सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा
बेनी : म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८१ का लागि प्रवेश परीक्षा मार्फत नयाँ विद्यार्थी भर्ना गरेको छ। विद्यालयको क्षमताभन्दा बढी संख्यामा विद्यार्थीहरू भर्ना हुन आएपछि प्रवेश परीक्षा लिएर छनौट गरिएको हो। कक्षा २ देखि ९ सम्म विद्यार्थी भर्नाका लागि विद्यालयले वैशाख २ गतेदेखि आवेदन संकलन गरेको थियो।
१२० जना विद्यार्थी भर्ना गर्ने क्षमता भएपनि २४० जनाको आवेदन परेकाले परीक्षा सञ्चालन गरेर विद्यार्थी छनौट गर्नुपर्ने अवस्था आएको बेनी सामुदायिक माविका सहायक प्रअ भीम घर्तिले बताए। ‘कक्षा कोठा भवन र शिक्षक जनशक्ति कम भएकाले इच्छुक सबै विद्यार्थीलाई भर्ना गर्न नसकिएको हो,’ उनले भने ‘प्रवेश परीक्षा लिएर विद्यार्थी गर्नुपर्ने हाम्रो रहर नभएर बाध्यता हो।’
भर्ना हुनका लागि म्याग्दी र छिमेकी जिल्ला पर्वतका विभिन्न निजी विद्यालयका विद्यार्थीहरू बेनी सामुदायिकमा आएका छन्। सामुदायिकका भन्दा निजी विद्यालय छाडेर आउने विद्यार्थीको संख्या धेरै रहेको प्रअ दीपक श्रेष्ठले बताए।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले छोरी प्रशन्नालाई कक्षा २ मा भर्ना गर्नका लागि बेनी सामुदायिकको प्रवेश परीक्षामा सहभागी गराएकी थिइन्। न्यु वेष्ट पोइन्ट आवासीय माविबाट सामुदायिकमा भर्ना गर्न लामिछाने र उनका श्रीमान माओवादी केन्द्र म्याग्दीका सचिव कुशल पौडेल विद्यालयमा पुगेका थिए।
सामुदायिक विद्यालय सुधारका लागि आफैंबाट सुरुवात गर्ने प्रयास गरेको नगर उपप्रमुख लामिछानेले बताइन्। एसईई र कक्षा ८ को नतिजाको उत्तीर्ण दरका साथै सिकाई उपलब्धिमा सुधार हुन थालेपछि बेनी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो।
कक्षा नर्सरी देखि ७ कक्षासम्म सबै अंग्रेजी र ८ देखि १० सम्म अंग्रेजी नेपाली माध्यमका साथै कम्प्युटर प्रयोगशाला लगायतको व्यवस्था गरिएको छ। शिक्षकहरूले विद्यार्थीको पढाइप्रति रुचि बढाउन प्रविधिको पनि प्रयोग गरेका छन्। एसईई नतिजाका आधारमा बेनी सामुदायिकले नेपालमै उत्कृष्ट भएर पुरस्कार समेत प्राप्त गरिसकेको छ।