नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’सँग खेल्दै
काठमाडौं : नेपाल ‘ए’ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ। बिहीबार दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा खेल सुरु हुनेछ।
आइतबार नेपाल क्रिकेट संघले विनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। यस अगाडि सिरिजका लागि क्यानले प्रारम्भिक टिममा बोलाएका खेलाडीबाट नै टी-२० र एकदिवसीय सिरिज खेल्ने नेपाल ‘ए’टिमको घोषणा गरेको हो। नेपालको कप्तानी भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन्।
टी-२० खेल्ने टिम नेपाल‘ए’मा कप्तान भण्डारीसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बशिर अहमद, रसिद खान, सागर ढकाल, बिपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन्। आज वर्षाले खेल प्रभावित हुने सम्भावना पनि रहेको छ।
नेपालको राष्ट्रिय टोलीले सोमबार र मंगलबार दुवैदिन आयरल्यान्ड ‘ए’सँगको खेलमा जित निकालेको थियो। राष्ट्रिय टोली फ्रेन्डसिप कप खेल्न आज भारततर्फ जाँदैछ।