ऋणमा फस्यो परिवार, उपचारमा सकस

ऋणमा फस्यो परिवार, उपचारमा सकस
प्यारालाइसिस भएर थला परेका दीपक राना मगर परिवारको साथमा। तस्बिर सौजन्य : रोशन कुमार महतो।

बिजलपुरा : दीपक राना मगर गाउँ-गाउँ पुगेर बसिला, रुखान र रन्दा चलाउँथे, महल ठड्याउँथे। काठमा सीप खोपेर आकार दिन्थे। घर बनाउनेहरुको सपनालाई सकारा बनाउथे। तर अहिले उनी वर्षदिनदेखि थला परेका छन्। 

आर्थिक अभावमा उनको उपचार हुन सकेको छैन। उनी जीवन मरनको दोसाँधमा छन्। महोत्तरीको बर्दिबास नगरपालिका-१२ बिजलपुराको अकुवान टोलाका ३७ वर्षीय दीपक जीवन बाँच्ने सहारा खोजिरहेका छन्। उनी प्यारालाइसिस भएर थला परेका हुन्। राना परिवारको जेठो छोरो दीपक बिरामी परेकै बेला उनका बुवा दुर्गाबहादुर राना पनि सवारी दुर्घाटनामा परेर घाइते भएका छन्। यो परिवारको कमाउने दुबै जना थला परेपछि परिवारमा दुःखको दिन चलिरहेको छ। 

छोरोको उपचारका लागि सहयोगी हात खोजिरहेका दुर्गा आफैं घाइते भएर घरमा आराम गरिरहेका छन्। 'जिन्दगी  चल्न त चल्या छ पिरै पिरमा छ' भन्ने  गीत अहिले दीपककै परिवारसँग मेल खाएको छ।

दीपकको उपचारको लागि थोर बहुत चन्दा संकलन गरेर गाउँलेले सहयोग गरे। परिवारले ३ लाख ऋण पनि गरेर उपचारमा खर्चियो। जनकपुर र काठमाडौंका हस्पिटलको अइस्युमा भर्ना गराए। पैसा सकियो तर, उनको उपचार पूरा भएन। आर्थिक अभावले अस्पलातको बिल तिर्न नसक्दा परिवारजनले उनलाई घरमा लगेर राखेको स्थानीय रोशन महतोले जनाए। उनी भन्छन्, ‘ दीपकले थप उपचार पाउनु त परैको कुरा डाक्टरले लेखिदिएको औषधीसमेत किनेर खाने पैसा साथमा छैन।’

null

श्रीमान् र छोरो बिरामी परेपछि भक्कानिएकी नन्दमाया राना मगर।

दीपक ३७ वर्षकै उमेरमै थला परेपछि परिवारमा चिन्तै चिन्ता छ। उनी लठ्ठीको साहारामा उठ्न खोज्छन् तर सक्दैनन्। उनको घरमा जानेहरुलाई दिपक भन्छन्, ‘मलाई आफ्नै खुट्टामा हिंड्न मन छ, पाखुरा चलाएर बाँच्ने इच्छा छ। मलाई राम्रो हस्पिटलमा कसैले लगेर उपचार गराइदिए हुन्थ्यो।’ 

दिपककी आमा नन्दमाया राना मगर छोरोको अवस्था देखेर दिनहुँ भक्कानिन्छिन्। घर पुग्नेहरुसँग एउटै बिलोना गर्छिन्, 'मेरो छोरोको उपचार गराइदिनुहोस्। चन्दा उठाएँ, ऋण गरें, मैले छोरालाई निको पार्न सकेको दबाइ गरें। त्यसले पुगेन। अब थप कसैले छोरोको उपचार गराइदिन्छ कि भनेर बाटो कुर्दैछु। घरको आर्थिक कमजोर छ। बाबुले मिस्त्रीको काम गर्थे अनि परिवार चल्थ्यो। छोरो पनि बिरामी भयो। अहिले श्रीमान् पनि दुर्घटनामा घाइते भए। के गर्ने, कहाँ जाने, अब त हाम्रो समाउने र टेक्ने लठ्ठी नै गुमेको छ। लक्का जवान छोरो थला बस्यो। ’ 

nullदुर्घटनामा परेर घाइते भएका दुर्गाबहादुर राना मगर।
 

रानाको परिवारमा १३ जना छन्। दुर्गा र दीपकले काम गरेर ल्याएको ज्यालाले परिवारको मुखमा माड लाग्थ्यो। तर, दिपक उठ्नै नसक्ने गरी थाला परेपछि परिवार उपचार गर्नका लागि लिएको ऋणको भेलमा डुबेकै थियो। लगतै दीपकको बुवा पनि दोस्रो पटक सडक दुर्घटनामा परेपछि राना परिवारको बिच्चली भएको छ।  काम गरेर घर फर्किंदै गर्दा दीपकका बुवा सवार साइकललाई मोटरसाइकलले ठक्कर दियो। उनी घाइते भए। टाउकोमा घाउ लागेको छ। घाटीमा गहिरो चोट लागेको छ। 

श्रीमान् फेरि निको भएर कहिले काममा जालान् र  छोरो कहिले उठेर हिँड्ला ? भन्ने प्रश्नले उनलाई चिथोर्छ। उनी मध्यरातमा पनि त्यही सम्झेर रुने चिच्याउने गर्छिन्। उनले छोरालाई आर्थिक अभावले उपचार गराउन नपाएको र  अलि राम्रो अस्पातलमा पुर्‍याउन सके छोरोको रोग निको हुन्छ भन्ने आशा र विश्वास भएको बताइन्। राम्रो डाक्टर र हस्पिटल पायो भने छोरो फेरि निको हुन्थ्यो।

null दीपकले १२ वर्षको उमेरमा घर बनाउने काम सिके। छिमेकी भेषबहादुर मगर दिपकको परिवारै समस्यामा परहेको बताउँछन्। ‘बुवा छोरो दुबै बिरामी भए। उपचार गराउने पैसा छैन ’, उनी भन्छन्, ‘केही हामीले चन्दा उठाएर सहयोग गर्यौं तर त्यसले दीपकको उपचार भएको छैन। हामी सबैले सकेको सहयोग गर्नु पर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.