‘लिभिङ टुगेदर’ मा समस्यै समस्या, कानुन भने मौन

‘लिभिङ टुगेदर’ मा समस्यै समस्या, कानुन भने मौन

काठमाडौं : युवती— सर, उसलाई पक्राउ गरेर थुनिदिनु पर्‍यो। प्रहरी अधिकृत— उजुरी दिनुस् न, पक्राउ पुर्जी जारी गर्नुपर्छ। 

युवती— उजुरी लेख्दा सबैलाई थाहा हुन्छ, बेकारमा बदनामी मात्रै हुन्छ। उसलाई सधैं थुन्ने भनेको हैन नि ...यहाँ ल्याएर तपाईंहरूले थर्काइदिनुस् न। बाटोमा हिँड्नसमेत डरमर्दो भइसक्यो। 

प्रहरी अधिकृत— तपाईंलाई शारीरिक, मानसिक हिंसा गरिरहेको छ भने उजुरी दिनुस् र कानुनी उपचारमा जानुस्।

यो संवाद हो प्रहरी वृत्त नयाँ बानेश्वरका प्रमुख र एक सरकारी कर्मचारीबीचको। 

सरकारी पोसाकमै प्रहरी वृत्त पुगेकी ती युवती निकै भयभित देखिन्थिन्। घरीघरी मोबाइलमा हेरिरहेकी थिइन्। करिब दुई वर्षदेखि एक युवकसँग लिभिङ टुगेदरमा बसिरहेकी उनी पछिल्लो समय अत्यधिक हिंसा हुन थालेपछि प्रहरी कार्यालय पुगेकी थिइन। इन्जिनियर पढ्दै गरेका युवक र लोकसेवा तयारी गरिरहेकी ती युवती तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। आपसी समझदारीमा सँगै बस्न थालेपछि भने विवाद हुन थाल्यो। उनी भन्छिन्, ‘स–सानो विषयमा झगडा गर्ने, कुटपिट गर्ने गर्थे। यौन सम्बन्धका लागि हरेक दिन दबाब दिन्थे। नमानेमा अरूसँग लागेको भन्दै मानसिक यातना दिन्थे। बाध्य भएर हरेक दिन यौनहिंसा सहनुपथ्र्यो। दुईपटक त गर्भपतन नै गराए।’ युवकको टर्चर सहन नसकेपछि उनी छुट्टै बस्न थालिन्। युवकले उनलाई अफिसमा नै पुगेर थर्काउन थाले। पुरानो फोटो भिडियो सामाजिक सञ्जालमा अपलोड गरिदिन्छु भन्दै बाटो छेकेर धम्काउँछन्। समस्या समाधानका लागि उनी प्रहरी कार्यालय पुगेकी थिइन्। 

गत माघ ७ गते काठमाडौंको शोभा भगवतीमा रहेको एक घरमा तनहुँ भिमादकी सफिना मिया मृत भेटिइन्। कोठाभित्र खाटमुनि उनको शव सडेको अवस्थामा भेटिएको थियो। उक्त कोठा कात्तिक महिनादेखि नै बन्द थियो। बन्द रहेको कोठाबाट नमीठो गन्ध आएपछि घरधनीले प्रहरीलाई खबर गरेकी थिइन्। सफिना मियाको हत्या गरी फरार रहेका भारतको बिहार दरभंगा घर भएका इकरामुल हक अन्सारीलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार अन्सारी र मिया केही वर्षदेखि लिभिङ टुगेदरमा थिए। 

कपनस्थित राधाकृष्ण मन्दिरनजिकैको घरमा संखुवासभाका अनिश जिमी र खोटाङकी युसुना राई मृत भेटिएका थिए। लिभिङ टुगेदरमा सँगै बस्ने उनीहरूबीच विवाद हुँदा अनिशले युसुनाको हत्या गरी आफूले पनि आत्महत्या गरेका हुन्। 
पछिल्लो समय सहर बजारमा फस्टाउँदै गएको प्रचलन हो, लिभिङ टुगेदर। प्रेम सम्बन्धमा रहेका व्यक्तिहरू विवाह नगरिकन एकैठाँउमा बस्ने, श्रीमान् श्रीमतीकै भूमिकामा रहने प्रचलन बढ्दो छ। एक अर्काबीच माया, प्रेम र सहयोग रहेसम्म उनीहरूको जीवनयापन सहज नै हुन्छ। सहर बसाइँका क्रममा हुने आर्थिक व्यवस्थापन पनि केही सजिलो हुन्छ। तर घरपरिवार तथा आफन्तलाई थाहा नदिइकन गोप्य रूपमा सम्बन्धमा रहँदा पछि भने विभिन्न समस्या देखा पर्छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार सहरी क्षेत्रमा लिभिङ टुगेदर प्रचलन बढिरहेको छ। प्रेमका नाममा सँगै बस्ने, सहमति हुदाँसम्म ठीकठाक छ, विवाद हुन थालेपछि प्रहरीकहाँ उजुरी गर्ने प्रचलन छ। 
विदेशी संस्कारमा चलिरहेको यो चलन नजानिँदो तरिकाले नेपालमा सबै सहरमा पुगिसकेको छ। कानुनले सम्बोधन नगर्ने यस्तो सम्बन्धमा सहजताभन्दा समस्या धेरै आउने एसएसपी खत्री बताउँछन्। उनी भन्छन्, नेपाल प्रहरीले महिला तथा घरेलु समस्या सम्बोधन गर्न भन्दै महिला सेल नै छुट्ट्याएको छ। यो सेलमा दिनहुँ अत्यधिक भिडभाड हुने गर्छ। हरेक दिन आउने उजुरीमा लिभिङ टुगेदर, प्रेमसम्बन्ध र विवाहेत्तर सम्बन्धभित्रका समस्या बढी हुने गर्छन्।’ पछिल्लो समय सम्बन्धका बहानामा हुने आर्थिक अपराधका घटना पनि बढेका छन्। लिभिङ टुगेदरमा बसेका एकाध जोडीबाहेक धेरैजसो जोडीको सम्बन्ध टुट्ने खालका समस्या देखिएका छन्। 

कानुनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्छ

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार यस्ता उजुरीहरू प्रहरीले विवाहेत्तर सम्बन्धको रूपमा दर्ता गर्ने गरेको छ। विवाहित जोडी आए पनि अविवाहित आए पनि सम्बन्धभन्दा पनि सम्बन्धभित्र के कसुर भयो भन्ने छुट्ट्याएर कानुनी उपचार खोज्ने गरिन्छ। अविवाहित जोडीभित्रको समस्यालाई सम्बोधन गर्ने कानुन नै छैन। खास कानुन नभएका कारण व्यावहारिक रूपमा यस्ता समस्याहरूलाई विवाहेत्तर सम्बन्धभित्र राखेर समाधान खोज्ने उनले बताए। लिभिङ टुगेदरलाई मुलुकको कानुनले औपचारिक रूपमा मान्यता दिएको छैन। सँगै बस्न हँुदैन भनेर अवैध पनि मानेको छैन। तर, लिभिङ टुगेदरमा बसेका जोडीहरू घरेलु हिंसा, जबर्जस्ती करणी उद्योग, जबर्जस्ती करणी, ज्यानमार्ने उद्योग, अंगभंग, आर्थिक अपराधलगायतका उजुरी लिएर प्रहरी कार्यालय आउने गर्छन्। 

काठमाडौं परिसरका प्रवक्ता अधिकारी भन्छन्, ‘यस्तो घटनामा महिलामात्रै हैन, पुरुषहरू पनि समस्यामा परेको भन्दै उजुरी लिएर आउने गरेका छन्’। उनका अनुसार महिलाहरू शारीरिक र मानसिक समस्या लिएर बढी आउने तथा पुरुषहरू आर्थिक नोक्सानी, सम्पत्तिका समस्यालगायतमा अल्झने गरेका छन्। जुनसुकै समस्या लिएर आए पनि समस्याअनुसारको अपराधमा अनुसन्धान गरिन्छ। घटनाको व्यावहारिक रूपमा अनुसन्धान गर्दै प्रहरीले पीडित पक्ष जो हो उसलाई न्याय हुने गरी कारबाही गरिने अधिकारीले बताए। 

प्रहरीका अनुसार लिभिङ टुगेदरमा बसेकै कारण आएका समस्या समाधानका लागि प्रहरीले अहिले मुलुकी अपराध संहिताको अनुसूची १ अनुसार अनुसन्धान अगाडि बढाउँछ। यस्तो सम्बन्धबाट बच्चाको जन्म भएमा मुलुकी देवानी संहिताको दफा ७४ अनुसार स्वतः विवाह भएको मानिने कानुनी व्यवस्था छ। कानुनी दफाले सम्बोधन गर्ने मुद्दामात्रै प्रहरीले जाहेरी लिने गर्छ। यस्ता घटनामा धेरैजसो महिला नै पीडित हुने भएकाले संवेदनशील भएर हेर्ने गरेको र महिलाको पक्षमा शून्य सहनशीलता नारा नै बनाएको छ। काठमाडौं परिसरका अनुसार आव २०८०÷८१ मा चार सयभन्दा बढी यस्ता खालका उजुरी दर्ता भएका थिए। ५० प्रतिशत उजुरीमा प्रहरीले मिलापत्र गराएर समस्या समाधान गरेको थियो। गम्भीर प्रकृतिका घटनामा लिखित उजुरी नै लिएर कानुनी कारबाहीको लागि मुद्दा दर्ता गरिन्छ। 

विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्या पनि प्रहरीमा अत्यधिक रूपमा आउने गर्छ। सामाजिक रूपमा जातीय अवस्था नमिलेको तर लामो समयदेखि सहरमा लिभिङ टुगेदरमा बसेको घटनामा धेरै समस्या उजुरी आउने गर्छ। यस्तो समस्यालाई कानुनले स्पष्ट रूपमा सम्बोधन गर्नुपर्ने तत्कालै जरुरी छ। 

अधिवक्ता प्रियहरि भण्डारीले लिभिङ टुगेदरमा बस्ने जोडी अनेक समस्या लिएर आउने गरेको बताए। उनी भन्छन्, ‘कसैलाई नसोधी एकल निर्णय गरेर सँगै बस्दा नैतिक तथा कानुनी बन्धन नहुने हुँदा सम्बन्धमा जिम्मेवारी नभएको देखिन्छ। सहरी क्षेत्रमा यस्तो सम्बन्धमा बस्ने प्रचलन धेरै देखिएको हुँदा कानुन बनाएर सम्बोधन गर्नुपर्छ।’ यसरी बस्ने युवायुवती श्रीमान्, श्रीमतीकै भूमिकामा हुने हुँदा उनीहरूबीच आउने समस्या पनि कानुनतः सम्बोधन हुन जरुरी छ। बिहे नगरी गर्भवती भएकी युवतीको कानुनी दायित्व के हुने ? यसरी जन्मिएका बच्चाहरूको अधिकार के कसो हुने ? भन्ने स्पष्ट व्यवस्था हुन जरुरी रहेको भण्डारी बताउँछन्। 

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनाली आधुनिक हुने बहानामा मौलाउँदै गएको लिभिङ टुगेदर प्रचलन नेपाली समाजले स्वीकार नगर्ने बताए। घरपरिवार, आफन्त र कानुनले समेत स्वीकार नगरेको सम्बन्धमा सहजताभन्दा समस्या धेरै देखिन्छ। क्षणभरको आत्मीयता र प्रेमको बहानामा असुरक्षित सम्बन्धमा बस्दा युवायुवती नै समस्यामा पर्ने गरेका छन्। उनी भन्छन्, ‘सम्बन्धमा नै बस्ने भए घर परिवारमा लुकाउनु हुन्न। यसले गर्दा युवायुवती दुवैमा नैतिक जिम्मेवारीसमेत पर्ने गर्छ।’ समस्या परेको अवस्थामा एक अर्कालाई बदनाम गर्ने, गराउने र सामाजिक बदनामी गर्ने प्रचलन बढ्दै गएको एसएसपी मैनालीले बताए। 

कानुनी मान्यता माग गर्दे सर्वोच्चमा रिट

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ। अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरमा बस्नेहरूको संख्या बढ्दै जाँदा, समस्या पनि बढेको तर्कसहित यसलाई व्यवस्थित बनाउन कानुन बनाउनुपर्ने माग गरेकी हुन्। रिट निवेदनमा कानुनबमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउनुपर्ने गरी तत्कालै कानुनी व्यवस्था गर्न परमादेश माग गरिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.