जीवनभरको कमाइले विद्यालय

जीवनभरको कमाइले विद्यालय
कृष्णबहादुर राई र विद्यालय भवन
सुन्नुहोस्

भोजपुर : आफूले जीवनभरको दुःख, पसिना, मेहनतले आर्जेको श्रीसम्पत्ति सामाजिक कल्याणमा लगाउने उदाहरणीय समाजसेवीमा पर्छन्, भूपू ब्रिटिस आर्मी कृष्णबहादुर राई। हाल धरान बस्दै आएका ७१ वर्षीय राईले आफू जन्मिएको गाउँको एक विद्यालयलाई १ करोड ३९ लाख रुपैयाँको भवन बनाइदिएका छन्।

जन्मथलोमा केही गरौं भन्ने मनोभावनाका साथ राईले पौवादुङमा गाउँपालिका—२, तिवारीभन्ज्याङको हाँबु थर्पुस्थित एक विद्यालयलाई व्यक्तिगत खर्चमा विद्यालय भवन तथा भौतिक पूर्वाधार निर्माण गरिदिएका हुन्।

स्थानीय शीतलादेवी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर र गाउँको हितका लागि राईले अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको सुविधासम्पन्न भवन निर्माण गरिदिएका हुन्। एउटा व्यक्तिले विद्यालयलाई व्यक्तिगत लगानीमा गरेको यो सहयोग जिल्लाकै एकमात्र उदाहरण हो। 

‘शिक्षा मानवीय जीवनको पहिलो आधार हो। शिक्षाबिना जीवन अँध्यारो छ। आफ्नै जन्मोथलोमा केही गर्छु भन्ने हेतुले सके जति सहयोगले गाउँका साना नानीहरूको पढ्ने विद्यालय भवन बनाइदिएको हुँ’, राई भन्छन्, ‘जिन्दगीमा कति कमाएँ कति, खर्चको पनि लेखाजोखा छैन। आफूले जोहो गरेको सम्पत्तिलाई गाउँकै कल्याणमा लगाउने सोच गरेँ। गाउँ आएँ र विद्यालय भवन बनाएँ। योभन्दा खुसीको क्षण अरू के हुन्छ र ?’

शिक्षाबाट वञ्चित गाउँका बालबालिकालाई निजी विद्यालय जस्तै गाउँकै सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा मिलोस् भन्ने मनोकांक्षा र उद्देश्यले भवन निर्माण गरिदिएको राई सुनाउँछन्। उनी भन्छन्, ‘आफ्ना नानीहरूलाई सहरबजारमा बोर्डिङ स्कुल लगाउन नपरोस्, गाउँमै बोर्डिङ सरह भौतिक सुविधायुक्त शिक्षा मिलोस्, भविष्यमा गाउँकै लागि केही गर्ने जनशक्ति बनोस् भन्ने मेरो इच्छा हो।’

राईको अतुलनीय योगदानले विद्यालयको भौतिक संरचना मात्रै नभई शैक्षिक गुणस्तरमा पनि सहयोग पुग्ने प्रधानाध्यापक चन्द्रबहादुर बोगटी सुनाउँछन्। शैक्षिक गुणस्तरको पहिलो आधार भौतिक पूर्वाधार भएकाले बालबालिकालाई व्यवस्थित र सुरक्षित रूपमा पठनपाठन सुरु गर्न सकिने उनले बताए।

करिब एक वर्षको समयावधिमा सम्पन्न उक्त भवन निर्माणमा राई स्वयम्ले धरान, विराटनगरबाट कच्चापदार्थ ढुवानी गर्नेदेखि भवन निर्माणका काममा समेत खटे। २०७९ मंसिर १५ गतेबाट सुरु विद्यालय भवनको काम गत मंसिर मसान्तमा सकिएको थियो। विद्यालयलाई गरेको उदाहरणीय काम प्रशंसनीय रहेको स्थानीय सरोकारवाला पदमबहादुर राईले बताए। उनले भने, ‘हाम्रो गाउँ, हाम्रो ठाउँमात्रै नभएर सिंगो जिल्लामै यस्तो सहयोग गर्ने मान्छे छैनन्, सुनेका पनि छैनौं। उहाँले गर्नुभएको यो सामाजिक कल्याणकारी भावनाको सिंगो गाउँले कदर गर्दछ। गाउँको शिक्षामा नयाँ आयाम थपिएको छ।’

मानिस सामाजिक प्राणी भएसँगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय हुनु जो कोहीको बसमा हुँदैन भन्ने ज्वलन्त उदाहरण राई बनेका छन्। उनको यो अतुलनीय सहयोगप्रति उच्च सम्मान गर्दै पौवादुङमा गाउँपालिकाका अध्यक्ष किरण राईले विद्यालयको थप व्यवस्थापनमा गाउँपालिका सहयोगी रहने समेत जिकिर गरेका छन्। अध्यक्ष राईले विद्यालयका लागि थप घेराबारा, प्रवेशद्वार र अन्य भौतिक व्यवस्थापनका लागि बजेटीकरण गर्ने प्रतिबद्धता पनि जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.