क्यौल छ। सन्जुको समुहले विभिन्न व्यक्तिहरूमा पार्सलका नाममा ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेका छन्। उनीहरूको समूहले अन्य धेरैलाई ठगी गरेको हुनसक्ने प्रहरीको आंशका छ। प्रहरीले उनीहरुको साथबाट विभिन्न व्यक्तिको नाममा रहेको ६ वटा नागरिकता, प्रयोग भएका १४ वटा एनसेलका सिम र प्रयोग नभएका १२ वटा एनसेलका सिम, १८ वटा पैसा जम्मा गरेको स्लिप, ८ वटा एटिएम, ११ वटा चेकबुक, सुनका गहना  बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.