जलजलामा वार्षिक परीक्षा सञ्चालन विधि परिवर्तन
बेनी : जलजला गाउँपालिकाले कक्षा १ देखि ९ को वार्षिक परीक्षा सञ्चालन शैली परिवर्तन गरेको छ। जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो।
सामुदायिक विद्यालयका विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि र सिकाइमा देखिएका समस्या पहिचान गरि सुधार गर्न नयाँ परीक्षा सञ्चालन शैली अपनाएको हो।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले सबै विद्यालयका लागि एउटै प्रश्नपत्र तयार पारि फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष खटाउनुका साथै उत्तर पुस्तिकालाई गाउँपालिकामा संकलन गरेर जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
‘यसअघि कक्षा ८ को वार्षिक परीक्षा मात्र पालिका स्तरमा सञ्चालन हुने गरेकोमा यसपाली देखि १ देखि ९ सम्मकै परीक्षा गाउँपालिकाले सञ्चालन गर्न थालेका छौ,’ उनले भने, ‘कुन विद्यालयका कुन विद्यार्थीको कुन विषयको सिकाइ उपलब्धि कस्तो छ ? भन्ने तथ्य पहिचान गर्नका लागि परीक्षा सञ्चालन गर्ने विधि परिवर्तन गरिएको हो।’
चैत ४ गतेदेखि सञ्चालन भएको परीक्षाका लागि मावि तहको १५ र १–३ तहका लागि ५ वटा केन्द्र बनाइएको छ। माध्यमिक विद्यालय वरपरका अन्य आधारभूत विद्यालयका विद्यार्थीलाई पनि केन्द्रमै परीक्षा दिने व्यवस्था मिलाइएको छ।
भौगोलिक रूपमा विकट र माध्यमिक विद्यालय पुग्न अपायक पर्ने विद्यालयका १–३ तहका विद्यार्थीका लागि थप ५ वटा केन्द्र तोकिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए। जलजलाको ४४ वटा सामुदायिक विद्यालयमा २ हजार जना भन्दा बढी विद्यार्थी छन्।
जसले पढाएको हो उसैले प्रश्न बनाउने र उत्तरपुस्तिका जाँच्ने गर्दा विद्यार्थीको वास्तविक सिकाइ अवस्था र क्षमता पहिचान हुन नसकेको निष्कर्ण निकालेको गाउँपालिकाले ६ जना विषय विज्ञलाई प्रश्नपत्र तयार पार्न लगाएको थियो।
शिव मावि फर्सेमा केन्द्राध्यक्ष रहेका विद्याज्याति मावि मल्लाजका अंग्रेजी शिक्षक हिराबहादुर बरुवालले विद्यार्थीको वास्तविक सिकाइ उपलब्धि पहिचान गर्न नयाँ शैलीको अभ्यास गरिएको बताए।
प्रति ३० जना विद्यार्थी बराबर एक जना निरीक्षक परिचालन गरिएको छ। शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले त्रैमासिक परीक्षा पनि पालिका स्तरमा सञ्चालन गरिएको शिक्षा अधिकृत त्रिविक्रम आचार्यले बताए।
विद्यार्थीको परीक्षा नतिजा सफ्टवयरमा राख्ने, विद्यालय तथा विषयगत रूपमा विष्लेषण गरेर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरि सुधारको कार्ययोजना
बनाउने गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।
गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी परीक्षा केन्द्रको अनुगमनमा पुगेका छन्। अनुगमनमा गएका जनप्रतिनिधिहरूले परीक्षा केन्द्र रहेको माविका प्रअहरू बिदा बसेकामा असन्तुष्टि जनाएका छन्। केही विद्यालयका शिक्षकले केन्द्राध्यक्षले गरेको विद्यार्थीको बसाइ व्यवस्थापन परिवर्तन गरेको र माविका प्रअहरूले असहयोग गरेको गुनासो गरेका छन्।
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले गत भदौमा सबै विद्यालयमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो। गत वर्ष पालिकाका सबै विद्यालयहरूको एकै दिन र समयमा उपलब्धि मापन परीक्षा सञ्चालन गरेको थियो। शिक्षकहरूलाई सूचना प्रविधि सम्बन्धी तालिम दिएको थियो।
परीक्षाको नतिजाको आधारमा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीलाई केन्द्रित गरेर अतिरिक्त कक्षा सञ्चालन गर्ने योजना रहेको छ। कमजोर नतिजा भएका विषयगत शिक्षकलाई सुधारका लागि नैतिक दबाब सिर्जना र राम्रो नतिजा भएका विषयका शिक्षकलाई प्रोत्साहन गर्ने नीति लिइने गाउँपालिकाका अध्यक्ष आचार्यले बताए।