कञ्चनपुर खेलकुद समितिद्वारा ८४ लाख अपचलन

कञ्चनपुर खेलकुद समितिद्वारा ८४ लाख अपचलन
क्रिकेट एकेडेमी निर्माण हुने जग्गामा बनेको माछापोखरी (बायाँ) र जिल्ला खेलकुद विकास समितिको निर्णय र रकम बुझाएको रसिद।
सुन्नुहोस्

महेन्द्रनगर : २०७४ चैत १६ गते जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले भीमदत्त नगरपालिका–४ को कर्भडहल परिसरको जग्गामा व्यावसायिक सटर निर्माणका लागि टेन्डर आह्वान गरेको थियो। समितिले ९४ सटर निर्माणका लागि टेन्डर आह्वान गरेपछि यहाँका स्थानीय व्यवसायी टेन्डर प्रक्रियामा सहभागी भएका थिए। टेन्डरमा सफल भएकाले समितिसँग सम्झौता गरेर सटर निर्माण सुरु गरेका थिए। 

तर, भीमदत्त नगरपालिकाले मापदण्ड विपरित सटर निर्माण गरेको भन्दै रोक लगायो। २०७४ मा सटर निर्माणका लागि जिल्ला खेलकुद विकास समितिलाई धरौटी रकम बुझाएका व्यवसायीले पाँच वर्ष बितिसक्दा पनि धरौटी रकम फिर्ता पाउन सकेका छैनन्। समितिले व्यवसायीबाट लिएको रकम चार वर्षदेखि अपचलन गर्दै आएको छ। खेलकुदको जग्गामा ९४ वटा सटर निमाण गर्न व्यवसायीले प्रति सटर ९० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी रकम बुझाएका थिए। ९४ सटरको धरौटी वाफत व्यवसायीको ८४ लाख रकम समितिको खातामा छ। 

‘समितिले टेन्डर आह्वान गरेपछि मेरो नाममा पनि एउटा सटर परेको थियो। उक्त सटर निर्माण गर्न एक लाख रुपैयाँ धरौटी बुझाएको थिए’, भीमदत्त नगरपालिका–६ का टेकेन्द्र राववले भने, ‘जगन्नाथ स्वामी महिला सहकारीबाट १२ प्रतिशत ब्याजमा ऋण निकालेर धरौटी बुझाएको हुँ।’ उनले अहिले पनि सहकारीको ब्याज तिरिरहेको बताए। व्यवसायीहरूले सटर निर्माण गर्न पाउनुपर्ने नभए धरौटी रकम फिर्ता पाउनुपर्ने माग गरे पनि समितिले वास्तै नगरेको गुनासो व्यवसायीको छ। 

‘कि हाम्रो पैसा फिर्ता दिनुस् कि सटर निर्माण गर्न दिनुस् भनेर पटक पटक समितिलाई आग्रह गर्दा पनि कुरै सुनेन’, रावलले भने, ‘खेलकुद विकास समितिले विभिन्न बाहना देखाएर हामीलाई टार्ने काम गरिरहेको छ।’

एकातर्फ समितिले गुरुयोजना विपरित खेलकुदको जग्गा अन्य प्रयोजनका लागि प्रयोग गरेको छ भने अर्कोतर्फ व्यवसायीहरूको लाखौं रकम अपचलन गरेको छ। अर्की व्यवसायी रचना विष्टको एक लाख ८० हजार रुपैयाँ समितिको खातामा छ। ‘सम्झौता गर्ने बेला दुई वटा सटरको एक लाख ८० हजार रुपैयाँ धरौटी बुझाएको थिएँ। ६ महिलापछि निमार्ण सुरु हुन्छ भनेका थिए’, विष्टले भनिन्, ‘पाँच वर्ष बितिसक्दा पनि अहिलेसम्म न सटर निर्माण गर्न पाएका छौं न पैसा फिर्ता पाएका छौं।’ उनले पाँच वर्षदेखि समितिले विभिन्न बाहना बनाएर टार्दै आएको बताइन्। 

खेलकुद विकास समितिको लापरवाहीका कारण यहाँका व्यवसायी समस्यामा परेको भीमदत्त नगरपालिका–४ का व्यवसायी मीनराज भट्टले जिकिर गरे। ‘पाँच वर्षसम्म हामीहरू बैंकको ब्याज तिरेर बसेका छौैं’, भट्टले भने, ‘समितिले हाम्रो पैसा अपचलन गरेको छ। समिति र नगरपालिकाको विवादले हामीहरू समस्यामा परेका छौं।’ उनले समितिको लापरवाहीका कारण नै आफूहरूको लाखौं रकम पाँच वर्षदेखि फसेको भएको बताए। 

१५ बिघा एक कठ्ठा ६ धुर जग्गा रहेको खेलकुद विकास समितिको पुर्जामा हाल साविक भिडाउँदा चार कठ्ठा जग्गा बढी देखिएपछि सो जग्गा भीमदत्त नगरपालिकाले उपयोग गर्न खोजेको थियो। सो जग्गा नदिएपछि समितिले टेन्डर आह्वान गरेर सुरु भएका सटर निर्माणको काम रोकिएको समितिले जनाएको छ।

समितिले व्यवसायीका कारण सटर निर्माणमा गर्न ढिलाइ भएको बताएको छ। खेलकुद विकास समिति महेन्द्रनगरका कार्यालय प्रमुख गोपालदत्त भट्टले व्यवसायीको लापरवाहीका कारण सटर निर्माणमा ढिलाइ भएको बताए। ‘व्यवसायीहरूका कारण पनि ढिलाइ भएको हो। कोभिडका कारण पनि काम गर्न सकिएन’, कार्यालय प्रमुख भट्टले भने, ‘अहिले बनाउने कुरा भएको छ। व्यवसायीले सटर बनाउँदा कुनै आपत्ति छैन।’

खेलकुद विकास समितिले गुरुयोजना लत्याउँदै २०७२ सालमा पनि प्रक्रियै नपु¥याइ क्रिकेट मैदानको सात बिघा जग्गा माछापोखरी बनाउन लिजमा दिएको थियो। क्रिकेट एकेडेमी निर्माणका लागि अहिलेसम्म करोडौं रकम माछापोखरीको खाडल पुर्नुमै सकिएको छ। १५ बिघा जमिनमध्ये करिब ७ बिघा क्रिकेटका लागि छुट्याइको थियो। तर, खेलकुद विकास समितिले २०७२ सालमा सो जमिन माछापालनका लागि लिजमा दिएको थियो। माछा पोखरी निर्माणका लागि जमिनमा खाल्डो पारिए। लिजमा लिएको सात वर्षपछि माछा पोखरी हटाइएको छ। 

मैदान निर्माणका लागि आएको करोड बढी बजेट अहिले तिनै पोखरी पुर्नमा खर्च भइरहेको छ। डेढ करोड खर्च भइसक्दा पनि अझै पोखरीमा माटो भरानको काम नसकिएको जिल्ला क्रिकेट संघ कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए। ‘एक पटक ५० लाख र अर्को पटक  एक करोड बजेट आएको थियो। उक्त रकम पोखरीमा माटो भरानमै सकियो’, उनले भने, ‘अझै पनि माटो भरानमै करोड खर्च हुने अवस्था छ। क्रिकेट एकेडेमी बनाउन आएको बजेट माटो भरानमै सकिएको छ।’ उनले खेलकुद विकास समितिले खेलकुदको गुरुयोजना विपरितका कार्य गर्दै आएकाले कञ्चनपुरमा खेलकुदका पूर्वाधार निर्माण हुन नसकेको बताए। 

सम्झौतामा माछा व्यवसायीले पोखरी पुरेर जग्गा पुरानै अवस्थामा समितिलाई दिने भनिए पनि समिति र व्यवसायीको मिलोमतोमा पोखरी नपुरेको आरोप स्थानीयको छ। जिल्ला खेलकुद विकास समितिले १० वर्षका लागि प्रति बिघा २५ हजार पाँच सयका दरले सात विघा जग्गा कृषि प्रयोजनका लागि लिजमा दिएको थियो।

 नेपाली राष्ट्रिय क्रिकेट टोलीमा तुलनात्मक रुपमा कञ्चनपुरका खेलाडी धेरै समेटिन्छन्।  विश्व कीर्तिमान बनाएका दीपेन्द्रसिंह ऐरी, भीम सार्की, सन्दीप जोरा र विनोद भण्डारी सिनियर राष्ट्रिय टोलीका मुख्य खेलाडी हुन्। कुनै समय चन्द्र साउद, सुरेन्द्र चन्द, प्रदीप ऐरी, प्रेम तामाङ, सन्तोष भट्ट, नरेश बुढा ऐरलगायत दर्जनौं खेलाडीले राष्ट्रिय टोलीबाट क्रिकेट खेलिसकेका छन। तर क्रिकेट खेलाडी उत्पादनको उर्वरभूमी कञ्चनपुरमा खेल पूर्वाधारको अवस्था भने दयनीय छ। गतिलो मैदान नहुँदा खेलाडीहरू खुला चौर, खोला किनारमा क्रिकेट अभ्यास गर्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.